सेयर बजारमा एक अर्बमाथिको कारोबार, बीमा र लघुवित्तका सेयरमा झुम्मिए लगानीकर्ता

बिजमाण्डू
२०७७ असार २८ गते १५:२५ | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबार  सेयर बजारमा एक अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। उतारचढावमा रहेको सेयर बजार अन्त्यमा ९.०२ अंक घटेर  १३४०.२९ बिन्दुमा पुगेर बन्द भयो ।

कारोबार भएको  आधा घण्टामा निरन्तर उकालो लागेर १३५१ बिन्दुसम्म पुगेको सुचक डेढ घण्टामा नै १३३३  बिन्दुसम्म ओर्लिएको थियो ।

आइतबार १ सय ७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार भएको सवा एक घण्टामा २८ करोडको हाराहारीमा मात्र सेयर कारोबार भएको थियो भने २ बज्नुअघि ७० करोडको कारोबार भइसकेको थियो । कारोबार भएको दुई घण्टाको बीचमा कारोबार रकम एकैपटक बढ्न पुगेको थियो । सो अवधिमा नेप्से सूचक पनि तलबाट माथितिर गएको थियो ।

आइतबारको कारोबारमा बैंकको सूचक घट्दा पनि बीमा र लघुवित्तका सूचक बढेकाले लगानीकर्ता बैंक छाडेर बिमा र लघुवित्तका सेयरमा बढी आकर्षित भएको देखिन्छ । आर्थिक वर्ष  समाप्त हुन लागेको छ । बीमा र  लघुवित्तका क्षेत्रका कम्पनीहरुले  यस आवमा कमाएको नाफाबाट छिटै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता ती कम्पनीका सेयरमा आकर्षित भएको एक लगानीकर्ताले बताए ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १६ करोडको सेयर कारोबार भएको छ । सेयर मूल्य बढ्नेमा सूर्योदय लघुवित्त छ भने घट्नेमा तिनाउ मिसन डेभलपमेण्ट बैंकको सेयर छ ।