काठमाडौं। प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन सपिङ गर्ने ट्रेन्ड बढ्दै गएको छ। सामान तथा वस्तु बिक्री गर्ने नाममा खोलिएका केही अनलाइन सपिङले ठगी गर्ने समेत गरेको खुलेको छ। त्यस्तै मध्ये Sabizzcourier Service नामको अनलाइन सेवाग्राहीलाई ठगी गरेको भेटिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले ठगी गरेको अभियोगमा धनुषा सबैला गाउँपालिका-३ का २४ वर्षीय धिरज साहलाई नियन्त्रणमा लिएको छ।
उनले संचालन गरेको अनलाइन सपिङमा सेवाग्राहीले सामान किन्नको लागि रकम दिएको तर सामान डेलिभरी नगरेर ठगी गरेको उजुरीपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। अहिलेसम्म साहले २ लाख ७९ हजार रुपैयाँ ठगी गरेको उजुरी परिसकेको छ।
ठगीका उदाहरण
सेवाग्राहीले बेबी कार सिट मगाउनका लागि इ-सेवाबाट नौ हजार रुपैयाँ पठाएकोमा सामान नल्याइको र रकम माग गर्दा फिर्ता नदिएको, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलिभरी गराइदिने भनी ७७ हजार ७ सय रुपैयाँ दिएकोमा समान डेलिभरी नगरी ठगी गरेको प्रहरीले जनाएको छ।
सिको घडी मगाउनको लागि ४९ हजार ५ सय ५० रुपैयाँ दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको पाइएको छ।
जेन्स कपडा, जुत्ता होम डेलिभरीका लागि १४ हजार ८ सय ७५ रुपैयाँ दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको प्रहरीले जनाएको छ।
मोबाइल अर्डर गरी होम डेलिभरीका लागि ७३ हजार ७ सय रुपैयाँ दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको प्रहरीको भनाइ छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।