रसुवा भन्सारमा स्याउ रोकिँदा उपत्यकामा महंगियो, होलसेलमै एक किलोको ३७५ रुपैयाँ!

सरला सुवेदी/बिजमाण्डू
२०७७ साउन १३ गते ०९:२६ | Jul 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । तातोपानी र केरुङ नाका पहिरोले अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा स्याउको अभाव हुन थालेको छ। यो सँगै स्याउको भाउ पनि आकाशिएको छ। कुलेश्वरस्थित फलफूल बजारमा  गत सातादेखि  स्याउको स्टक सकिएको कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले बताए । तीन दिनदेखि बजारमा स्याउ खोज्दा नपाइने अवस्था सिर्जना भएकाले भाउ पनि महंगिएको उनको भनाई छ।

पहिरोका कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएपछि आयात गरिएका स्याउ भन्सारमा रोकिएको उनले बताए। अभावसँगै होलसेल बजारमै स्याउको मूल्य ३ सयदेखि ३ सय ७५ रुपैयाँसम्म पुगेको बानियाँले जानकारी दिए। खुद्रा बजारमा भने उपभोक्तालाई प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँसम्म प्रन थालेको छ।

सामान्य रूपमा उपत्यकामा मात्र दैनिक ५० टनको हाराहारीमा स्याउको खपत हुने गरको छ। यसैकारण चिनियाँ स्याउको नयाँ खेप बजारमा नआएसम्म माग पूरा गर्न नसकिने अवस्था आएको अध्यक्ष बानियाँले बताए। अहिले आँपको सिजन क्रमशः बिदावारी हुने क्रममा छ। बाह्रैमास बिक्री हुने स्याउमा उपभोक्ताले फुजी बढी रुचाउने गरेका छन् ।

बजारमा स्याउको अभाव कम गर्न काठमाडौंका व्यवसायीले विराटनगरबाट समेत मगाइरहेको उनले बताए। विराटनगरमा भारतीय स्याउ आयात हुने गरेको छ। हाल उपत्यकामा स्याउको माग केही हदसम्म पूरा गर्नका लागि विराटनगरबाट दैनिक ३० देखि ३५ टन स्याउ भित्रिने गरेको बानियाँले जानकारी दिए।   

नेपालमा भारतीय स्याउले केही महिना मात्र माग धान्न सक्छ। अन्य समय चिनियाँ स्याउ नै आयात हुने गरेको छ । केही वर्षयता व्यवसायीलाई भारतबाट भन्दा चीनबाट आयात गर्दा स्याउ सस्तो पर्छ। त्यसैले व्यवसायीले चिनियाँ स्याउ बढी आयात गर्दै आएका छन्। चिनियाँ स्याउ बजारमा आउन थालेपछि मूल्य घट्ने बानियाँले बताए।

हाल चीनबाट भित्रिएर रसुवा भन्सारमा करिब ४० वटा कन्टेनर रोकिएका छन् । ती कन्टेनरमा स्याउ र लसुन छ। काठमाडौं आइपुग्न बाटो असहज भएकाले कन्टेनर उतै रोकिएका हुन्। भन्सारमा भएका स्याउहरु उपत्यकामा आइपुगेपछि स्याउको होलसेल मूल्य प्रतिकेजी १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म झर्ने उनले जानकारी दिए। ४० कन्टेनर स्याउ बजारमा आउनेबितिकै उपभोक्ताले खुद्रामा प्रतिकेजी २ सय देखि २ सय ५० रुपैयाँमै किन्न सक्ने उनले बताए।

तातोपानी नाका पहिरोले बन्द भएको करिब एक महिना हुन लागेको छ। बजारमा स्याउको आपूर्ति कम हुन नदिनका लागि वाणिज्य मन्त्रालयले तातोपानी नाकामा भएका स्याउका कन्टेनर केरुङहुँदै ल्याउन निर्देशन दिएको थियो।

चाँडै बिग्रने फलफूल र  बिभिन्न वस्तुहरु केरुङ नाकामा डाइभर्ट गरेर ल्याउने व्यवस्था गरिएको थियो। लगातारको पानीले रसुवागढी जाने सडकखण्ड पहिरोले रोकेपछि करिब चार दिनदेखि चीनबाट आयात गरिएका कुनै पनि सामान उपत्यका पठाउन नसकेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए।

अवरुद्ध सडक सफा भएमा आगामी सोमबार बेलुकासम्म उपत्यका पठाउने तयारी गरिरहेको खड्काले जानकारी दिए । स्याउको मात्र नभइ अन्य कन्टेनर पनि पास भएर रोकिएको उनले बताए।  

अनारको मूल्य सस्तिने

भारतमा अनार फल्ने सिजन भएकाले अबको  केही दिनमै  अनारको मूल्य समेत घट्दै जाने अध्यक्ष ‍बानियाँले बताए ।

नेपालमा अनारको व्यवसायिक खेती नगर्ने भएकाले बर्सेनि भारतमा र्निभर हुने अवस्था रहेको छ। भारतबाट वर्षको करिब एक अर्बको हाराहारीमा अनार आयात हुने फलफूल बजारले जनाएको छ।

अब आयात हुने अनार सिजनको भएकाले स्वादिष्टसँगै सस्तो पनि पर्दछ। नयाँ लट आउन थालेपछि बजारमा उपभोक्ताले प्रतिकेजी एक सय २५ देखि २ सय रुपैयाँसम्म अनार किन्न पाइने अवस्था सिर्जना हुने उनले बताए।

फलफूल बजारमा हाल स्याउ, केरा, मेवा र आँप बढी बिक्री भइरहेको छ। हाल दैनिक ७० लाखको आँपको आयात भइरहको छ। बानियाँका अनुसार सिजनमा आँपको बिक्री राम्रो भएपनि अन्य समयमा स्याउको नै बढी व्यापार हुने गरेको छ।