गहुँको भन्सार ९% पुगेपछि भारतीय मैदाको भर, बिस्कुट र चाउचाउ उद्योगीले भारतबाट आयात गर्न थाले

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ साउन २२ गते १६:०८ | Aug 6, 2020
गहुँको भन्सार ९% पुगेपछि भारतीय मैदाको भर, बिस्कुट र चाउचाउ उद्योगीले भारतबाट आयात गर्न थाले

Tata
GBIME
Nepal Life

विराटनगर। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा गहुँको भन्सार नौ प्रतिशत पुर्‍याएपछि त्यसको 'रीभर्स इफेक्ट' देखिएको छ।

स्वदेशी उद्योगबाट उत्पादित मैदा महँगो भएपछि भारतबाट आयात बढ्न थालेको छ। किसानलाई संरक्षण गर्न भन्दै खतिवडाले गहुँको आयातमा भन्सार बढाएका थिए। तर त्यसले स्वदेशी उद्योगका मैदा महंगो भए। सस्तो भेटिएपछि तयारी मैदा नै भारतबाट आउन थाल्दा स्वदेशी मैदा उद्योगहरू संकटमा धकेलिएका छन्। मैदालाई मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गर्ने नेपालका चाउचाउ र बिस्कुट उद्योगहरूले सुनौली र विराटनगर भन्सार हुँदै भारतबाट मैदा आयात गर्न थालेका छन्।

नेपालमा उत्पादन गर्ने उद्योगभन्दा भारतका उद्योगले प्रति किलो १० रुपैयाँ सस्तो दिएका कारणले उद्योगहरूले भारतबाट आयात गर्न थालेका हुन्। सुनौली भन्सारका सूचना अधिकृत पूर्ण लम्सालले असार र साउनको २० गतेसम्ममा एक हजार टनभन्दा बढी मैदाको पैठारी भइसकेको जानकारी दिए।
त्यस्तै विराटनगर भन्सारका सूचना अधिकृत सुनीता पौडेलले हालसम्म यस नाकाबाट गत असार महिनामा २५ मेट्रिक टन मात्र मैदा आयात भएको बताइन्।

विराटनगर नाकाबाट क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रीले मैदा आयात गरेको हो। ‘टेस्टी–टेस्टी’ बिस्कुटको उत्पादक क्वालिटी फुडका सञ्चालक श्याम काबराले आफ्नो उद्योगले भारतको विहारबाट मैदा आयात गरेको बताए। ‘असारमा २५ टन ल्यायौं, तर अब धेरै परिमाणमा आउँदैछ,’ उद्योगी काबराले भने, ‘नयाँ सौदा भइरहेको छ। भारतमा कहाँको कुन उद्योगबाट आयात गर्दा सस्तो पर्छ भन्ने अध्ययन पनि गरिरहेका छौँ। अब नेपालको मैदा खरीद गरेर उद्योग चलाउन कठिन भइसकेको छ।’

उनले आफ्ना चाउचाउ र बिस्कुटका गरी २ उद्योगलाई दैनिक ५० टन मैदा आवश्यक पर्ने उल्लेख गर्दै अब अधिकांश भारतीय मैदा नै आयात गर्ने स्पष्ट पारे। खतिवडाले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट भाषणमा गहुँको भन्सार महसुल ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत बनाएका थिए। कच्चा गहुँबाट तयार गरिने मैदा र पिठोको भन्सार महसुल पनि ९ प्रतिशत नै छ।बजेट भाषण भएको एक हप्तापछि नै नेपालका मैदा उद्योगहरूले गहुँको भन्सार महसुललाई ५ प्रतिशतमै फर्काउन अर्थ मन्त्रालयमा दबाब दिएका थिए।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् न्युट्री फुडका सञ्चालक पवनकुमार शारडाका अनुसार अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कच्चा पदार्थ र तयारी वस्तुको भन्सार महसुलमा कम्तीमा एक तह अर्थात् ५ प्रतिशतको फरक हुने अवधारणा प्रस्तुत गरिएको छ। तर उक्त अवधारणाको प्रतिकूल हुने गरी कच्चा पदार्थ गहुँ र तयारी वस्तु पिठो वा मैदाको भन्सार महसुल समान ९ प्रतिशत तोकिएको छ।
‘मैदा उद्योगहरूलाई बजेटमार्फत् जानीजानी अन्याय गरिएको छ,’ शारडाले भने, ‘गहुँको ९ प्रतिशत भन्सार महसुललाई घटाएर तुरुन्त ५ प्रतिशत बनाइनु पर्छ।’

मोरङ व्यापार संघका उपाध्यक्ष एवम् विशाल मैदा मिलका सञ्चालक विकास बेगबानीले गहुँको भन्सार महसुल नबढाउने भए मैदाको महसुल बढाउनु पर्ने माग गरे।‘अहिलेकै समान महसुलमा नेपालका उद्योगहरू चल्न सक्तैनन्’, उपाध्यक्ष बेगबानीले भने, ‘नेपालमा उत्पादित गहुँले देशको १ महिनाको माग मात्र धान्न सकिन्छ । बाँकी ११ महिनाका लागि गहुँ भारतबाटै आयात गर्नुपर्छ। यस्तो अवस्थामा गहुँको भन्सार महसुल बढाउनु मनासिब हुँदैन।’

उपाध्यक्ष बेगबानीका अनुसार हिजोआज नेपालका मैदा मिलहरूले भ्याटसहित प्रति किलो ४७ रुपैयाँका दरले मैदा विक्री गरिरहेका छन्।
अर्कातिर क्वालिटी फुडले पैठारी गरेको मैदाको परिमाण र मूल्य हेर्दा प्रति किलो ३७ रुपैयाँ ४४ पैसा परेको देखिन्छ। क्वालिटी फुडले ९ लाख ३६ हजार रुपैयाँ मूल्यमा २५ टन मैदा पैठारी गरेको हो। यसको हिसाब गर्दा प्रति किलो ३७ रुपैयाँ ४४ पैसा हुन आउँछ । यसमा ९ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ।

रमपम चाउचाउका उत्पादक एसियन थाई फुड्स र गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले पनि आफ्नो उद्योगले भारतबाट मैदा आयात गर्न तयारी सुरु गरेको जानकारी दिए। ‘अहिलेसम्म त नेपालका उद्योगमा गरेको पुरानो सौदाको मैदाले चलिरहेको छ’, उद्योगी जाजूले भने, ‘अब मूल्यमा पनि ठूलो अन्तर आइरहेको छ। त्यसैले दुबै उद्योगका लागि भारतबाट भारतबाट मैदा ल्याउने तयारी भइरहेको छ।’ दुबै उद्योगका लागि दैनिक ८० टन भन्दा बढी मैदा लाग्ने उनले बताए।