गहना बेच्न आउनेबाट रसायन खर्चमा सुनचाँदी व्यवसायीको मनपरी, भाउ उक्लिँदा बढ्यो ठगी

सरला सुवेदी/बिजमाण्डू
२०७७ साउन २३ गते १०:४९ | Aug 7, 2020
गहना बेच्न आउनेबाट रसायन खर्चमा सुनचाँदी व्यवसायीको मनपरी, भाउ उक्लिँदा बढ्यो ठगी

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको भाउ तोलाको एक लाखबाट पनि उकालो लागेको छ। गर्जो परोस् नपरोस् सस्तो छँदा किनेको सुन यतिबेला बेच्दा राम्रै दाम हात पर्छ भन्नेहरू ठगिइरहेका छन्। सस्तोमा किनेको सुन बढेको भाउमा बेच्दा राम्रो दाम हात पर्छ भन्दै सुनचाँदी पसल पुग्नेहरू रसायन र जर्तीका नाउँमा ठगिने गरेका हुन्।

नेपाली बजारमा सुनको भाउ शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय पुगेको छ भने चाँदी पनि बढ्दै १ हजार ४ सय ५ रूपैयाँ पुगेको छ। तोलाको ५० हजारभन्दा  कम रहँदा किनेकाहरू यतिबेला बेच्न उत्साहित देखिएका छन्। नयाँ बिक्री नभएर निराश व्यवसायीले पुरानो गहना बेच्न ल्याउनेलाई ठगी गर्दै मौकाको फाइदा उठाएका छन्।  

व्यवसायीले मनपरी शुल्क काट्दै सर्वसाधारणलाई ठगी गर्दा उपभोक्ता संरक्षण विभागले त आँखा चिम्लेकै छ, यसमा वाणिज्य विभागले चासो लिएको छ, न त सुनचाँदी व्यवसायीका संगठनले। ठगीमा परेकाहरू पनि उजुरबाजुर नगरी चुप लागेर बसेको देखिएको छ। 

खरिदकर्ता सुनचाँदी व्यवसायीले रसायन खर्च भन्दै मनपरी गर्न थालेका छन्। लकडाउनपछि व्यवसायीले उपभोक्ताबाट खरिद गर्ने सुनमा लिने रसायन खर्च नेपाल सुनचाँदी व्यवसायी महासंघले औपचारिक रूपमै बढाएको थियो। पहिले २ देखि ३ प्रतिशतसम्म कटाउने गरेको खर्च महासंघले ५ प्रतिशत तोके पनि केही व्यवसायीले त्योभन्दा दोब्बर लिने गरेका छन्। 

आफू ठगीमा पर्दा पनि गहना बेच्नेहरूले कतै उजुरी भने गरेका छैनन्। त्यसैले व्यवसायीको मनोबल बढेको छ। वाणिज्य उपभोक्ता तथा संरक्षण विभागका अनुसार सुन खरिद गर्दा व्यवसायीले  ०.५ प्रतिशत रसायन खर्चको रूपमा काट्नु नियमसंगत नै हो। 'नियम मिचेर जथाभावी गरे भन्ने गुनासो हामीलाई आएको छैन,' विभागका महानिर्देशक नेत्र सुवेदीले भने।  

सुनको मूल्य यतिबेला पोहोरभन्दा झण्डै दोब्बर हुने अवस्थामा छ। गत वर्षको साउन २२ मा तोलाको ६९ हजार ५०० रहेको छापावाल सुन यसपटक साउन २२ मा आइपुग्दा ३३ हजार रूपैयाँ बढिसकेको छ। यस्तै तेजाबी सुनमा पनि ३२ हजार ८ सय रूपैयाँ बढेको छ।

सुनको भाउ गत माघदेखि नै क्रमिक उकालो लाग्दै आएको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारी सुरू भएयता झन छिटो छिटो बढ्यो। सुनको भाउ निरन्तर उकालो लाग्दा बजारमा नयाँ खरिदकर्ता निकै न्यून छन्। नकिनी नहुने अवस्थामा रहेकाहरूले निकै थोरै परिमाणमा किन्ने गरेका छन्। सस्तो छँदा किनेकाहरू भाउ बढेका बेला बेच्न इच्छुक देखिएका छन्। 

बेच्न चाहनेहरू आफूले किनेकै व्यवसायीकहाँ पुग्ने गरेका छन्। व्यवसायीले खरिद गर्दा रसायन खर्चमा ठगी गरिरहेको गुनासो आउन थालेको छ। लेनदेनमा हुने व्यवहारमा ठगीमा परे पनि गहना बिक्री गर्न पुगेका ग्राहकले सरकारी निकायमा उजुरी भने दिन थालेका छैनन्।

महासंघले ५ प्रतिशतसम्म लिएर कारोबार गर्न नियम नै बनाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। '५ प्रतिशत भनेको सुनको प्रोसेसिङ, रिफाइन्डिङ चार्ज र त्यसमा लाग्ने लागत नै हो,' उनले भने,' महासंघले तोकेकोभन्दा बढी लिनु हुँदैन।यसले बजार बिगार्छ।' खरिद गर्दा ५ प्रतिशत काटौं भनेर नियम बनाउनु सर्वसाधारणलाई अन्योल नहोस् भनेरै तय गरिएको उनले बताए।
'हामीले ग्राहकबाट सुन लिएर त्यसलाई प्रशोधन गरेर अर्को २४ क्यारेट बनाउन रिभाफाइन्ड गर्नुपर्ने भएकाले लाग्ने खर्च मात्र लिने गरेका हौं,' उनले भने। निर्धारण गरिएको भन्दा मनपरी गर्न नहुने उनले बताए।

नयाँ बिक्री नभएकाले खरिद गर्दा सम्झौतामा व्यवहार चलाउनुपर्ने भएकाले मोटामोटी ५ प्रतिशतसम्म रसायन खर्च काट्ने नियम सबैका लागि तय गरिएको रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश मर्हजनले बताए। 'सुन लिएर आएका ग्राहकलाइ सम्झाइ बुझाइ गरेर ५ प्रतिशत कटौती गर्नु भनेका छौं, त्योभन्दा बढी काट्नु हुँदैन,' उनले भने। 

'पुरानो गहना भएको भए रसायन फरक हुन्छ की  भन्ने  हुन्छ । अहिले ७० साल पछीका सुनमा २ प्रतिशतमात्र रसायन हुने भएकाले  रिफाइन्ड गर्दा फरक पर्दैन,' उनले भने, 'जसले गर्दा रसायन कटौती भनेर बढी काट्नु पर्ने अवस्था होइन।' 

व्यवसायीहरूले भने नयाँ बिक्री नभएको मौकामा जर्ती भन्दै बजारमा ७ देखि १० प्रतिशतसम्म काट्ने गरेको पुराना गहना बेच्न पुगेकाहरूले बताएका छन्। बिल नभएका गहना खरिदमा व्यवसायीको अझ मनोमानी छ। बिल नभइ गहना बेच्न ल्याउनेबाट खरिद गर्दा व्यवसायीले २० प्रतिशतसम्म काट्ने गरेका छन्। यसलाई न व्यसायीसम्बद्ध महासंघले हेरेको छ, न त सरकारी निकायले। लकडाउन अघिसम्म कति प्रतिशत रसायन काट्ने भन्ने नियममा एकरूपता थिएन। नियम बनाइएपछि पनि मनपरी रोकिएको छैन। बिक्रीका लागि ल्याइएको सुन व्यवसायीले धेरै कटौती गरेर खरिद त गर्छन् नै, चलेको मूल्य भन्दा पनि निकै कममा लिन्छन्।  

सुनको कारोबार गर्दा कति रसायन खर्च कटाउने भनेर नापतौल गुणस्तर विभागले नतोकेको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। 'रसायन खर्च भन्दै व्यवसायीले ग्राहकबाट कमिसन खर्चसमेत लिने गरेको गुनासो आउने गरेका छन्,' उनले भने, 'पुरानो सुन रिफाइन्ड गर्न कति लाग्छ भनेर खर्च निकाल्न वाणिज्यले आदेश दिए नापतौलले बजार अनुगमन गर्छ।' 

सुनमा लगानी गर्नेहरुका लागि महासंघले नियम एउटा बनाएर व्यवहारमा लागू गर्न सकेको छैन। सुनका गहना बनाएको पसलमा बिक्री गर्न जाँदा हालको मूल्य भन्दा २ हजार कममा सुन पसले खरिद गर्ने गरेको शाक्य एण्ड सन्सका सञ्चालक सुन्दर शाक्यले बताए। 'यतिबेला सुन बेच्दा ग्राहकलाई नै घाटा हुन्छ,' उनी भन्छन्। (फाइल तस्बिर ः बिजमाण्डू)