१६ दिनपछि वीरगंज भन्सारमा आलोपालो सामान जाँचपास हुँदै ,कोरोनाले आयात निर्यात प्रभावित

बिजमाण्डू
२०७७ साउन २५ गते १७:२४ | Aug 9, 2020


 

Tata
GBIME
Nepal Life

वीरगंज। पर्सामा पछिल्लो पटक फैलिएको कोरोना महामारीका कारण वीरगंज नाकाबाट भित्रिने समान तथा निर्यात हुने मालवस्तुको आयात निर्यातमा प्रतिकूल असर परेको छ ।

वीरगंजमा संक्रमण बढ्दै जाँदा भन्सारको आयात निर्यात एकदमै प्रभावित भएको भन्सार अधिकारीहरुले बताएका छन् ।

वीरगंजमा निषेधाज्ञा जारी भएको १६ औं दिन अर्थात आइतबारदेखि मात्रै वीरगंज भन्सार र ड्राइपोर्ट भन्सार नाकालाई सहज बनाउन प्रयास शुरु भएको छ ।

शनिबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साको बैठकमा वीरगंज भन्सार अन्तर्गत पुरानो भन्सार र एकीकृत जाँच चौकी(आइसिपी) भन्सार नाकाबाट मालसमान भित्र्याउन भन्सार एजेन्टहरुलाई आलोपालो प्रणालीबाट सेवा दिने निर्णय भएको वीरगंज भन्सारले जनाएको छ ।

आइतबार, मंगलबार र  बिहीबार २१ जना भन्सार क्लियरिङ एजेन्टको समान जाँचपास गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै सोमबार, बुधबार र शुक्रबारका  तीन दिन १५ जना एजेन्टको समान जाँचपास गर्ने जानकारी सर्कुलर भएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए ।

सोही अनुसार वीरगंजका तीन भन्सार नाकाबाट मालसमान आयात हुने बताइएको छ । उनले यो नियम ड्राइपोर्ट भन्सारको बोराबन्द गोदाममा भने लागू नहुने बताए।