संक्रमण बढेपछि वीरगंज-पथलैया औद्योगिक करिडोरका अधिकांश उद्योग बन्द,मजदुर मारमा

बिजमाण्डू
२०७७ साउन २५ गते १७:३४ | Aug 9, 2020


वीरगंज। वीरगंजमा समुदाय स्तरमा फैलिएको कोरोना महामारीको कारण वीरगंज–पथलैया औद्योगिक कोरिडोरका अधिकांश उद्योग दुई सातादेखि बन्द भएका छन्।

Tata
GBIME
Nepal Life

साना मझौला गरी करिब १२ सय उद्योगमध्ये बारा पर्सामा मुस्किलले २०–२५ वटा उद्योग मात्र सञ्चालनमा रहेको वीरगंजका उद्योगीहरुले बताए। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले केही खाद्यान्न,औषधी र फलामजन्य उद्योग बाहेक सबै उद्योग बन्द रहेको बताए।

परवानीपुरमा रहेको बहुराष्ट्रिय उद्योग ब्रिटानिया नेपाल प्रालिको उत्पादन पनि ठप्प छ। सूर्य नेपाल र डाबर नेपाल प्रालि आंशिक रूपमा मात्र चलेको उनले बताए।

‘अत्यावश्यक उद्योगमा पनि केही औषधी र फलामजन्य निर्माण सामाग्री उत्पादन गर्ने उद्योगका मजदुरमा कोरोना देखिएपछि उद्योग व्यवस्थापन पक्ष निकै डराएको छ,’ उनले भने, ‘त्यसमा पनि अनेकन समस्याले उद्योग चलाउनु पर्ने अवस्था छैन।’

उद्योग बन्द भएपछि मजदुरहरु सबैभन्दा बढी प्रभावित भएका छन्। वीरगंजका उद्योगी एवं संघका सचिव माधव राजपालले उद्योग सञ्चालन गर्न सबैभन्दा आवश्यक बैंकको सेवा भएको बताए।

बैंक सेवा बन्द रहेको कारण भुक्तानी समस्याले उद्योगको कच्चा पदार्थ भन्सारमा अड्केको र पैसा दिन नसक्दा मजदुर उद्योगमा बस्न नमानेको दाबी गरे। उनले बैंकलाई जसरी पनि आवश्यक सतर्कता अपनाएर नियमित सेवा दिन अपिल समेत गरे।

‘वीरगंजका उद्योगी तथा सर्वसधारण १५ हजार रुपैयाँ निकाल्न हेटौंडासम्म पुग्न थालेका छन्,' उनले भने, ‘जसको एटिएम छैन उसले कसरी रोजीरोटी टार्ने ? औद्योगिक र व्यापारिक प्रयोजनको काम बैंकले मुलगेटमै चेक वा कागजात बुझेर काम सकेर गेटमै सम्बन्धित मानिसलाई बोलाएर दिए हुन्थ्यो।’  

एलसी,चेक क्लियरिङ लगायतका काम गर्न र सर्वसाधारणको पैसा बैंकमा होल्ड गरी महामारीमा झनै पीडा दिन नहुने भएकाले तत्काल सरोकारवाला निकायले पहल गर्न उनले आग्रह गरे।