यसपाली अर्थतन्त्रलाई दसैं नआउने भयो

बिजमाण्डू
२०७७ भदौ २४ गते १०:२१ | Sep 9, 2020
यसपाली अर्थतन्त्रलाई दसैं नआउने भयो


Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुको विगतको वासलात हेर्ने हो भने- यो बेला (साउनदेखि कात्तिकसम्म) सबैभन्दा बढी ब्यापार गर्ने बेला हो। त्यसमाथि भदौ-असोज अझ बढी ब्यापार गर्ने बेला हो।

किनभने देशको सबैभन्दा ठूलो चाड दसैंतिहारमा सर्वसाधारणले धेरै खर्च गर्छन्। उपभोग पनि निकै बढ्छ। वर्षभरी हुने आर्थिक कारोबारको ३०/४० प्रतिशत दसैंतिहारमै हुन्छ।

सर्वसाधारणको माग धान्नका लागि ब्यवसायीले पनि मज्जाले उत्पादन बढाउँछन्। त्यसका लागि विदेशबाट तयारी तथा कच्चा पदार्थ मगाउँछन्। आन्तरिक उत्पादन पनि बढाएर लैजान्छन्। यो सबै गर्नका लागि उनीहरुले बैंकसँग ऋण लिने गरेका थिए।

तर, यसपाली कोभिडले प्रवृत्ति फेरिएको छ। बजारमा माग छैन, माग नभएपछि ब्यवसायीहरु पनि उत्साहित छैनन्। ब्यवसायी उत्साहित नहुँदा बैंकबाट ऋण पनि गएको छैन।

'यसपालीको दसैं सबैका लागि गरिबको दसैंजस्तो हुने देखिएको छ,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले बिजमाण्डूसँग भने, 'अर्थात पुरानै कपडाले दसैं मान्ने।' उनको आशय, कोभिडका कारण नयाँ ऋण जाने अवस्था छैन, बैंक पनि जोखिम लिने अवस्थामा छैनन्। माग पनि कतै छैन।

अघिल्ला वर्षहरूको जस्तो अवस्था हुँदो हो त यतिबेला बजारमा दसैंको चहलपहल सुरु भइसक्थ्यो। पुरानो मालको 'स्टक क्लियर' गरेर पसलेहरूले आफ्ना पसलकवलहरु नयाँ नयाँ मालसामानले भरिसक्थे। 

सामान्य अवस्थामा दसैंतिहार लक्षित बजार भनेको उद्योगीव्यापारी जोकसैका लागि किसानको जस्तो 'मानोबाट मुरी फलाउने' बेला हो।

कोभिड-१९ को संक्रमणसँगै स्थानीय प्रशासनहरुले लगाएको निषेधाज्ञाका कारण अहिले बजार सुनसान छ। दोकानहरुमा पुरानै मालसामान छन्। ती पनि बिक्री भएका छैनन्। 

'पुराना मालसामान नै बिक्री नभइसकेकाले नयाँ उठाउने कुरा पनि भएन। यसपाली नयाँ ब्यापार छैन,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बिजमाण्डूसँग भने, 'कुरा लकडाउन वा निषेधाज्ञाको मात्र होइन, संक्रमण फैलिने डरकै हो। त्यसैले अहिलेकै अवस्थामा कसैले जोखिम लिन्छ जस्तो लाग्दैन।'

दसैंतिहारका लागि सरसामान जुटाउन यतिबेलैबाट ब्यवसायीले प्रतीतपत्र (एलसी) खोल्न सुरु गरिसक्थे। तुलनात्मक रूपमा अन्य बैंकको तुलनामा एलसी ब्यापार नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको बढी हुने गर्छ। अहिले ती बैंकको एलसी विभागले खासै काम पाएको छैन।

यतिबेला गाडीको एलसी धमाधम खुल्थ्यो। मदिराको पनि राम्रै माग हुन्थ्यो। यसबाहेक लत्ताकपडा, अन्य विलासिताका वस्तु तथा सेवा, खाद्यान्नका लागि ऋणको माग बढेर जान्थ्यो। यसपाली त्यो अवस्था छैन।

'यस्ता बेलामा नयाँ गाडी चढ्नेहरू छैनन्, त्यसैले ऋणको माग हुने कुरा भएन। मदिरा पनि आयात बन्द गरिएको छ। अन्य वस्तुहरु मगाउन पनि कसैले चासो देखाएको छैन,' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेले भने, 'यसपाली अवस्था सजिलो छैन।' 

सामान्य अवस्थामा ब्याज घटेपछि ऋणको माग उच्च हुने गर्थ्यो। त्यही भएर राष्ट्र बैंकले ब्याज घटाउने उपायहरु लगायो पनि। अझै ब्याज घटोस् भनेर उसले बजारलाई अधिक तरलताको अवस्थामै छाडिदिएको छ। तर, कोरोनाले सर्वसाधारणको आत्मबल नआउँदा ऋणको माग छैन।

'कसैमा कन्फिडेन्स नै छैन। यस्तो बेलामा कन्फिडेन्स हुने कुरा पनि भएन,' संघका पुर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, 'न बैंक मन फुकाएर दिन सक्ने अवस्थामा छन्, न ठूलो आँटले कोही लिन नै आएको छ।'

अहिले ब्यापार खोसाखोसको अवस्थामा मात्र रहेको छ। एक बैंकले अर्को बैंकको ऋण कम ब्याज तय गरेर खोसिरहेका छन्। 'नयाँ ऋण गएको छैन। अधिक तरलताले गर्दा बैंकसँग आइडल पैसा हुन थाल्यो। यसले गर्दा खोसाखोस मात्रै छ नयाँ ब्यापार छैन,' दहालले भने।

बैंकरको बुझाइमा, लकडाउन र निषेधाज्ञा के हुने हो पत्तो छैन। संक्रमण घट्ने छाँट देखिएको छैन। आगामी दिन के हुन्छ भन्ने पनि पत्तो छैन। बरु दसैंतिहारमा सर्वसाधारणको 'मुभमेन्ट' बढेर संक्रमण फैलिने सम्भावना उच्च छ।

'अलिकति सामान मगाउन त भन्यो, निषेधाज्ञा लम्बिएर त्यो नबिक्ला। संक्रमण फैलिएर माग नहोला,' शाहले विश्लेषण सुनाए, 'अनि कसले जोखिम लिएर अहिले काम गर्ने?' उनले आफ्नो बैंकमा पनि एलसी वा अन्य ऋणको खासै माग नआएको बताए।

राष्ट्र बैंकले भने दसैंतिहारले अर्थतन्त्रमा एकखालको गति दिने विश्लेषण गरिरहेको छ। किनभने दसैंतिहारमा केही न केही मुभमेन्ट हुन्छ नै। अहिले नै पनि महिनाको ८५/९० अर्ब रुपैयाँ हाराहारीको आयात भइरहेको छ। 

'अहिले अति आवश्यक वस्तु आयात हुँदा पनि ९० अर्ब हाराहारी रकम पुगेको छ,' राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, 'सधैं अवस्था एउटै रहँदैन र सधैं यसैगरी बस्न पनि सकिँदैन। अमेरिकामा पनि त संक्रमित उच्च दरमा पुगेर घट्न थाले। त्यो सबैतिरको उदाहरणले देखाउँछ। आगामी दिनमा ऋणको माग बढ्छ। त्यसलाई दसैंतिहारले केही पुस गर्छजस्तो लाग्छ।'