कोरोना महामारीले अमेजनलाई दिलायो ऐतिहासिक सफलता, थप एक लाखलाई रोजगारी दिने

बिजमाण्डू
२०७७ भदौ ३० गते १०:४० | Sep 15, 2020

Tata
GBIME
Nepal Life

अमेरिकी इ-कमर्श जायन्ट कम्पनी अमेजनले थप एक लाख जनाका लागि रोजगारी सिर्जना गर्ने भएको छ।

कोरोना भाइरसको महामारीको समयमा बढेको अनलाइन बिक्रीका कारण कम्पनीले हाल आफ्नो व्यवसायलाई आक्रामक तवरले बिस्तार गरिरहेको छ। अमेजनले अमेरिका र क्यानडामा आफूलाई टप पोजिसनमा राख्नका लागि थप रोजगारी सिर्जना गर्न लागेको हो।

कम्पनीले सेप्टेम्बर महिनामा मात्रै नयाँ एक सय संचालन साइटहरु स्थापना गरिसकेको छ। यसकालागि पूर्णकालीन र पार्ट टाइम रोजगारी उपलब्ध हुने बताइएको छ।

कम्पनीले सन् २०२० मा मात्रै १० लाख रोजगारी सिर्जना गर्ने घोषणा गरे अनुसार गत मार्चमा नै एक लाख रोजगारी सिर्जना गरिसकेको छ। यसैगरी अप्रिलमा ७५ हजारलाई रोजगारी दिएको बताएको छ।

सेप्टेम्बरको सुरुवातमै कम्पनीले ३३ हजारलाई आफ्नो कर्पोरेट अफिस र टेक डिभिजनमा रोजगारीका लागि आह्वान गरेको थियो।

कम्पनीका उपाध्यक्ष एलिसिया बोलर डेभिसले अमेजनले आगामी दिनमा नयाँ भवनहरु अटोमेसनमा लैजाने तर प्रविधिमा भने ब्यापक रोजगारी सिर्जना गर्ने गरी डिजाइन हुने बताएका थिए।

विश्वकै सबैभन्दा ठूलो अनलाइन रिटेलरका रूपमा अमेजनले कोरोना भाइरसको महामारीका समयमा पनि उल्लेख्य कारोबार गरेको हो।  

आफ्नो २६ वर्षको इतिहासमै अमेजनले सबैभन्दा राम्रो छलाङ मार्न सफल भएको विश्लेषण गरिएको छ। गत जुलाईमा अमेजनले दोस्रो त्रैमासमा ५.२ अर्ब डलर कमाएको थियो।

यस अवधिमा अमेजनको बिक्रीमा गत वर्षकोभन्दा ४० प्रतिशतले वृद्धि भएको छ। कम्पनीका स्टोरहरुको रेभेन्यूमा १३ प्रतिशतले गिरावट आएको भए पनि अनलाइन बिक्रीबाटै यसको आम्दानी बढेर झण्डै ९० अर्ब डलर पुगेको बताइएको छ।

कम्पनीका अनुसार विश्वभर हाल उसका ५ लाख ६० हजार कर्मचारी छन्।

अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोस फोर्ब्सको चार सय धनाढ्यहरुको सूचीमा लगातार तेस्रो वर्ष शीर्ष स्थानमा छन्। सोमबारसम्म उनको कुल सम्पत्ति १८३.८ अर्ब डलर रहेको छ। उनको अमेजनमा ११.२ प्रतिशत सेयर हिस्सा रहेको छ।

गत महिनामात्रै कुल सम्पत्ति हालसम्मकै सबैभन्दा धेरै २०० अर्ब डलरभन्दा माथि पुगेपछि उनले इतिहास रचेका थिए।