उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या, ‘ऋण नपाए टिक्नै गाह्रो भो’

बिजमाण्डू
२०७७ असोज २ गते १०:२३ | Sep 18, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड १९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलब दिन समस्या भएको महिला उद्यमीले बताएका छन् । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको अनलाइन बैठकमा उनीहरुले आफ्ना समस्या राखे ।

कोरोनापछि व्यापार गर्ने महिलाका लागि ऋण दिने भने पनि त्यसको लागि प्रस्ताव लगायतका कुरामा सामान्य उद्यमीको पहुँच नहुनाले समस्या भएको महासंघकी अध्यक्ष रिता सिंहले बताइन् ।

उनले भनिन्, ‘ऋण लिने वातावरण सहज भए महिलालाई व्यवसायमा टिक्न सजिलो हुने थियो ।’

उपत्यकामा १ सय २५ उद्यमी रहेको महासंघको ५० वटा जिल्ला शाखा छन् । अहिले गाउँमा बजारीकरणको समस्या भएकोले अनलाइन बजारीकरणमा तालिम दिएको संस्थाकी कार्यकारी निर्देशक अनामिकासिंह भण्डारीले जानकारी दिइन् ।

यस्तो समयमा पनि कसरी काम गर्न सकिन्छ र जिल्लासम्म कसरी उद्यमी महिला बनाउने भन्नेमा आफुहरु लागिपरेको प्रथम उपाध्यक्ष निरु खत्रीले बताइन् ।

सरकारले उद्यमशीलता विकास कोष बनाए पनि चाहेको जस्तो सजिलो नभएको कारण व्यवहारिकतामा ध्यान दिनुपर्नेमा संस्थाकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठको सुझाव छ ।

कर्मचारीको रोजीरोटीको लागि पनि आफुहरुले जोखिम मोलेर कोरोनाको समयमा काम गरिरहेको चतुर्थ उपाध्यक्ष हजुरी विष्टले बताइन् । उनी भन्छिन्-‘हामीसँग धेरैको रोजगारी जोडिएको छ ।’

महिलाले अझ कर्मचारीको संवेदना बुझेर कामबाट निकाल्न नसक्ने कारण महिलाले चलाएका व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने उनीहरुको माग थियो ।

संस्थाकी सचिव बसन्ती प्रधानले आफुहरु ऋण लिन जाँदा तपाईंहरु जस्ता खान पुग्ने महिलाको लागि होइन भन्ने जवाफ पाएको बताइन् । उनले भनिन्-‘हामीले त ऋणको प्रक्रिया पुर्याउन सकेका छैनौं। अझ ग्रामीण महिलालाई कति समस्या भएको छ। यसलाई बुझेर सजिलो बनाउन पर्छ ।’

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले महिला उद्यमी समय अनुसार चल्नुपर्ने बताइन्। उनले भनिन्- ‘हामीले संकटमा व्यवसाय कसरी चलाउने भन्नेबारे सिक्न र त्यसको व्यवसायीकरणमा आधुनिकता ल्याउनुपर्छ ।’