वीरगंज। प्याजको कालोबजारी गर्ने बाराका एक पसल सञ्चालकलाई बारा प्रहरीले आज पक्राउ गरेको छ ।
केहि दिनदेखि प्याजको कृत्रिम अभाव देखाई खरिद मुल्यको दोब्बरसम्म बढाएर बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ। कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा ब्यापारी चन्दन साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
प्रहरी टोली कलैया उपमहानगरपालिका वडा नं. १ स्थित रहेको खुशी स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा ब्यापारी चन्दन साहले प्रति किलो ४३ रुपैयाँमा खरिद गरेको प्याज ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो ग्राम प्याज बरामद गरेको प्रवक्ता मिश्रले जानकारी दिए ।
कालो बजारी गर्ने चन्दन साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक छानबिन भई रहेको बारा प्रहरीले जनाएको छ ।
भारतले प्याजको निर्यातमा रोक लगाएसंगै नेपालमा प्याजको दाम आकाशिँदै गएको छ ।
यसैबीच, भन्सार नाकाबाट प्याजको आयात प्रभावित भएपछि भारतीय सीमावर्ती क्षेत्रका व्यवसायी तथा पसलेले क्यारिङ मार्फत भारतबाट प्याजको तस्करी गराई नेपाली बजारमा ल्याएर दोब्बर दाममा बेचेर कालोबजारी गर्न थालेका छन् ।