फोरजी सेवा विस्तारमा एनसेल आक्रामक, १९ अर्ब खर्चिएको नेपाल टेलिकमभन्दा २९ लाख बढी ग्राहक

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ असोज २ गते १३:४६ | Sep 18, 2020
फोरजी सेवा विस्तारमा एनसेल आक्रामक, १९ अर्ब खर्चिएको नेपाल टेलिकमभन्दा २९ लाख बढी ग्राहक

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक एनसेल आजियटाको फोरजी सेवा प्रयोग गर्ने ग्राहक ३७ लाख ४७ हजार पुगेका छन्। नेपाल दूरसंचार प्राधिकरणले भदौमा प्रकाशित गरेको एमआइएस रिपोर्टका आधारमा फोरजी सेवा लिने ग्राहक एनसेलका धेरै छन्।

एनसेलको आक्रामक बजार रणनीति र गुणस्तरका कारण ग्राहकको पहिलो रोजाइमा परेको छ। एनसेलभन्दा पाँच महिना अगाडि फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमको फोरजी ग्राहक जम्मा ८ लाख ४४ हजार मात्रै छन्।

१९ अर्ब लगानीमा देशभर सेवा विस्तार गरेको टेलिकमको फितलो बजार रणनीतिकै कारण ग्राहकको आकर्षण कम भएको हो। यो लगानी अनुसार टेलिकमले प्रतिफल पाउने सम्भावना अत्यन्तै न्यून छ।

चार अर्ब रुपैयाँमा टूजी र थ्रीजीलाई स्तरोन्नति गर्ने प्रस्तावलाई लत्याउँदै टेलिकमले महँगो थ्रीजी प्रणालीलाई अपग्रेड गरेको थियो। टेलिकमको भन्दा निकै कम लगानीमै एनसेलले पाँच गुणा बढी ग्राहक बनाइसकेको छ। लगानी अनुसार ग्राहक संख्या नहुँदा टेलिकमलाई आर्थिक भार मात्रै थपिएको छ। तर कम लगानीमै एनसेलले धेरै ग्राहक बनाएर आम्दानी पनि राम्रो गरिरहेको छ।  टेलिकमपछि तेस्रोमा स्मार्ट टेलिकमका दुई लाख फोरजी सेवा लिने ग्राहक छन्।

योसँगै नेपालभर फोरजी सेवा लिने उपभोक्ताको संख्या करिब ५० लाख पुग्न लागेको छ। नेपाल टेलिकमले २०७३ पुस १७ बाट नेपालमै पहिलोपटक फोरजी सेवाको सफ्ट लञ्च गरेको थियो। तत्कालीन सञ्चारमन्त्री राम कार्कीले टेलिकमको फोरजी सेवा काठमाडौं र पोखरामा चल्ने गरी उद्घाटन गरेका थिए। प्राधिकरणले सो समयमा फोरजी सेवाको शुल्क तय नभएको भन्दै टेलिकमलाई व्यापारिक प्रयोजनका लागि फोरजी सेवा सुरु नगर्न निर्देशन दिएको थियो।

सोही कारण टेलिकमले थ्रीजी कै मूल्यमा फोरजीको व्यापारिक नभइ सफ्ट लञ्च मात्रै गरको थियो। टेलिकमले गत वर्ष असोजमा मात्रै देशका ५० शहरी क्षेत्रमा फोरजी सेवाको औपचारिक सुरुआत गरेको थियो। टेलिकमले यी शहरहरुका करिब एक सय ५० स्थानमा बिटिएस टावर जडान गरेको थियो।

सहरी क्षेत्रमा मात्रै नभइ देशका हरेक क्षेत्रमा फोरजी विस्तार गर्ने बताएको टेलिकमले ७७ वटै जिल्लामा फोर जी सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। टेलिकमले मुलुकका सात सय ५३ मध्ये पाँच सय ३३ स्थानीय तहमा फोर जी पुर्‍याएको छ। सस्तो मूल्यका मोबाइल सेटमा पनि उक्त सेवा चल्ने भएकाले ग्राहकको संख्या बढ्दै गएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

एनसेलले कर विवाद साम्य भएपछि २०७४ जेठ १८ मा मात्रै फोरजी सञ्चालनको अनुमति पाएको थियो। सातै प्रदेशका एक हजारभन्दा बढी स्थानबाट फोरजी सेवा सुरु गरेको एनसेलले अहिले ७१ जिल्लामा सेवा विस्तार गरेको कम्पनीले जनाएको छ। मनाङ, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट र मुगु गरी ६ जिल्लामा फोरजी सेवा पुग्न बाँकी रहेको एनसेलले जनाएको छ। ग्राहक संख्या एनसेलको बढी भए पनि जिल्लागत रूपमा पहुँचको हिसाबले टेलिकम अघि देखिन्छ।

कुनै स्थानीय तह वा जिल्लाको केन्द्रमा मात्रै फोरजी पुग्दैमा सबै स्थानमा सेवा पुग्यो भन्नु गलत हुने प्राधिकरणका निर्देशक विजयकुमार रोयको भनाइ छ। सहरी र सुगम क्षेत्रमा मात्रै सेवा पुर्‍याएर नहुनेमा प्राधिकरणको जोड छ। भौगोलिक विकटताका कारण सबै क्षेत्रमा टावर निर्माण लगायतका पूर्वाधार विस्तार गर्न ठूलो लगानी र समय लाग्ने भएकाले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को रकम टावर विस्तारमा प्रयोग गरे देशका सबै स्थानीय तहमा फोरजी सेवा पुर्‍याउन सहज हुने टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले दाबी गरे। प्राधिकरणले कुन कुन पालिकामा फोरजी सेवा पुग्यो भन्ने बारे अध्ययन गरिरहेको प्राधिकरणका निर्देशक रोयले जानकारी दिए।

प्राधिकरण भन्छ: 'फाइभजी भित्र्याउन हतार नगरौं'
वान जी, टूजी, थ्रीजी, फोरजी हुँदै अब विश्वव्यापी रुपमा वायरलेस मोबाइल स्टायन्डर्ड फाइभ जी तर्फ केन्द्रित भएको छ।

उच्च गतिको इन्टरनेट डेटा स्पीडका लागि फाइभ-जी कहिले लञ्च हुन्छ भन्ने प्रतीक्षा भइरहेको समयमा टेलिकमका प्रबन्ध निर्देशक अधिकारी फाइभजी नेपाल भित्र्याउने नीतिगत तयारीमा लाग्नु पर्ने बताउँछन्। फाइभजी रोलआउटको तयारी अब सुरु गर्नुपर्ने उनको धारणा छ। फोरजी सेवा देशका अधिकांश भूभागमा केही समय भित्रै पुग्ने भएकाले प्रविधि अपग्रेडको तयारीमा लाग्नुपर्ने उनको भनाइ छ।

तर, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण भने फाइभजी भित्र्याउन हतार गर्न नहुने पक्षमा छ। 'प्रविधि भित्र्याउन मात्रै हतारो नगरौं, फाइभजी वा कुनै पनि नयाँ प्रविधिबाट हामीले के पाउँछौं भन्ने बहस हुनु जरुरी छ,' रोयले भने। प्रविधिबाट उपभोक्ताले के पाइरहेका छन् भन्ने विषय महत्त्वपूर्ण हुने उनले बताए। नेपाली बजारमा अरु कुरा भन्दा प्रविधि निकै छिटो भित्रिने गरेको छ तर, उक्त प्रविधिले हाम्रा गतिविधि, कार्यशैली एवम् जीवनशैलीलाई कत्तिको सहज बनाएको छ भन्ने बारे मूल्यांकन हुनुपर्नेमा उनको जोड छ।

यस्तै, ग्रामीण कनेक्टिभिटी विज्ञ पवन शाक्य प्रविधि भित्र्याउनु राम्रो भए पनि सधैं शहर केन्द्रित सेवालाई मात्रै महत्त्व दिन नहुने बताउँछन्। प्रविधिको विस्तारमा ग्रामीण परिवेशलाई ध्यान नदिँदा डिजिटल डिभाइडको खाडल बढ्दै जाने उनले जिकिर गरे। प्रविधि भित्र्याउँदा स्थानीय परिवेश र कन्टेन्टमा ध्यान दिए कनेक्टिभिटी विस्तार गर्न सहज हुने उनले बताए।