काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्ने निर्णय गरेको हो।
यो निर्णयलाई असोज ११ वा १२ गते बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ। कोरोना संक्रमणका कारण चैत २८ र २९ गते हुने साधारणसभा स्थगित भएको थियो। योसँगै लकडाउन र निषेधाज्ञाका कारण पटक/पटक मिति तोकिए पनि साधारणसभा हुन सकेको छैन।
शुक्रबार महासंघको सचिवालय टेकुमा भएको बैठकमा शेखर गोल्छा समूहले दसैं अघिनै साधारणसभा गर्न आग्रह गरेका थिए। तर दसैं अघि साधारणसभा गर्न सकिने अवस्था नभएपछि मंसिरमा सार्ने निर्णय भएको हो। गोल्छा र चन्द्रप्रसाद ढकाल समूह दुवैले मंसिरमा साधारणसभा गर्न सहमत भएका थिए। शुक्रबार साधारणसभाको मोडालिटी र मिति तय गर्न पदाधिकारी बैठक बसेको थियो।