एक अर्बमा किनेको रेलको डिब्बा जनकपुर आउँदा सर्वसाधारणमा उत्साह, व्यापार बढ्नेमा विश्वस्त

बिजमाण्डू
२०७७ असोज २ गते २१:२४ | Sep 18, 2020
एक अर्बमा किनेको रेलको डिब्बा जनकपुर आउँदा सर्वसाधारणमा उत्साह,  व्यापार बढ्नेमा विश्वस्त


Tata
GBIME
Nepal Life

जनकपुरधाम। रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट परीक्षणका लागि शुक्रबार जनकपुरधाम ल्याइएको छ।

६ वर्षको प्रतीक्षापछि कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बोगी तथा ४ सेट इन्जिन परीक्षणका लागि जनकपुरधाम ल्याइएको हो। बिहीबार भारतको जयनगर आइपुगेको नेपाली रेल शुक्रबार दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको छ।

एक अर्बको लागतमा किनिएका दुवै सेट रेलको ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल सेवा संचालनमा ल्याउने तयारी भइरहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले बताए।

दुवै सेट रेल जनकपुरधाम आइसके पनि तत्कालका लागि उद्घाटनको कुनै कार्यक्रम नरहेको महानिर्देशक बलराम मिश्रले बताए। मिश्रले रेल सेटको सुरक्षाका लागि फेरि भारतको जयनगर स्टेसन नै फर्काइने बताए।

दुवै रेलको सेटलाई अत्याधुनिक रूपमा डिजाइन गरिएको छ। भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन गरिएको महानिर्देशक मिश्रले बताए। नयाँ रेलमा १३०० सिट क्षमता छ। विभागका महानिर्देशक बलराम मिश्रले नयाँ रेल डिजेलबाट स्टार्ट हुने जनाए। दुवै रेल सेटमा २/२ वटा इन्जिन छ। अगाडि-पछाडि दुवैतर्फ इन्जिन लगाइएकाले ओहरदोहर गर्नका लागि इन्जिन फेरबदल गर्नुपर्ने झन्झट नरहने महानिर्देशक मिश्रले बताए।

रेल आएपछि सर्वसाधारणमा उत्साह

नेपाल रेलको ब्रोडगेज रेलको नयाँ इन्जिन आइरहेको समाचार सुने लगत्तै शुक्रबार बिहानैदेखि सर्वसाधारणहरुमा उत्साह देखिएको थियो। हजारौंको संख्यामा सर्वसाधारणहरुको भीड देखिएको थियो।

सोही भीडमा ७८ वर्षीय हासिम नदाफ पनि थिए। 'नेपाल रेल फेरि संचालनमा आउने भएपछि हामी धेरै उत्साहित छौं,' उनले भने ‘आफ्नो जिन्दगीमा कोइलाबाट चल्ने ट्रेन देखेँ, स्टिम इन्जिनवाला ट्रेन पनि देखेँ, अब आधुनिक ट्रेन आउने भएपछि निक्कै उत्साहित छु।’

स्थानीय प्रतापकुमार भगतले वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि जस्तो खुशी लाग्छ त्यस्तै खुशी लागिरहेको बताए। उनले रेल्वे संचालनमा आएपछि हामीलाई फेरि रोजगारीको सिर्जना हुनेमा आफू विश्वस्त रहेको पनि सुनाए।

दुई सेट रेल आउँदा स्थानीयहरुले स्वागत गर्नका लागि हजारौँको संख्यामा जनकपुरधामस्थित प्लेटफर्ममा जम्मा भएका थिए।

तत्काल ३५ किलोमिटर रेल मात्रै चल्ने

विसं. १९९४ सालमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लानका लागि रेल्वे लाइनको विस्तार गरेको थियो। त्यो समयमा कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो।

पछि भारत सरकारले १८ वटा बोगीसहित वाष्प इन्जिन सहयोग गरेपछि २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो। पछि न्यारोगेज रेललाइनलाई विस्तार गर्नका लागि २०६१ साल माघ महिनादेखि रेल सेवा बन्द गरिएको थियो।

न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना मात्रै रहेको महानिर्देशक बलराम मिश्रले बताए। भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ।

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।

व्यापार फस्टाउने आशा

भारतको जयनगर हुँदै नेपालको जनकपुरसम्म चल्ने रेलसेवाले अब आम नागरिक र व्यापारीलाई केही राहत दिने विश्वास छ। सञ्चालनको काम तीव्र रूपमा भइरहेकाले जनकपुरका आम सर्वसाधारणदेखि व्यापारीहरुमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ।

‘रेलसेवा शुरु भएपछि भारतको विभिन्न ठाउँबाट मालसमान ल्याउनमा त सहज हुन्छ नै, साथै वर्षैंदेखि ठप्प भएको व्यापार पनि फस्टाउँछ,' व्यापारी अप्पु साहले भने, ‘जनकपुर-जयनगर रेल सञ्चालनले जनकपुरको बजार सस्तो हुनुको साथै व्यापारीहरु आर्थिक रूपले सशक्त पनि हुन्छ।’ रेल सेवा सञ्चालनमा आएपछि व्यापारीहरुको व्यापार बढ्नुका साथै बजार क्षेत्र पनि फस्टाउने र स्वरोजगारीको अवसरहरु सिर्जना हुने उनको भनाइ छ।