समाज लघुवित्तले आइपीओ सूचीकरण गर्न नेप्सेमा प्रतिनिधि नै पठाएन, प्रक्रिया पूरा गर्न ढिलाइ

बिजमाण्डू
२०७७ असोज ५ गते १५:२९ | Sep 21, 2020
समाज लघुवित्तले आइपीओ सूचीकरण गर्न नेप्सेमा प्रतिनिधि नै पठाएन, प्रक्रिया पूरा गर्न ढिलाइ

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भनेको समयमा प्रतिनिधि नै नपठाएपछि असोजको पहिलो सातासम्म सूचीकृत हुने भनिएको समाज लघुवित्तको आइपीओ सूचीकरण ढिला हुने भएको छ। २ लाख कित्ता सेयर सूचीकरण गर्ने योजनामा भए पनि प्रक्रियाका लागि सोमबार लघुवित्तका प्रतिनिधि नै उपस्थित भएनन्।

सेयर सूचीकरणमा ढिलाइ हुँदा सेयरधनीले दोस्रो बजारमा कारोबारका लागि केही समय अझै पर्खनुपर्ने भएको छ। कम्पनीको सेयर सूचीकरणका लागि सबै प्रक्रिया सम्पन्न भए पनि लघुवित्तले प्रतिनिधि पठाउनु अनिवार्य छ। सेयर सूचीकरण नियमावलीमा कम्पनीबाट सम्बद्ध प्रतिनिधि नेप्सेमा उपस्थित भएर मात्र प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।  

नेप्सेले सोमबार साढे १२ बजेसम्म सम्बद्ध प्रतिनिधि उपस्थित गराइदिन कम्पनीलाई पत्र पठाएको थियो। तर सर्लाही केन्द्रिय कार्यालय रहेको कम्पनीबाट अझै केही दिन लाग्ने खबर आएको नेप्सेले जनाएको छ। लघुवित्तको संस्थापकतर्फको १ लाख १४ हजार कित्ता र सर्वसाधारण तर्फको ८६ हजार कित्ता गरी कुल २ लाख कित्ता सूचीकृत हुनेछ।

लघुवित्तले ८६ हजार कित्ता आइपिओ बिक्री गरेको थियो। जसमा ८० हजार ७ सय कित्ता सेयर सर्वसाधारणलाई गत भदौ ४ देखि ८ गतेसम्म बिक्री गरेको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले ८ हजार ७० जनालाई गोलप्रथाबाट १० कित्ताका दरले वितरण गरेको थियो। 
समाज लघुवित्तले संस्थापकहरुबाट १ करोड १४ लाख चुक्ता पुँजी पुर्‍याएको छ भने सर्वसाधारणलाई आइपीओ बिक्री गरी २ करोड पुँजी कायम गरेको छ। 

लघुवित्तको प्रतिसेयर नेटवर्थ १०२.३६ छ। नेप्सेले कम्पनीहरुले दोस्रो बजारमा पहिलो पटकको कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ।