कोरोना संकटमा अवसर खोज्दै वीरगंजका उद्यमी, ११ करोडको लगानीमा खुल्दैछ गार्मेन्ट उद्योग

बिजमाण्डू
२०७७ असोज ५ गते १२:२३ | Sep 21, 2020
कोरोना संकटमा अवसर खोज्दै वीरगंजका उद्यमी, ११ करोडको लगानीमा खुल्दैछ गार्मेन्ट उद्योग

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा क्षेत्रमा  कडाइ भएसँगै उद्यमीहरुले स्वदेशमै सम्भावना खोज्ने क्रम बढेको छ। सीमा क्षेत्र सील भएपछि देशभित्र  स्वदेशी कपडा, जुत्ताचप्पल र खाद्यान्नको व्यापार चम्किएको छ। स्वदेशी उत्पादनको बढ्दो खपतसँगै कोरोना संक्रमणकै बेलामा नयाँ नयाँ अवसर खोज्दै लगानी हुन थालेको हो। कोरोनाकै कारण कतिपय उद्योग बन्द भएका छन् भने कतिपय घाटामा गएको छ। तर कोरोनाले केही नयाँ उद्योग स्थापनाको अवसर पनि खोलेको छ।

कोरोना संक्रमणपछि वीरगंज-पथलैया औद्योगिक कोरिडोरको परवानीपुरमा रहेको नोबेल टेक्सटाइल्स संचालकले होजियारी(गन्जी/कट्टु) तथा तयारी पोसाकको उद्योग स्थापना गर्दैछन्। वीरगंजका अन्य उद्योगीसँग मिेलेर हिमाल टेक्सटाइल्स प्रालि खोल्न लागेका हुन्।  

यो उद्योगमा नोबेलका सञ्चालक विनय साह, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, तेजपाल अग्रवाल, चेतन गाडिया र उनकी श्रीमती माधुरी चौधरी गरी चार जनाको लगानी रहेको छ।

नोबेल टेक्सटाइल्सका सञ्चालक रमेश गाडियाका अनुसार ५ करोडको लगानीमा मेशिन एवं ६ करोडको घर, जग्गा गरी कुल ११ करोड रुपैयाँको लगानी गरी उद्योग स्थापना भएको छ। दुई महिनाभित्र उद्योगबाट उत्पादन सुरु हुनेछ।

उद्योगको निटिङ फेब्रिक कपडा बुन्ने मेसिन चीनबाट आयात गरेको बताउँदै उनले एयर कभरिङको मेशिन स्वीटजरल्यान्डबाट आयात गरिएको जानकारी दिए। विदेशबाट कपडा तस्करी भएर भित्रिने क्रममा अंकुश लागेपछि स्वदेशी उद्योगबाट उत्पादित सामानको माग बढेको बताउँदै त्यही अवसर देखेर लगानी गरेको गाडियाले बताए। उद्योगबाट टिसर्ट, ट्रयाक सुट र लेगिजलगायत उत्पादन हुन्छ।

‘कोरोना महामारी, कपडा र गार्मेन्ट उद्योगको लागि अवसरको रूपमा आएको छ। पहिले भारतबाट तस्करीबाट अर्बौको कपडा बर्सेनि भित्रिन्थ्यो, अहिले त्यस्तो अवस्था नहुनु स्वदेशी उद्योगीका लागि अवसर हो,’ उनले भने, ‘सरकारले केही सहुलियत दिएमा यो संकटको बेलामा पाठ सिकेर हामी कपडा उत्पादनमा आत्मनिर्भर बन्न सक्छौं।’

नयाँ उद्योगको प्लान्टबाट मासिक १० टन धागो र ३५ टन कपडा उत्पादन हुने उनले जानकारी दिए। पूर्ण स्वचालित प्रविधि रहेको सो उद्योगमा प्रारम्भिक चरणमा १२ जना मजदुरले रोजगारी पाउने बताइएको छ।

वीरगंजमा एक/दुईवटा मेसिन गरेर कम्तीमा २० वटा होजियारी उद्योग र ५० वटा जति कपडा उद्योगहरू सञ्चालनमा छन्। उद्योगीले कपडा उद्योगजस्तै गार्मेन्ट उद्योगलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

कपडा उद्योगले ब्याजदरमा ५ प्रतिशत सहुलियत पाउँछन् भने गार्मेन्ट उद्योगलाई अहिले सरकारले सहुलियत दिँदैन। साथसाथै फाइबर आयातमा शून्य प्रतिशत भन्सार महसूल, यार्नमा ५ प्रतिशत र रेडिमेडमा १५ प्रतिशत रहेकोमा रेडिमेड कपडाको आयातमा कम्तीमा १० प्रतिशत थप भन्सार महसुल बढाउँदा रेडिमेड कपडाको आयातलाई घटाएर स्वदेशी कपडा तथा गार्मेन्ट (तयारी पोशाक) उद्योगलाई प्रवर्द्धन गर्न सकिने गाडियाको जिकिर छ।

विगत १५ वर्षदेखि सञ्चालित नोबेल टेक्सटाइल्समा वीरगंजका उद्योगी विनय साह, गणेश लाठ र चेतन गाडियाको लगानी छ।