क्लिन फिड तोकिएकै समयभित्र लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन, ‘ढिला नगर्नू’

बिजमाण्डू
२०७७ असोज ५ गते १४:१४ | Sep 21, 2020
क्लिन फिड तोकिएकै समयभित्र लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन, ‘ढिला नगर्नू’


Tata
GBIME
Nepal Life

काठमाडौं। संघीय संसदको विकास तथा प्रविधि समितिले क्लिन फिड कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। विदेशी च्यानललाई विज्ञापनरहित प्रसारण गर्नुपर्ने यो नियम लागू गराउन लामो समयदेखि रस्साकस्सी चलिरहेको छ। 

समितिको सोमबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी कात्तिक ७ गतेबाट क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ। बैठकमा सहभागी मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले निर्धारित मितिमै क्लिन फिड लागू गर्ने तयारी भइरहेको दाबी गरे। क्लिन फिड नियमनका लागि  सरकारले ल्याएको विज्ञापन नियमन गर्ने ऐन २०७६ राष्ट्रपतिबाट प्रमाणित भइसकेको छ। कार्यान्वयनको चरणमा रहेको उक्त ऐन अनुसार विज्ञापन बोर्ड गठन गर्न समितिले निर्देशन दिएको हो।

समितिले बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भनेको छ। विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रसारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन।

ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बारेमा पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेश गर्न समितिले निर्देशन दिएको छ। समितिमा सोमबार विज्ञहरु र सञ्चार मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलपछि स्वदेशी टेलिभिजनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी च्यानलको प्रसारणमा नेपाली विज्ञापन नराख्न पनि निर्देशन दिएको छ।

ऐन गत वर्ष नै पारित भएको थियो। विज्ञापन नियमन गर्ने उक्त ऐनमा एक वर्षभित्रमा क्लिन फिड लागू गर्ने प्रावधान छ। तर, भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले भदौ अन्तिम साता नेपाल सरकारलाई क्लिन फिड लागू गर्न थप ६ महिना समय माग गर्दै मन्त्रालयलाई पत्र पठाएको थियो।

फाउन्डेसनले कोरोना महाव्याधिका कारण प्राविधिक एवं व्यवस्थापकीय कार्यमा समस्या परेको भन्दै अहिलेको संकटबाट सामान्य अवस्थामा फर्किएपछिको थप ६ महिना समय उपलब्ध गराउन पत्राचार गरेको थियो।