बुद्धपछि यती एयरलाइन्सको घुम्ने प्याकेज, एभरेष्ट ट्रेल १४ हजार रुपैयाँ, रारा २५ हजार रुपैयाँ

बिजमाण्डू
२०७७ असोज ५ गते १६:२८ | Sep 21, 2020
बुद्धपछि यती एयरलाइन्सको घुम्ने प्याकेज, एभरेष्ट ट्रेल १४ हजार रुपैयाँ, रारा २५ हजार रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिडका कारण थलिएको पर्यटनलाई उकास्ने उदेश्यसहित यती एयरलाइन्सले हवाई उडानसँगै विभिन्न पर्यटकीय गन्तब्यसहितो आकर्षक प्याकेज योजना ल्याएको छ।

बुद्ध एयरपछि यतिले अझ वृहत प्याकेज ल्याएको छ। बुद्धले चितवन र पोखरा लक्षित प्याकेज ल्याएको थियो। कम्पनीले ‘आन्तरिक पर्यटनका लागि सँगैसँगै’ भन्ने नाराका साथ होटल, ट्राभल्स, ट्रेकिङ एजेन्सीको सहकार्यमा टुर प्याकेज ल्याएको हो। अक्टोबरदेखि कम्पनीले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमणको प्याकेज सुरु गर्नेछ। कम्पनीले पोखरा, विराटनगर, नेपालगंज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुमलिङटार लगायत गन्तब्य देखि काठमाडौं भ्रमणका लागि प्याकेज तयार गरेको छ।

‘अहिले तत्काल भ्रमणका लागि विदेशी पर्यटक आउने सम्भावना न्यून छ। ट्राभल एजेन्सी, यातायात, होटल लगायतको सहकार्यमा आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिएका हौँ,’ यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले भने।

कम्पनीले सार्वजनिक गरेको भ्रमण प्याकेजमा यात्रुले दुईतर्फी हवाई टिकट, होटलमा खानेबस्ने, यातायात, टुर गाइड लगायत व्यवस्था गरिएको जनाएको छ।

‘अब एयरलाइन्स उड्नमात्र होइन घुम्न पनि’ नारा अन्तर्गत यो प्याकेज लिने पहिलो एक सय जना यात्रुले आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ।  

यस्तो छ कम्पनीले तयार गरेको टुर प्याकेज

एभरेष्ट ट्रेलका लागि कम्पनीले चार रात पाँच दिनको प्याकेज बनाएको छ। ट्विन सेयरिङ अन्तर्गत प्रति व्यक्ति १४ हजार रुपैयाँ कायम गरिएको छ। यो प्याकेज हरेक सोमबार, बुधबार र शुक्रबारका लागि लागु गरिने कम्पनीले जनाएको छ। यात्रुले लुक्ला, फाकदिङ, नाम्चे लगायत गन्तब्यमा जम्मा १८ घण्टाको पदयात्रा गर्न सक्नेछन्।

दुई रात तीन दिन अन्तर्गत रहेको रारा भ्रमण प्याकेजका लागि प्रति व्यक्ति २५ हजार रुपैयाँ कायम गरिएको छ। यात्रुले यो प्याकेज अन्तर्गत रारा ताल भ्रमण, मुर्मा टप हाइकिङ, भिलेज टुर लगायत व्यवस्था रहेको छ।

दुई दिन तीन रात पोखरा भ्रमणका लागि कम्पनीले होटलको स्तर (तीन तारे देखि चार तारे होटल) अनुसार छ हजार रुपैयाँ देखि आठ हजार रुपैयाँसम्मको मूल्य निर्धारण गरेको छ। जंगल सफारी चितवन भ्रमण प्याकेजका लागि कम्पनीले पर्यटक स्तर होटल देखि चार तारे होटल सुविधा अनुसार प्रति व्यक्ति १३ हजार रुपैयाँ देखि १७ हजार रुपैयाँ सम्मको प्याकेज सार्वजनिक गरेको छ। दुई रात तीन दिनको यो प्याकेज अन्तर्गत यात्रुले क्यानोइङ राइड, हात्ती सफारी, नेचल वाक, थारु कल्चर सो लगायतको अनुभव लिन सक्ने जनाइएको छ।

मुक्तिनाथ भ्रमण प्याकेजका लागि कम्पनीले तीन रात चार दिनको समयावधि तोकेको छ। प्रति व्यक्ति १३ हजार रुपैयाँ कायम गरिएको यो भ्रमण प्याकेज अन्तर्गत यात्रुले काठमाडौं-पोखरा-जोमसोम-पोखरा-काठमाडौं चार हवाई उडान र जीप यात्रामार्फत मुक्तिनाथ दर्शन गर्न सक्नेछन्।

मुक्तिनाथ दर्शन जोमसोम (हाइ) प्याकेज चार दिन पाँच रातका लागि बनाइएको छ। कम्पनीले प्रति व्यक्ति १७ हजार रुपैयाँ शुल्क कायम गरेको छ। अन्नपुर्ण फुटहिल्स ट्रेल घान्द्रुक का लागि कम्पनीले प्रति व्यक्ति १२ हजार रुपैयाँ कायम गरेको छ। पाँच रात छ दिनको प्याकेज अन्तर्गत यात्रुले धम्पु-लान्द्रुक, लान्द्रुक-घान्द्रुक लगायत क्षेत्रमा जम्मा साढे सात घण्टाको पदयात्रा गर्न सक्नेछन्।

यसैगरी अन्नपुर्ण लक्जरी घान्द्रुक ट्रेक अन्तर्गत यात्रुले लुम्ले-माजगाउ, माजगाउँ-घान्द्रुक लगायत गन्तब्यमा जम्मा साढे सात घण्टा पदयात्रा गर्न सक्नेछन्। यो प्याकेजका लागि प्रति व्यक्ति २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। कम्पनीले सार्वजनिक गरेको भ्रमण प्याकेज अन्तर्गत यात्रुले दुईतर्फी हवाई टिकट, होटलमा खानेबस्ने, यातायात सुविधा छ।