कोभिड अवधिभर सार्वजनिक यातायात संचालन गर्न आयो मापदण्ड, यात्रुले यस्तो अपनाउनुपर्नेछ सावधानी

बिजमाण्डू
२०७७ असोज ६ गते ०९:०९ | Sep 22, 2020
कोभिड अवधिभर सार्वजनिक यातायात संचालन गर्न आयो मापदण्ड, यात्रुले यस्तो अपनाउनुपर्नेछ सावधानी

Tata
GBIME
Nepal Life

काठमाडौं। यातायात व्यवस्था विभागले कोभिड-१९ संक्रमण अवधिभर सार्वजनिक सवारी साधन निर्देशिका सार्वजनिक गरेको छ। लामो दुरीका सार्वजनिक यातायात संचालनमा आएको चार दिनपछि विभागले निर्देशिका जारी गरेको हो।

विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य मन्त्रालयको प्रोटोकलसँगै विभागले तयार पारेको निर्देशिका अनिवार्य पालना गर्नुपर्ने बताए। विभागको निर्देशिकामा बसहरुमा संक्रमणविरुद्धको सतर्कतालाई विशेष ध्यान दिनुपर्ने उल्लेख छ भने सवारी चालक, सहचालक र यात्रुको कर्तव्य समेत प्रष्ट रुपमा तोकिएको हमालले बताए।

निर्देशिका अनुसार यातायात व्यवसायी/कम्पनी/व्यवस्थापकले प्रत्येक ट्रीपपिच्छे यात्रु सीटहरुको सरसफाइ तथा निर्मलीकरण, सामाजिक दुरी, क्षमताको ५० प्रतिशत मात्रै यात्रु, यातायात संचालन पूर्वनिर्धारित समय तालिका अनुसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

यातायात सेवामा कार्यरत कर्मचारी चालक सहचालक लगायतको प्रत्येक खेप( ट्रीप) सुरु हुनेवेला र दिनमा कम्तीमा दुई पटक तापक्रम नाप्ने, यात्रुहरुलाइ सेनिटाइजर उपलब्ध गराउने, भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्न क्यासलेस प्रविधि अपनाउने  र सम्भव नभए भाडा संकलन बाकस व्यवस्था गर्नुपर्छ।

चालक कक्ष र यात्रुलाई उपयुक्त खालको प्लाइबोर्ड वा बाक्लो किसिमको प्लाष्टिक सीटबाट छुट्याउने, यात्रुको सूची बनाइ स्थानीय प्रशासनलाई उपलब्ध गराउने र एक प्रति साथमा राख्ने, जनचेतनामूलक सामग्री टाँस्ने लगायतका व्यवस्था गर्नुपर्नेछ।

चालक र सहचालकले अनिवार्य रुपमा मास्क भाइजर र पञ्जा लगाउनुपर्नेछ। यात्रु चढ्ने र पुग्ने स्थानबाहेक कतैपनि सवारी रोक्न चढाउन र ओराल्न पाइने छैन। कार्य समयमा प्रयोग गरेको कपडा साबुन पानीले धुने र घाममा सुकाउने गर्नुपर्छ। भाडा संकलन गर्दा भौतिक दुरी कायम गर्ने, सेवामा रहँदा धुम्रपान नगर्ने, अनिवार्य रूपमा देखिने गरि परिचयपत्र लगाउनुपर्छ। बसमा वातावरण अनुकुलित एयर कन्डिसन प्रयोग नगर्ने लगायतका काम गर्नुपर्नेछ।

यात्रुहरुहरुलाई अतिआवश्यक कार्य र पैदलयात्रा सम्भव नभएको अवस्थामा मात्र सार्वजनिक यातायात सेवाको प्रयोग गर्न आग्रह निर्देशिकामा गरिएको छ। अशक्त कमजोर शारिरिक अवस्था भएका यात्रुले सकभर सार्वजनिक यातायात प्रयोग नगर्न भनिएको छ। अनिवार्य रूपमा मास्क वा कपडाले नाक मुख छोप्ने कसैले नछोपेको पाए सतर्क गराउने, सवारी साधन भित्र सार्वजनिक स्थल टर्मिनल बस बिसौनीमा खानेकुरा नखाने, भौतिक दुरी कायम राख्ने, तोकिएको सीटमा मात्र बस्ने लगायतको नियम पालना गर्न भनिएको छ।

निर्देशिकाको कडाइका साथ पालना भएको छ वा छैन भनेर अनुगमन हुनेछ। यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक प्रहरीको सयुक्त टोलीले अनुगमन गर्नेछन्।