उद्योगले कारोबारको विवरण उद्योग विभागमा पनि बुझाउनुपर्ने, पुससम्मको समयसीमा

बिजमाण्डू
२०७७ असोज ६ गते ०९:१५ | Sep 22, 2020
उद्योगले कारोबारको विवरण उद्योग विभागमा पनि बुझाउनुपर्ने, पुससम्मको समयसीमा

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्योगहरुले वर्षभरी गरेको कारोबारको विवरण पुसभित्र बुझाउनुपर्ने भएको छ। गत उद्योग विभागले आर्थिक वर्ष २०७६/७७ मा गरेको कारोबारको विवरण पुसभित्र बुझाउनुपर्ने जनाएको छ।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १३ बमोजिम प्रत्येक उद्योगले व्यवसायीक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र विभागमा पेश गर्नु पर्छ।

उद्योगीहरुले कारोबारको विवरण विभागमा पेश गर्नुपर्ने विभागका कानुन शाखा प्रमुख टंकबहादुर महतले बताए। उनका अनुसार व्यवसायीले अब कानुन अनुसार पुस मसान्तसम्म बुझाउनु पर्नेछ। उनले भने 'कानुनको ज्ञान नहुँदा व्यवसायीहरु कारबाहीमा पर्ने गरेका छन्। त्यसैले हामीले अलि छिट्टै सूचना जारी गरेका हौं।'

कानुन अनुसार तोकिएको विवरण समयावधि भित्र उपलब्ध नगराएमा उद्योग दर्ता गर्ने निकायले ऐन को दफा ४३ को ५ बमोजिम जरिवाना लिन सक्ने व्यवस्था छ। उद्योगहरुले यो विवरण अनलाइन प्रणालीबाट नै बुझाउन सक्नेछन्।

विभागमा उद्योगीले उद्योगको नामसारी, ठाउँसारी, पुँजी वृद्धि, क्षमता वृद्धि लगायतका विभिन्न कार्य गर्न आउनु पूर्व अनिवार्य रूपमा तोकिएको विवरण अनलाइन प्रविष्ट पनि गर्नु पर्नेछ।