वाणिज्य बैंकहरुको निक्षेप जीडीपीको ९३.३४%, असार मसान्तको तुलनामा ऋण १० अर्ब वृद्धि

बिजमाण्डू
२०७७ असोज ६ गते ०९:३८ | Sep 22, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनयता वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब २७ अर्ब रुपैयाँले बढेको छ। सरकारले चैत ११ गतेबाट लकडाउन गरेको थियो। यो अवधिमा ऋण लगानी भने ६८ करोड रुपैयाँ मात्र भएको छ।

लकडाउनभरी बैंकहरुले खासै ऋण दिन सकेनन्। भएको नै बरु गुमाए। तर पछिल्लो समय भने बैंकहरुको ऋण केही बढ्न थालेको छ।

गत साता मात्रै बैंकहरुको ऋण ९ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप २१ अर्ब रुपैयाँले बढेर ३५ खर्ब १६ अर्ब पुगेको छ।

अहिले हाम्रो देशको कुल अर्थतन्त्रको आकार (अनुमानित) ३७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ छ। यस हिसाबले कुल जीडीपीको ९३.३४ प्रतिशत बैंकहरुको निक्षेप हुन आउँछ। ऋणको हिस्सा ७७.३४ प्रतिशत हुन आउँछ। 

वाणिज्य बैंकसहित विकास बैंक र फाइनान्स कम्पनी पनि जोड्ने हो भने अहिले कुल निक्षेप जीडीपीको १०४.४५ प्रतिशत र ऋण ८६.४६ प्रतिशत हुन आउँछ। 

राष्ट्र बैंकका अनुसार, गत असार मसान्तको तुलनामा ऋण लगानी जम्मा १० अर्बले बढेको छ। असारमा २९ खर्ब ३ अर्ब रुपैयाँ रहेको ऋण अहिले २९ खर्ब १३ अर्ब नाघेको छ। निक्षेप भने २९ अर्बले बढेको छ।