दसैंमा पर्यटक आउने आशामा सफाईमा जुटे सौराहाका व्यवसायी, पुरानै अवस्थामा पुग्न २ वर्ष लाग्ने

बिजमाण्डू
२०७७ असोज ६ गते १३:३३ | Sep 22, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु बिस्तारै खुल्दैछन्। व्यवसायीहरुले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । त्यसको मारमा परेका व्यवसायीहरु अब भने बिस्तारै व्यवसाय संचालनको तयारी गर्दैछन्।

पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत संचालनमा आएका छन्  जसका कारण फेरिपनि पर्यटन क्षेत्रको चहलपहल बढ्ने विश्वास गरिएको छ।

चितवनको सौराहा  देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटल सञ्चालनको तयारीमा छन्।

लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए।

तत्काल पर्यटकहरु आउने सम्भावना नभएपनि सबै मापदण्ड पूरा गरेर होटल संचालन गर्न लागिएको उनले बताए।

चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुईबर्ष लाग्ने समेत भट्टराईको भनाई छ । बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकोले केही आन्तरिक पर्यटक आउने आशमा उनीहरु छन् ।

व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पुँजीको अभाव भएको पनि व्यवसयीहरुले बताए ।

होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफुहरु व्यस्त रहेको बताए।

उनले होटल सुरु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताए।
चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् ।

सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भएपनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट संचालन गर्न लागिएको व्यसायीहरु बताउँछन् ।