लगातार दोस्रो दिन सेयर बजार ओरालो, सूचक झन्डै २३ अंक घटे पनि कारोबार रकम भने बढ्यो

बिजमाण्डू
२०७७ असोज ६ गते १६:२० | Sep 22, 2020
लगातार दोस्रो दिन सेयर बजार ओरालो, सूचक झन्डै २३ अंक घटे पनि कारोबार रकम भने बढ्यो


Tata
GBIME
Nepal Life

काठमाडौं । मंगलवार  १२ वटै उपसूचकहरु रातो बन्दा सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा ओर्लिएको छ ।

कारोबार सुरु हुँदा १५७६.५५ विन्दु रहेको सेयर बजार म‌ंगलबार अन्तिम समयसम्मै निरन्तर घटेर बन्द भयो । नियमित कारोबार सुरुको सवा एक घन्टा बित्दा करिब १५५५ विन्दुमा झरेको सूचक त्यसपछि झन्डै आधा घन्टासम्म पुनः सुध्रने संकेत देखाउँदै १५६४ अंकनजिकसम्म फर्किएको भए पनि सोपछि भने ओरालो लागेर कुनै पनि समय उठ्न सकेन ।

बेच्ने लगानीकर्ता हाबी भएको मंगलबारको सेयर बजारमा परिसूचक घटेको भए पनि कारोबार रकम भने सोमबारको तुलनामा झन्डै १७ करोडले बढेको छ । सोमबार २ अर्ब ६३ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको थियो भने मंगलबार यो २ अर्ब ८१ करोडभन्दा बढीको भएको छ । यो रकम १९९ कम्पनीको ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेचको हो ।

मंगलबार शिखर इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै रकम (करिब रु. ३१ करोड ८८ लाख) को भएको छ । शिखरले अघिल्लो आवको नाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको सूचना दिएसँगै यसको सेयर मूल्य एकैदिनमा ४५ रुपैयाँले घटेको हो ।

शिखरपछि दोस्रोमा धेरै रकमको कारोबार नेपाल बैंकको सेयरको भएको छ । नेपाल बैंकको १९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस्तै, युनाइटेड फाइनान्सलाई वाणिज्य बैंकले प्राप्ति गर्ने हल्ला बजारमा आएसँगै सोमबार पनि १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । उक्त फाइनान्सको मूल्य मंगलबार पनि केही समयमै सर्किट लागेको थियो । बजार बन्द हुने बेलामा भने यस फाइनान्सको सेयर मूल्य सोमबारको बाट ८.१८ प्रतिशत बढेर प्रतिकित्ता २३८ पुगेको छ ।

अर्कोतर्फ, दोस्रो बजार (नेप्से) मा साधारण सेयर सूचीकृत भएको दिनदेखि नै ओरालो लागेको लिवर्टी इनर्जीको सेयर मूल्यमा मंगलबार पनि नकारात्मक सर्किट लाग्यो । 

समग्रमा मंगलबार कारोबार भएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढ्यो भने १५५ कम्पनीको घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।