भोजपुरमा करदाता सेवा कार्यालय संचालनमा आयो, चालु आवमा १० करोड राजस्वको लक्ष्य

बिजमाण्डू
२०७७ असोज ६ गते १६:१२ | Sep 22, 2020

Tata
GBIME
Nepal Life

विराटनगर। प्रदेश १ को पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजारमा सोमबार करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको छ।

सुनसरीको धरानस्थित आन्तरिक राजस्व कार्यालयको मातहतमा रहने गरी भोजपुरमा करदाता सेवा कार्यालयको सञ्चालन सुरु गरिएको हो।
धरानस्थित आन्तरिक राजस्वका मातहतमा संखुवासभाको खाँदबारी र धनकुटामा पनि करदाता सेवा कार्यालय सञ्चालनमा छन्।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले सोमबार कार्यालय सञ्चालन भएको घोषणा गरे। कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार जिल्लामा मझौला स्तरका करदाता ३ सयको संख्यामा छन् । यस्ता करदातामध्ये कोही घरेलु उद्योग र कोही व्यापार गर्ने छन् । घरेलु उद्योगमा बिस्कुट, खुकुरी, खाद्यान्न र भाँडाकुँडाका उद्योग सञ्चालित छन् ।

यसबाहेक २० लाखभन्दा कमको कारोबार गर्ने साना करदाताको सङ्ख्या ३ हजार ३ सय १४ छ । कार्यालयले दुवै खाले करदाताबाट चालु आर्थिक वर्षमा १० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रमुख पौडेलले हालसम्म भोजपुरका करदाताले धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारमा रहेको करदाता सेवा कार्यालयबाट कर सम्बन्धी सेवा पाइरहेको बताए ।

उनले अब भोजपुरकै कार्यालयबाट राजस्वसम्बन्धी सम्पूर्ण सेवा दिन सकिने स्पष्ट पारे । समारोहमा आन्तरिक राजस्व कार्यालय सुनसरी धरानका प्रमुख तीर्थराज बराल र उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुवलाल श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।