कोभिडले आय खुम्चिँदा घरजग्गा बेच्ने बढे, बजारमा सक्रियमध्ये ७५% बिक्रेतानै, घट्ला मूल्य ?

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ असोज ६ गते १७:१४ | Sep 22, 2020
कोभिडले आय खुम्चिँदा घरजग्गा बेच्ने बढे, बजारमा सक्रियमध्ये ७५% बिक्रेतानै, घट्ला मूल्य ?

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना र यसको नियन्त्रणका लागि भनेर सरकारले लगाएको लकडाउन तथा निषेधाज्ञाले आर्थिक क्रियाकलाप असहज हुँदा आम्दानीमा चाप पर्दै गएपछि घरजग्गा बिक्री गर्न खोज्ने बढेका छन्।

कोभिड-१९ प्रभावले घरजग्गा बजारको मन्दी झनै गहिरिएपछि घरजग्गा विकास तथा बिक्रीको व्यवसायमा हुनेलाई यसको नराम्रो असर परेको छ। घरजग्गाको खुद्रा किनबेच पनि यसबाट प्रभावित बनेको रियल इस्टेट कारोबारसँग सम्बन्धितहरुले बताएका छन्।

सरकारले चैत ११ बाट झन्डै तीन महिना गरेको देशव्यापी लकडाउन र भदौबाट पुनः देशका विभिन्न ठाउँमा लागेको निषेधाज्ञाले घरजग्गा कारोबार समेत प्रभावित बनेको हो। पछिल्लो ६ महिनाको अवधिमा जग्गा रोक्का-फुकुवा गर्ने क्रम एक हदसम्म देखिएको भए पनि किनबेच भने ठप्प नै छ।
निषेधाज्ञा खुकुलो भएसँगै अहिले घरजग्गा बजारमा केही चहलपहल देखिन थालेको छ। तर, खरिद गर्न खोज्ने अत्यन्त न्यून छन् भने बिक्री गर्नेको चाप अत्यधिक बढेको घरजग्गा बजार निकटहरुले बताएका छन्। 

रियल इस्टेट बजारलाई नियालिरहेका र कारोबारसँग प्रत्यक्ष सम्बन्धित रहेका एजेन्टहरुको पछिल्लो अनुभवमा अहिले घरजग्गा किन्नेभन्दा बेच्ने कम्तिमा तीन गुणा बढी छन्। रियल इस्टेट एजेन्सी कम्पनी द रियलटर्सका उपाध्यक्ष दिलिप न्यौपानेका अनुसार अहिले घरजग्गा किनबेच गर्न खोज्नेमा ७५ प्रतिशत बिक्री गर्न चाहने नै छन् भने किन्न खोज्ने २५ प्रतिशत मात्र।

घरजग्गामा लगानी गरेकाहरुले अम्दानीका स्रोत खुम्चिँदा बैंकको किस्ता तिर्नै नसक्ने भएपछि बिक्री गर्न खोज्नेहरु अहिले धेरै रहेको न्यौपानेको भनाइ छ। 

प्लटिङ गरेका जग्गाका साथै घर किनबेचको व्यवसाय गर्नेहरुले बैंकको किस्ता तिर्नै नसक्ने भएपछि प्रोपर्टी होल्ड गर्न नसक्ने अवस्था आएको घरजग्गा कारोबारको अनलाइन प्लेटफर्म बसोबास डटकमका सह-सञ्चालक बिनित शर्मा बताउँछन्। 

'ऋणको किस्ताले च्यापेपछि अप्ठ्यारो पर्ने देखेर धेरैले धमाधम प्रोपर्टी बिक्री गर्न खोजेको देखिन्छ,' शर्माले भने। उपत्यकामा रहेका हाउजिङ तथा अपार्टमेन्ट युनिट बेच्न खोज्नेको संख्या पनि पछिल्लो समय बढेको उनको भनाइ छ।

द रियलटर्सका न्यौपाने भन्छन्, 'यतिबेला लगानीका अन्य क्षेत्रहरु खुम्चिएकाले आवश्यकता हुनेभन्दा पनि मन्दीमा किनेर पछि बढी नाफा बुक गर्न सकिन्छ भन्ने सोचले पैसा प्रशस्त हुने सीमित व्यक्तिहरुले घरजग्गामा लगानी गरिरहेका छन्।' आयस्रोत नै प्रभावित बनेका व्यक्तिहरु भने घरजग्गा आवश्यक भएर पनि 'पर्ख र हेर' को अवस्थामा रहेको उनको ताजा अनुभव छ।

कोभिड प्रभावले अर्थतन्त्र लयमा फर्किन लामो समय लाग्ने अनुमान गरिएकाले घरजग्गाको मूल्य अझै घट्ने अपेक्षामा उपभोक्ताहरु लगानी गर्ने समय कुरेर बसेको न्यौपानेसहित अन्य रियल इस्टेट एजेन्टहरुले पनि बताए। ६ महिना बितिसक्दा पनि कोभिड-१९ को जोखिम अझै कम नभएकाले घरजग्गा खरिदकर्ताको मनोबल उठ्नै नसकेको उनीहरुको भनाइ छ। 

निषेधाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ऋणको किस्ताका लागि ताकेता बढाएका छन्। बैंकले च्याप्न थालेपछि अन्य आयस्रोत र बचत बलियो नभएका ब्यक्ति तथा संस्थागत लगानीकर्ता दुवैले ऋण वा किस्ता तिर्नकै लागि घरजग्गा बेच्न चाहेको रियल इस्टेट बजारका जानकारहरुको विश्लेषण छ।

ग्लोबल आईएमई बैंकका सीईओका रत्नराज बज्राचार्यको भनाइ पनि यससँग मिल्दोजुल्दो छ। उनी भन्छन् 'ऋणीहरुको आयस्रोत नै प्रभावित भएकाले ऋण तिर्नकै लागि घरजग्गा बेच्ने अवस्था आएको हुन सक्छ।' यद्यपि घरकर्जा लिएका ज्यादै न्यून ग्राहकले मात्रै किस्ताको संख्या वा समय थप्न बैंकमा सम्पर्क गरेको उनले बताए। 

अहिले कर्जाको ब्याजदर घटेकाले पनि होम लोन लिएका उपभोक्तालाई राहत पुग्ने भए पनि ऋण तिर्नै अफ्ठ्यारो परेका उपभोक्तालाई कसरी साथमा लैजाने भन्ने विषयमा भने बैंकहरु पनि जिम्मेवार हुनुपर्ने बज्राचार्यको भनाइ छ।

यससँगै, पहिले लिएको महँगो कर्जा सस्तोमा स्वाप गर्न खोज्ने प्रवृत्ति पनि पछिल्लो समय बढेको अनुमान गरिएको छ। 

बजार सुस्त भए पनि मूल्य उस्तै
घरजग्गा बजार सुस्त हुँदा तत्कालको आर्थिक अप्ठयारो सुल्झाउन घरजग्गा बिक्री गर्नेको संख्या बढे पनि मूल्य भने स्थिर नै रहेको घरजग्गा ब्रोकरहरुले जानकारी दिए। घरजग्गाको मूल्य पहिलेजस्तो नबढेको भए पनि घट्ने सम्भावना भने निकै कम रहेको उनीहरुको भनाइ छ। 

लकडाउनको समयमा मालपोत लगायतका सरकारी कार्यालय बन्द रहेकाले ‌घरजग्गा कारोबार ठप्प थियो। लकडाउन खुकुलो भएपछि भने घरजग्गा किनबेच र बजार चहलपहल तुलनात्मक रूपमा केही बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकबाट देखिन्छ।

सामान्यतया महिनामै ५० देखि ५५ हजार वटा घरजग्गा कारोबार हुने गरेको भए पनि गत तीन महिनामा यो संख्या करिब एक लाख मात्रै रहेको विभागको तथ्यांक छ। जसमध्ये असारमा ४३ हजार, साउनमा ३७ हजार र भदौमा १५ हजार घरजग्गा किनबेच भएको हो। 

लकडाउनका कारण तीन महिना रोकिएको कारोबार असारयता थोरै भए पनि अवस्था सहज बनेकाले पनि पछिल्लो समय घरजग्गा बिक्री गर्न खोज्नेको संख्या बढेको देखिन्छ।