युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले आजदेखि स्थानीयलाई आइपीओ बिक्री गर्दै 

बिजमाण्डू
२०७७ असोज ७ गते ०९:४४ | Sep 23, 2020
युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले आजदेखि स्थानीयलाई आइपीओ बिक्री गर्दै 

Tata
GBIME
Nepal Life

काठमाडौं। युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले बुधबार (आज) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख २० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) बिक्री खुला गरेको छ। 

कम्पनीको आइपीओ छिटोमा २१ गतेसम्म  र सबै कित्ता सेयर बिक्री नभएमा ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले निष्कासन गरेको सेयरमा प्रतिकित्ता १०० रुपैयाँमा न्यूनतम १० कित्ता र अधिकत्तम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। यसअघि कम्पनीले चैत १० देखि आइपीओ निष्कासनको तयारी गरेको थियो।

तर, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र त्यसपछि स्थानीय प्रशासनहरूले गरेको निषेधाज्ञाले मिति पछि सारिएको थियो। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको दुई महिनाभित्र आइपीओ सार्वजनिक गर्नुपर्ने थियो। तर निष्कासन गर्न नसकेकाले कोभिड-१९ को असर समेत समावेश गरी संशोधित वित्तीय विवरण नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराइएको कम्पनीले जनाएको छ। 

कम्पनीले संस्थापकबाट ७५ प्रतिशत सेयर स्वामित्व कायम गरी चुक्ता पुँजी ३१ करोड ५०  लाख कायम गरेको छ। कम्पनीले अब १० प्रतिशत स्थानीय र १५ प्रतिशत सर्वसाधरणबाट सेयर कायम गरी १०० प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो। कम्पनीले जारी पुँजीको २५ प्रतिशत आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो। कम्पनीले स्थानीयलाई र सर्वसाधारणलाई गरी जम्मा १० लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ।

सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ। उक्त आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४२ करोड पुग्नेछ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओले केयर रेटिङ नेपालबाट ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको प्रति मेगावाट लागत २० करोड ३९ लाख ७६ हजार १४२ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.९६ वर्ष रहेको छ।

कम्पनीको प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ८५.८२ रुपैयाँ छ। आव २०७७/७८ मा प्रतिसेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।