स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमितका लागि पोषण निर्देशिका बनायो, कस्तो खाना खाने

विधुर ढकाल/बिजमाण्डू
२०७७ असोज ७ गते ०९:३४ | Sep 23, 2020

Tata
GBIME
Nepal Life

 

काठमाडौं। नेपालमा हालसम्म कोभिड-१९ संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। संक्रमण पुष्टि भएमध्येका ८ हजार ६९० जना हाल होम आइसोलेसनमा छन् भने ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म कोभिड-१९ को उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भइसकेको छैन। यस्तो अवस्थामा संक्रमितहरुको शारीरिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको विकल्प छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितहरुका लागि पोषण सम्बन्धी अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट भदौ २९ गते स्वीकृत निर्देशिकामा संक्रमणको दर, जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको भन्दै कोभिड-१९ बाट संक्रमितहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक भएको उल्लेख छ।

'उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउनुका साथै संक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउदछ,' निर्देशिकामा भनिएको छ, 'हरेक संक्रमित व्यक्तिहरुको पोषण अवस्था विश्लेषण गरी पोषण अवस्थाको आधारमा उचित आहार तथा पोषण व्यवस्थापनको रणनीति र लक्ष्य तय गर्नु पर्दछ। साधारण खानामा आवश्यकता अनुसार परिमार्जन गरी (नर्मल मोडिफाइड डाइट) संक्रमित व्यक्तिको पोषण व्यवस्थापन गर्न सकिन्छ।'

कोभिड-१९ को संक्रमण भएर घरमै आइसोलेसनमा बसेका, लक्षण देखिएका-नदेखिएका, अस्पतालमा भर्ना भएका, जटिलता बढी भएकादेखि विभिन्न दीर्घ रोग भएका संक्रमितहरु समेतको पोषण व्यवस्थापनका लागि निर्देशित गरिएका बुँदा उपयोगी हुने निर्देशिकामा उल्लेख छ।

त्यस्तै संक्रमण नभएका व्यक्तिहरुका लागि पनि निर्देशिकामा पोषणसम्बन्धी सिफारिस गरिएका व्यवहारहरु सहयोगी हुने पनि उल्लेख छ।

निर्देशिकामा उमेर समूह, दीर्घरोगको अवस्थालाई आधार मानि विभिन्न 'मेनु' तयार भएका छन्।

कोभिड-१९ संक्रमित ६० वर्ष माथिका व्यक्तिहरुका लागि उक्त उमेरमा मानसिक, शारीरिक परिवर्तन तथा मेटाबोलिज्ममा आएको परिवर्तनका कारणले खानामा रुचि कम भई कुपोषित हुने जोखिमका साथै रोग प्रतिरोधात्मक क्षमतामा कमि आइरहेको हुन्छ। विभिन्न खालका दीर्घ रोगका कारणले यस उमेर समूहमा कोभिड-१९ को संक्रमण र मृत्युको जोखिम पनि अन्य उमेर समूहको तुलनामा उच्च रहेको पाइएकाले उचित खानपान र जीवनशैलीमा विशेष ध्यान दिन जरुरी रहेको निर्देशिकामा उल्लेख छ।

कोभिड-१९ संक्रमित, अन्य दीर्घ रोग नभएका ६० वर्ष माथिका व्यक्तिहरुका लागि सिफारिस गरिएको आहार:

१. खानामा दैनिक कार्बोहाइड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानु पर्दछ।

२. प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। शरीरमा मांसपेशीहरु निर्माण गर्ने लगायतका कार्य गर्ने भएकाले अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता प्रोटिनयुक्त खानेकुरा खानु पर्छ।

३. टुसा उम्रेका गेडागुडीमा आइरन, भिटामिन सी जस्ता सुक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्ने हुनाले टुसा उमारिएको गेडागुडी नियमित खाने।

३. फर्मेन्टेड खानेकुराहरु जस्तैः दही, मोही, गुन्द्रुक, सिन्की, मस्यौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता सुक्ष्म पोषक तत्व, प्रो-बायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक खाने।

४. दैनिक मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने।

५. दैनिक कम्तिमा २ लिटर पानी पिउने।

६. बिहान-बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने।

७. चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।

८. यो उमेरमा खानामा रुचि कम हुन सक्ने भएकाले पटक पटक (दैनिक ४-६ पटक) थोरै-थोरै मात्रामा खाने।

९. ६० वर्षमाथिको उमेरमा हाड कमजोर हुन सक्ने भएकाले क्याल्सियम तत्व बढी पाइने खानेकुराहरु जस्तैः दूध, दही, मोही, दूधबाट बनेका परिकारहरु पनिर, केफिर, छेना आदि नियमित खाने।

१०. रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने। भिटामिन ए, भिटामिन सी, भिटामिन इ, जिलजस्ता पोषक तत्वहरुलाई रोग प्रतिरोधी क्षमता बढाउने पोषकका रूपमा लिइन्छ। जसका स्रोतहरु निम्न बमोजिम छन् : –

भिटामिन 'ए' का स्रोतहरु : मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दूध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि।

भिटामिन 'सी' का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफूल तथा पालकजस्ता हरिया सागपात आदि।

भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।

जिंकका स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासु आदि। ११. दैनिक कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक व्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक नाचगान जस्ता मनोरन्जन गर्ने।

१२. धेरै नुन वा चिनी भएका बजारिया खानेकुरा नखाने।

१३. बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने।

१४. कार्बोनेटेड पेय पदार्थहरु नखाने।

१५. चिल्लो, तारेको खानेकुराहरु नखाने।

१६. धुम्रपान तथा मद्यपान नगर्ने।

निर्देशिकामा कोभिड-१९ संक्रमणका विभिन्न लक्षणहरु देखिएमा गर्नुपर्ने पोषण ब्यवस्थापनका बारेमा पनि उल्लेख छ। त्यस्तै आइसीयु वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीका लागि व्यक्तिगत लेखाजोखा र डाइटिसियनको परामर्श लिनुपर्ने भनिएको छ।

निर्देशिकामा २० वर्षदेखि ६० वर्ष उमेर समूहका फरक फरक प्रकृतिका संक्रमितहरुका लागि पनि छुट्टै मेनु तयार छन्। त्यस्तै महिला तथा गर्भवती महिला तथा बालबालिकाका लागि पनि छुट्टै मेनु तयार छन्।