हवाई र सडक यातायात चलेपछि पर्यटनमा सुधारको संकेत, पोखरा र चितवनका होटलमा चहलपहल

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ असोज ७ गते ०९:५९ | Sep 23, 2020
हवाई र सडक यातायात चलेपछि पर्यटनमा सुधारको संकेत, पोखरा र चितवनका होटलमा चहलपहल


काठमाडौं। लामो दुरी सार्वजनिक यातायात र हवाई सेवा सुचारु भएपछि पर्यटन क्षेत्रमा आशा जागेको छ। ६ महिनादेखि ठप्प रहेको पर्यटन गतिविधिलाई चलायमान बनाउन आन्तरिक पर्यटकले मद्दत गर्ने देखिएको छ।  

Tata
GBIME
Nepal Life

मुलुकका प्रमुख पर्यटकीय क्षेत्र पोखरा र चितवनमा होटल-रेस्टुरेन्ट खुल्न थालेका छन्। आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेपछि बिदामा रहेका कर्मचारी फिर्ता बोलाउने र सरसफाइ गर्दै सञ्चालनका लागि होटल रेस्टुरेन्ट सञ्चालकहरू तयार देखिएका छन्।

कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन र निषेधाज्ञाको ६ महिनासम्म घर बस्दा बस्दा दिक्क भएकाहरू विराटनगर, इटहरी, वीरगन्ज, हेटौंडा र काठमाडौंबाट निजी सवारी साधन लिएर निस्कन थालेका छन्। काठमाडौंबाट लामो दुरी निस्कन नचाहनेहरू चन्द्रागिरि पुगिरहेका छन् भने उपत्यका बाहिर जान चाहेकाहरू सौराहा र पोखरा पुग्न थालेका छन्।

पर्यटक आउन थालेपछि सौराहा र पोखराका होटल-रेस्टुरेण्टका ढोका खुल्न सुरू भएको छ। रेस्टुरेन्टहरूले स्थानीयका लागि परिकार घर लगेर खान मिल्ने टेक-अवे सेवा पनि जारी राखेका छन्। आन्तरिक पर्यटक पनि ठप्प रहँदा 'टेक-अवे' सेवालाई रेस्टुरेन्टहरूले निकै कममात्र चालु राखेका थिए। पर्यटक आउन सुरू हुँदा उक्त सेवाको भोल्युम बढाउन व्यवसायी उत्साहित भएका छन्। 

गत बिहीबारदेखि सरकारले निषेधाज्ञा खुकुलो गर्दै यातायात खोल्दाको असर पर्यटकीय क्षेत्रमा आशा जागेको व्यवसायीहरूले बताएका छन्।पोखराको लेकसाइडमा व्यञ्जन र डुंगा लगायतका आधा दर्जन रेष्टुरेण्ट खुलेका छन्। बारका वेटर क्याप्टेन पूर्णविक्रम आलेले भने ‘चहलपहल पहिला पहिलाको जस्तो त होइन तर लेकसाइड घुम्ने, सामान्य खालका खानापान गर्नेहरू आउन थालेका छन्। केही आश जगाउने अवस्था छ।' विदेशी पर्यटक आउन थालेपछि बल्ल पर्यटन व्यवसाय ट्रयाकमा आउने भए पनि अहिलेलाई सन्तोष मान्न सकिने स्थिति यति छिटै देखिनु सुखद रहेको उनको भनाइ छ। 

लामो दुरी र हवाई यातायात खुला गरिएसँगै पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए। 'यस अघि लकडाउन खुकुलो पार्दा यातायात खुला गरिएको थिएन। हामी अलमलमा थियौं,' उनले भने, 'अब त बिस्तारै चहलपहल सुरु भइसकेको छ। कोभिडको त्रास घटेसँगै पर्यटकीय गतिविधिले गति लिन्छ भन्ने आशामा छौं।' सचेतना बढेकाले अब सबै जना सुरक्षित रहेर व्यवसाय गर्न प्रतिबद्ध रहेकाले विदेशी पर्यटकलाई आगमन सहजीकरणमा सरकारको ध्यान जानुपर्ने उनले बताए। 

लेकसाइडमा रहेका होटल बुकिङका लागि इन्क्वाइरी आउनुका साथै केही होटलमा अधिकतम पाँच वटासम्म रुम बिक्री हुन थालेको क्राउन हिमालयका निर्देशक आग्रह अर्यालले बताए। उनका अनुसार लेकसाइडस्थित आइसल्याण्ड, बोधी स्वीट्स, क्राउन हिमालय र इमेज लगायत होटलमा अकुपेन्सी सन्तोषजनक हुने क्रममा छ। 

'अहिलेको अवस्थामा क्रमिक रूपमा चहपहल बढ्नुका साथै होटल रुम बुकिङ सुरु हुनु नै खुसीको कुरा छ। सुरुवातीको चहलपहलले पर्यटकिय गतिविधि क्रमिकरूपमा बढ्दै जाने आशा लिएका छौँ,' उनले भने, 'आन्तरिक पर्यटक आफ्नो गाडीमा आउन थाल्नु हाम्रा लागि उत्साहजनक छ।' पाँच सय वटाभन्दा बढी होटल रेस्टुरेन्ट रहेको पोखराले अब ट्रेकिङमा जान रुचाउने पर्यटक पर्खिरहेको छ। 

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ। आगामी वर्षसम्म तयार हुने लक्ष्य रहेको विमानस्थलको निर्माण प्रगति ६३ प्रतिशत पुगिसकेको छ। त्यही विमानस्थलको सञ्चालनपछि पर्यटन व्यापारबाट अधिकतम लाभ हुने अनुमान गर्दा पोखरामा होटल रेस्टुरेन्टमा लगानी बढेको छ। अब बिस्तारै पर्यटन क्षेत्र चलायमान भए उक्त विमानस्थल सञ्चालनको अवस्था आउँदासम्म राम्रो अभ्यास हुनेमा व्यवसायी आशावादी देखिएका छन्। 

लामो समयको कोरोना त्रासपछि कर्मचारीलाई छुट्टीमा पठाएका होटल-रेस्टुरेण्टले अब फिर्ता बोलाएर सञ्चालन थालेका छन्। दसैंमा धेरै आन्तरिक पर्यटकको घुमघाम र छोटो अवधिको घुमघामका लागि पोखरा र सौराहा पुग्छन्। परीक्षण र आइसोलेसनको व्यवस्था सहज भएसँगै कोरोनाको त्रास घट्ने व्यवसायीको विश्वास छ।   

चितवनको सौराहामा साँझ ५ बजे अघि स्थानीयकै चहलपहल सुरु भएको छ। राष्ट्रिय निकुञ्जले हात्ती सफारी र डुंगा सफारीको अनुमति दिएसँगै क्षेत्रीय होटल संघ चितवनले आन्तरिक पर्यटक लक्षित आकर्षक प्याकेज बनाउने तयारी गरेको अध्यक्ष दीपक भट्टराईले बताए। 
'होटल इन्क्वाइरी आउन थाल्यो। केही होटलमा विगतका वर्षमा यही समयमा नियमित आइरहेका पर्यटकले बुकिङ गर्न सुरु गरिसकेका छन्,' उनले भने, 'कतिपय होटलहरु संचालनमा ल्याउनका लागि धमाधम मर्मत सम्भारको काम चलिरहेको छ।' 

सौराहामा यतिखेर पर्सा, काठमाडौं लगायत क्षेत्रबाट थोरै संख्यामा भए पनि आन्तरिक पर्यटकको चहलपहल देख्न सकिने भएको क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष सुमन घिमिरेले बताए। 'पाँच दिनयता सौराहामा जम्मा ५० वटा रुम अकुपेन्सी कायम भएको अवस्था छ,' उनले भने, 'थोरै थोरै गर्दै आन्तरिक पर्यटक बढ्दा पनि व्यवसायले गति लिने विश्वास बलियो हुन्छ।' 

उनका अनुसार एक सय ३५ होटलमा ३५ सय रुम क्षमता रहेको सौराहामा सात हजार बेड क्षमता छ। 'अहिलेको अवस्थामा पर्यटकको चहलपहलले नै व्यवसायीमा एउटा उत्साह ल्याएको छ। विस्तारै विस्तारै पर्यटकीय गतिविधिले गति लिन्छ भन्ने आशामा छौं,' उनले भने, 'पर्यटन गतिविधि खुल्यो भन्नेबित्तिकै सुरुमै एकैपटक पर्यटकको ओइरो लाग्ने भन्ने होइन। घुमघामका लागि कतिपयले योजना बनाउँदै हुनहुन्छ । हामी स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवा दिन तयार छौं।'

सौराहामा रहेका रेष्टुरेण्टहरु खुल्न सुरु भएसँगै खानपिनसँगै टेक अवे र डेलिभरीको सेवा सुचारु भइसकेको क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसिएसन चितवनका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए। ‘धेरैजसो जिल्लाभित्र र छिमेकी जिल्लाबाट आउने सर्वसाधरणको चहलपहल सुरु भइसकेको छ।'