दुई सातामै मुकेश अम्बानीले रिलायन्स रिटेलका लागि पाए दोस्रो चेक, केकेआरलाई १.२८% शेयर

बिजमाण्डू
२०७७ असोज ७ गते १०:५३ | Sep 23, 2020

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतीय अर्बपति  उद्योगी मुकेश अम्बानीको रिलायन्सको रिटेल भेन्चर्स आरआरवीएलमा अमेरिकी प्राइभेट इक्विटी फण्ड केकेआरले ५,५५० करोड भारतीय रुपैयाँ लगानी गर्न लागेको छ।

कम्पनीले यसको बारेमा जानकारी दिँदै डिलपछि केकेआरसँग रिलायन्स रिटेल भेन्चर्सको १.२८ प्रतिशत शेयर हुने जानकारी दिएको हो। यस लगानीका आधारमा रिलायन्स रिटेल भेन्चर्सको भ्यालुएसन ४.२१ लाख करोड भारु भएको अनुमान गरिएको छ।

दुई साता अघि मात्रै  सिल्भर लेकले रिटेल भेन्चर्समै  ७,५०० करोड भारु लगानी गरी १.७५ प्रतिशत शेयर खरिद गरेको थियो। दुई हप्तामै भएको यी दुई डिलपछि रिलायन्स रिटेल भेन्चर्सले १३,०५० करोड भारु पुँजी जुटाएको छ।

केकेआरले रिलायन्स इन्डस्ट्रिजको कुनै भेन्चरमा गरेको यो दोस्रो ठूलो लगानी हो। यसअघि जियो प्लाटफर्ममा केकेआरले नै ११,३६७ करोड रुपैयाँ लगानी गरेको थियो। केकेआरले यो लगानी आफ्नो एशिया प्राइभेट इक्विटी फण्ड मार्फत गर्न लागेको बताएको छ।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एमडी मुकेश अम्बानीले भने-'केकेआर को राम्रो ट्रयाक रेकर्डले के देखाउँछ भने उ उत्कृष्ट साझेदार हो र भारतमा लगानीप्रति प्रतिबद्ध समेत छ। हामी आफ्नो डिजिटल तथा रिटेल कारोबारमा केकेआरको ग्लोबल प्लाटफर्म, अनुभव र विशेषज्ञतालाई लिएर उत्साहित छौं।'

मुकेश अम्बानीले जियो पछि लगातार  रिटेल कारोबारको क्षेत्रमा ठूला डिलहरु गरिरहेका छन्।

यसअघि गत जुलाईमा गुगलले जियो प्लेटफर्ममा ३३,७३७ करोड भारु लगानी गरेको थियो। अम्बानीले जियो प्लाटफर्ममा आफ्नो ३२.९७ प्रतिशत शेयर बेचेर कुल १.५२ लाख करोड भारु जुटाइसकेका छन्। जियोको भ्यालुएसन ४.६१ लाख करोड रुपैयाँ बताइएको छ।

भारतमा संगठित रुपमा भएको रिटेल कारोबारको बजार सन् २०१८/२०१९ मा  जम्मा ११ प्रतिशत थियो । आगामी २०२४/२०२५ सम्म यो बढेर १७ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। विश्लेषकहरुका अनुसार भविष्यमा भारतभर रिटेल कारोबारको भ्यालुएसन बढ्न सक्छ।

रिलायन्स रिटेल आफ्नो नयाँ रणनीति अन्तर्गत साना तथा असंगठित ब्यवसायीहरुलाई डिजिटल सेक्टरमा जोड्नकालागि काम गरिरहेको छ। यसको संजालमा हालसम्म २ करोड व्यवसायी जोडिइसकेका छन्।

केकेआरका सह- प्रमुख कार्यकारी तथा सह संस्थापक हेनरी क्राविसले भने- 'हामी रिलायन्स इन्डस्ट्रिजका साथ आफ्नो सम्बन्ध अझ मजबुत बनाउन पाउँदा खुशी छौं। रिलायन्स रिटेल भेन्चर्स साना व्यवसायीहरुलाई सशक्त बनाउने काम गरिरहेको छ र यो भारतीय रिटेल उपभोक्ताको हितमा हुनेछ।'

गत महिनामात्रै रिलायन्सले बलियो प्रतिस्पर्धी मानिएको अर्को कम्पनी फ्युचर ग्रुपलाई २४७.१ अर्ब भारुमा किनिसकेको छ। यसबाट उसले भारतको रिटेल चेनमा आफ्नो दायरा दोब्बरले बढाएको छ। यस डिल अन्तर्गत फ्युचरको रिटेल, होलसेल लजिस्टिक र वेयरहाउस युनिट सबै रिलायन्स रिटेल अन्तर्गत आएको छ।

रिलायन्स इन्डस्ट्रिज अन्तर्गत सुपरमार्केट, भारतको सबैभन्दा ठूलो विद्युतीय चेन स्टोर, होलसेलर, फास्ट फेसन आउटलेट तथा जियो मार्ट नामको अनलाइन ग्रोसरी स्टोर रहेको छ। यसअन्तर्गत भारतका ७ हजार शहरहरुमा करिब १२ हजार स्टोरहरु छन्।