७ महिनापछि बुद्धले सुरु गर्‍यो सिमरा-काठमाडौं हवाई सेवा, बिहीबारदेखि यति पनि उड्ने

बिजमाण्डू
२०७७ असोज ७ गते १२:५२ | Sep 23, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। सिमराबाट काठमाडौंका लागि हवाई सेवा शुरु भएको छ। सरकारले असोज ५ देखि आन्तरिक उडान खुला गरेसँगै गत सोमबारदेखि सिमरा–काठमाडौं उडान सञ्चालनमा आएको नागरिक उडडयन कार्यालय सिमराका प्रमुख वसन्त गौतमले बताए।

गत चैत ९ गतेदेखि बन्द भएको सिमरा–काठमाडौं उडान करिब सात महिनापछि सञ्चालनमा आएको हो ।

१२ मिनेटको यो रुटमा हाल बुद्ध एयरले मात्र सेवा दिइरहेको छ। बुद्धले सोमबार ७२ सिटे एटिआर विमान सञ्चालनमा ल्याएको थियो। हाल दैनिक एउटा विमान मात्र दिउँसो ओहरदोहर गरिरहेको छ।

काठमाडौंबाट सिमरा साढे १२ बजे र सिमराबाट काठमाडौं १ बजे बुद्ध एयरले उडान गर्ने नागरिक उड्डयन कार्यालय सिमराका प्रमुख गौतमले स्पष्ट पारे।

‘अहिले भर्खरै हवाई सेवा शुरु भएको छ,यात्रुको संख्या पनि कम छ, त्यसकारण हाल एउटा विमान मात्र उडिरहेको छ। यात्रुको सख्या बढ्दै जाँदा  उडान संख्या पनि थपिँदै जानेछ,’ उनले भने, सिमरा–काठमाडौं, ट्वीनअटर, बिच, एभ्रो सञ्चालनमा आए पनि एटिआर पहिलोचोटि सञ्चालनमा आएको हो।’

अहिलेसम्म ४० सिटको एभ्रो विमानबाहेक ठूलो विमान सिमराबाट उडेको थिएन। ७२ सिटको एटिआर नै धेरै यात्री लिएर सिमराबाट उड्ने पहिलो विमान बनेको छ।

बिहीबारदेखि यति एयरलाइन्सले पनि उड्ने जानकारी दिएको छ। सिमरा विमानस्थलबाट लामो समयदेखि बुद्ध एयरले मात्र सेवा दिंदै आएकोमा असोज ८ गते बिहीबारदेखि यति एयरलाइन्सले पनि सेवा दिने प्रमुख गौतमले बताए।

यति एयरलाइन्सले मंगलबार सिमरा–काठमाडौं परीक्षण उडान गरिसकेको उनले जानकारी दिए। यतिले केही वर्षअगाडि सिमरा–काठमाडौं उडान शुरू गरेको थियो तर पछि बन्द भएको थियो।

गत चैत ९ गते हवाई सेवा बन्द हुनुभन्दा अगावै दुई वटा फ्लाइट संचालन गरिरहेको श्री एयरलाइन्सले पनि चाँडै सेवा सुरु गर्ने बताइएको छ।