राजस्वको इ-पेमेन्टका लागि महानगरले थाल्यो प्रक्रिया, प्रणालीमा आउन सेवा प्रदायकलाई आह्वान

बिजमाण्डू
२०७७ असोज ७ गते १३:३० | Sep 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। विद्युतीय माध्यमबाट राजस्व भुक्तानी (इ-पेमेन्ट) सेवा सुरु गर्नका लागि काठमाडौं महानगरपालिकाले प्रणालीमा आवद्ध हुन सेवा प्रदायकलाई आह्वान गरेको छ । 

महानगरको सातौं नगरसभा बैठकले ३२ मध्ये १० वटा वडामा विद्युतीय भुक्तानी सेवा सुरु गर्ने निर्णय गरिसकेको छ । सोही बमोजिम सेवा सुरु गर्न यस्तो विद्युतीय भुक्तानीका प्लेटफर्महरु संचालनमा ल्याएका कम्पनीहरुलाई निःशुल्क प्रणालीमा आबद्धताका लागि महानगरले आह्वान गरेको हो ।

राजस्व संकलनको अवस्थाबारे तत्काल अद्यावधिक हुन र यसलाई पारदर्शी बनाउने योजनाअनुरुप महानगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली स्थापित गर्न लागेको जनाएको छ । यसका लागि महानगरले केही दिनअघि राजस्व निर्धारण तथा संकलनसम्बन्धी प्रणाली सञ्चालनमा ल्याएको छ ।

उक्त प्रणालीमा नि:शुल्क आवद्ध हुन चाहने विद्धुतीय भुक्तानी सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्क गर्नका लागि महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेको छ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने प्रणाली महानगरले विकास गरेको छ। यसबाट कुन क्षेत्र र शीर्षकमा कति कर उठाउन बाँकी छ, कति उठ्यो भन्ने तथ्याङ्क आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाको छ। 

अहिले नेपालमा इसेवा, खल्ती, सेल पे, कनेक्ट आइपीएससहित वित्तीय संस्थाहरुले विद्युतीय भुक्तानी सेवा दिइरहेका छन्।