निकले आगलागी नहुने ठूलो क्षमताको ट्रान्सफर्मर उत्पादन सुरु गर्‍यो, पहिलो ग्राहक देउराली जनता

बिजमाण्डू
२०७७ असोज ७ गते १३:३८ | Sep 23, 2020
निकले आगलागी नहुने ठूलो क्षमताको ट्रान्सफर्मर उत्पादन सुरु गर्‍यो, पहिलो ग्राहक देउराली जनता

Tata
GBIME
Nepal Life

काठमाडौं। देशको सबैभन्दा ठूलो ट्रान्सफर्मर कम्पनी नेपाल इकरात इन्जिनीयरिङ (निक)ले आगलागी हुँदा नजल्ने नयाँ ट्रान्सफर्मर उत्पादन सुरु गरेको छ।

कम्पनीले पहिलो पटक जैविक तेल (वायो आयल) को प्रयोग गरी ट्रान्सफर्मर उत्पादन सुरु गरेको हो। कम्पनीले उत्पादन गरिरहेको नयाँ ट्रान्सफर्मरको पहिलो ग्राहक औषधि उत्पादक कम्पनी देउराली-जनता फर्मास्युटिकल्स भएको छ।

कम्पनीले  तीन हजार केभिएको यही तेल प्रयोग भएको ट्रान्सफर्मर किन्दैछ।

निकले 'नेचुरल एस्टर फ्लुइड आयल- एफआर ३' तेल प्रयोग गर्न थालेको हो। पहिलो चरणमा कम्पनीले ५००, एक हजार र तीन हजार केभिएको ट्रान्सफर्मरमा यो तेलको प्रयोग गर्न थालेको छ।

'अहिले हामीले प्रयोग गरिरहेको तेल पनि इन्सुलेटेट नै हो। यसमा पनि आगलागीको जोखिम कम हुन्छ। तर कहीँ न कहीँ यसमा आगो लाग्ने सम्भावना रहन्छ,' कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीले बिजमाण्डूसँग भने, 'तर बायो आयलमा भने आगलागीको सम्भावना नै रहँदैन। त्यसैले ट्रान्सफर्मर जल्दैन।'

ट्रान्सफर्मर अहिले 'पेट्रोलियम तेल' को प्रयोग हुन्छ। जसलाई रिसाइकल गरिरहनु पर्छ। रिसाइकल हुन छाडेपछि त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ। नष्ट गर्न भने निकै सकस हुने गर्छ। खाल्डो खनेर सुरक्षित ढंगले यसलाई 'डिस्पोज' गर्नु पर्छ। वायो आयल भने न रिसाइकल गर्नु पर्छ न त डिस्पोज नै।

यो पनि पढ्नुस्: ट्रान्सफर्मर उद्योगका 'पायोनियर' कुशको निक नेपाल छिचोल्दै समुन्द्रपारसम्म

'अहिले ट्रान्सफर्मर भित्र राख्ने चलन छ। खासगरी मल, होटलहरुले भित्र राख्छन्,' जोशीले भने, 'उनीहरुलाई आगलागी नहुने, नजल्ने ट्रान्सफर्मर चाहिन्छ। अहिले उत्पादन भइरहेका ट्रान्सफर्मर जलिहाल्ने त हुँदैन तर सम्भावना भने रहन्छ। अब नयाँ वायो आयल प्रयोग भएको उपयुक्त हुन्छ।'

वायो आयल भने केही महँगो पर्छ। केही समयअघि अहिले प्रयोग भइरहेको तेलको तुलनामा यो ६ गुणा महँगो थियो। अहिले यसको भाउ घटेर ४ गुणासम्म आएको छ।

तर, तुलनात्मक लाभका हिसाबले भने यो सस्तो पर्न जान्छ। जस्तो वायो आयल भएको ट्रान्सफर्मर नजल्ने त हुन्छ नै यो कहिले पनि फिल्टरिङ गर्नु पर्दैन। यसो हुँदा अतिरिक्त खर्च आउँदैन।  

'यो अमेरिकी बेस आयल हो। सुरक्षित हुने भएकाले अहिले चीन र भारतमा पनि यसको प्रयोग गर्न थालिएको छ। भारतको २ वटा कम्पनीले प्रयोग गरिरहेका छन्' उनले भने, 'नेपालमा यसको प्रतिस्पर्धा हुँदैन।'

निकले अहिले नै सानो क्षमताका ट्रान्सफर्मरमा भने यो तेलको प्रयोग गर्दैन। किनभने यसको लागत केही महँगो पर्न  जान्छ। 'सस्तो ट्रान्फर्मर थोरै महँगो भयो भने पनि माग घटिहाल्छ। महँगोमा जोखिम उठाउन कोही चाहँदैन, दुई पैसा थप हाल्न ग्राहक तयार हुन्छ,' जोशीले भने, 'तर यसको माग आयो भने हामी २५ केभिएको पनि बनाउन थाल्छौं।'

वायो आयल प्रयोग गरिएको ट्रान्सफर्मर सस्तो बनाउन सरकारले सहयोग गर्नुपर्ने उनले बताए। जस्तो अहिले अन्य तेलसरह नै वायो आयल ल्याउँदा पनि १५ प्रतिशत भन्सार लाग्छ। वातावरण जोगाउने, कार्बन उत्सर्जन गर्ने वायो आयलको भन्सार शुल्क घटाएमा लागत कम पर्ने जोशीले बताए।

'भारतमा भन्सार कम छ। उनीहरुले कम लागतमै बनाइरहेका छन्,' उनले भने, 'नेपालमा नयाँ भएकाले यसका बारेमा राम्रो जानकारी पनि छैन। त्यसैले हामीले पनि सरकारसँग पहल गरिरहेका  छौं।'
निकले यो बाहेक व्यापार विस्तारको समेत योजना बनाइरहेको छ। ट्रान्सफर्मर बाहेकका विद्युतीय सामाग्री उत्पादनको योजना बनाएको जोशी बताउँछन्। तार, एभसिभी लगायतका विद्युतीय सामाग्री उत्पादनको उद्योग लगाउने योजना बनाएको बताउँदै त्यसका लागि सरकारले नीतिगत स्पष्टता र सहुलियत दिनुपर्ने जोशीले बताए।

'हामी एसेम्बल गरेर बेच्ने भन्दा पनि यहीँ उत्पादन गर्ने हो। यसका लागि अलिकति नीतिगत सहुलियत चाहिन्छ,' उनले भने, 'यहीँ उत्पादन गर्दा महँगो हुन्छ। त्यसमा भन्सारमा सरकारले सहयोग गरिदिनु पर्छ।'

अहिले बाहिरको ट्रान्सफर्मर ल्याउँदा १ प्रतिशत भन्सार तिरे पुग्छ। तर नेपालमा उत्पादन गर्नु परे कच्चा पदार्थमा १५ प्रतिशत भन्सार तिर्नु पर्छ। 

'हामी देशलाई चाहिनेजति ट्रान्सफर्मर बनाउन सक्छौं। तर त्यसका लागि केही सहयोग चाहिन्छ,' उनले केही समयअघि १० हजार केभिएको ट्रान्सफर्मर बनाएको उदाहरण दिँदै भने, 'भन्सारमा सहयोग भयो भने ठूलो परियोजनालाई चाहिने ठूलो ट्रान्सफर्मर बनाउने क्षमता हामीसँग छ।'

निकले एउटैलाई २ करोड रुपैयाँभन्दा बढी पर्ने ट्रान्सफर्मर पनि बनाएको छ। ग्राहकलाई विश्वास दिलाउन जोशीले यो १० हजार केभिएको ट्रान्सफर्मर आफैंले प्रवर्द्धन गरेको मैलुङ जलविद्युत परियोजनामा प्रयोग गरेका छन्।