बजारबाट जफत प्याज खाद्यले प्रतिकेजी ६० रूपैयाँले बेच्दै, एक जनाले ३ केजीभन्दा बढी किन्न नपाइने

बिजमाण्डू
२०७७ असोज ७ गते ०२:१३ | Sep 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीले तरकारी बजारबाट जफत गरेको १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि बिक्री गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार मञ्च र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। अनुगमनका क्रममा जफत प्याज त्यतिकै राख्दा नष्ट हुने भएकाले खाद्य कम्पनीमार्फत उपभोक्तालाई बिक्री गर्ने निर्णय गरेको हो।

खाद्यको रामशाहपथस्थित बिक्री कक्षबाट बेच्न राखिने तयारी गरिरहेको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन। बुधबारदेखि बिक्री गर्ने भनिए पनि प्याज ढुवानीमा ढिलाइले एक दिन पछि सरेको हो। 

सुवेदीका अनुसार उक्त प्याज उपभोक्ताले प्रतिकेजी ६० रुपैयाँले किन्ने पाउने छन्। एकजनालाई ३ केजीसम्म खरिद गर्न दिइने छ। कम्पनीले प्रतिकेजी ५२ रुपैयाँमा किनेर प्रतिकेजी ६० रुपैयाँमा बिक्री गर्ने लागेको हो।  ढुवानी, प्याकिङ र कर्मचारी खर्च जोडेर मात्र बिक्री गर्ने तयारी छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले  कालोबजारी गर्न थालेका थिए। लगत्तै अनुगमन थालिएको थियो। त्यस क्रममा टोलीले कालिमाटी, बल्खु, तिनकुनेका तरकारी बजारबाट करिब १२ हजार केजी प्याज जफत गरेको हो। कालोबजारी गर्ने ब्यापारीलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत  कार्वाहीको प्रक्रिया पनि अगाडि बढाइएको छ। 

व्यवसाय दर्ता नगरी प्याजको कारोबार गर्ने व्यवसायलाइ समेत कागजपत्र सहित विभागमा उपस्थितको लागि बोलाएको थियो ।