ठूला जलविद्युत आयोजनामा कामदार रोक्नै सकसः नयाँ आएनन्, भएका पनि फिर्ता जाँदै

बिजमाण्डू
२०७७ असोज ७ गते १५:२० | Sep 23, 2020

काठमाडौं। कामदार अभावले निर्माणाधीन जलविद्युत आयोजनाको काम निर्धारित समयमा सक्न सकस पर्ने देखिएको छ।

Tata
GBIME
Nepal Life

जलविद्युत आयोजनाहरुमा ठूलो संख्यामा आबद्ध चिनियाँ र भारतीय कामदार आयोजनामा फर्किन र भएकालाई पनि टिकाइराख्न मुस्किल परेको छ। खासगरी ठूला जलविद्युत आयोजनाहरुका लागि कामदार व्यवस्थापन अहिले मुख्य चुनौतीको विषय बनेको सम्बन्धित आयोजनाका अधिकारीहरुले बताएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवfगढी, ५७ मेगावाटको साञ्जेन लगायत निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका अन्य आयोजनामा पनि चिनियाँ र भारतीय कामदारको उपलब्धता समस्या बनिरहेको हो।

नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदार कोभिड संक्रमण सुरु भएसँगै चीनमै रोकिएका छन्। अहिले नेपालले अन्तर्राष्ट्रिय उडान खुला गरेपनि चीन सरकारले अनुमति नदिएका कारण हजारौं चिनियाँ कामदार नेपाल आउन पाएका छैनन्।

चिनियाँ कामदार र आयोजनालाई आवश्यक सामग्री ल्याउन नसक्दा साञ्जेन जलविद्युतको काम कम्तिमा अबको १५ महिनाअघि नसकिने आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए।

चिनियाँ कामदार नभइ आयोजनाको काम नसकिने हुनाले संसोधित तालिका पनि अझै केही पर धकेलिन सक्ने उनको अनुमान छ। मन्त्रालय तहबाटै कामदार ल्याउने प्रयास भएपनि त्यो अहिलेसम्म सफल हुन सकेको छैन।

रसुवागढी आयोजनामा कार्यरत १६८ जना चिनियाँ कामदारमध्ये ८० जना घर फर्किएको आयोजना प्रमुख छवि गैरेले बताए। अरु २० जना कामदारहरु पनि छिट्टै घर जाँदै छन्। नयाँ कामदार आउने टुंगो छैन। केही समयअघि २८ जना प्राविधिक कामदार ल्याउन पहल गरिएपनि त्यो सफल हुन नसकेको उनले बताए।

आयोजनाबाट उत्पादित विद्युत प्रसारणका लागि २२० केभी चिलिमे-त्रिशूली प्रसारणलाइन निर्माणाधीन छ। तर यसको काम पनि १० प्रतिशत मात्रै पूरा भएकाले एक वर्षभन्दा अघि यो प्रसारणलाइनको निर्माण सकिने अवस्था छैन। चिनियाँ कम्पनीले नै निर्माण गरिरहेको यो प्रसारणलाइनमा पनि झन् धेरै चुनौती छन्।

८० प्रतिशत भौतिक प्रगति भएका यी आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको भनिए पनि प्रसारणलाइनको निर्माणपछि नै यी आयोजनाको काम सकिने हुँदा कम्तिमा एक वर्षअघि निर्माण नसकिने पक्कापक्की जस्तै छ।

चीनले दिएन कामदार पठाउने अनुमति, भारतीय पनि लुकिछिपी घर जाँदै
नयाँ कामदार ल्याएर द्रुत गतिमा काम गर्नुपर्ने बेलामा भएका कामदार पनि फिर्ता भएपछि साना-ठूला जलविद्युत आयोजनाको निर्माणको काम तोकिएकै समयमा सक्न मुस्किल पर्ने भएको छ । 

वार्षिक बिदा अनुसार नै घर जानुपर्ने कामदारहरु कोभिडले रोकिएका थिए। सोपछि अवस्था तुलनात्मकरूपमा सहज हुने बित्तिकै घर फर्किन थालेका कामदारहरु कहिले फिर्ता हुन्छन् भन्ने कुनै टुंगो छैन।

केही समयअघि २८ जना कामदार पठाउन चीनलाई अनुरोध गरेकोमा चारजना मात्रै पठाउन सक्ने जनाएको थियो। तर नेपालमा दोस्रो चरणको निषेधाज्ञा जारी भएपनि नेपाल सरकारले ती कामदारलाई पनि आउन दिएन। अब नयाँ तरिकाले कामदारको माग गर्नुपर्ने जलविद्युत आयोजनाहरुले जनाएका छन्।

माथिल्लो तामाकोशी आयोजनामा कार्यरत भारतीय कामदाहरु पनि यतिबेला धमाधम घर फर्किन थालेका छन्। कामदारलाई बिदा नदिएपनि उनीहरु रातको समयमा आयोजनास्थल छाड्ने र आफैं गाडीको व्यवस्था गरेर घर फर्किन थालेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए।

लामो समयदेखि रोकिएका कामदार घर जान नपाएपछि आयोजना व्यवस्थापनसँग रुष्ट भएका थिए। उनीहरुले व्यवस्थापनसँग झगडा गरेर घर जान दिन माग गरेपनि व्यवस्थापनले कामदारलाई छाड्न नमानेपछि कामदारहरु भागेर घर जान थालेका हुन्।

माथिल्लो तामाकोशीमा अहिले १५० जना भारतीय र ५० जना चिनियाँ कामदार कार्यरत छन्। तर उनीहरु पनि कतिबेला छोडेर जाने हुन् भन्ने डर आयोजनालाई छ।

यसले गर्दा आयोजना सम्पन्न गर्न कामदार व्यवस्थापनको चुनौती पनि थपिएका छन्। कोभिडलाई कारण देखाउँदै यस आयोजनाको उत्पादन मिति तीन महिना पर धकेलिएको छ।

संसोधित तालिकाअनुसार अब फागुनमा मात्रै माथिल्लो तामाकोशीको पहिलो युनिटबाट उत्पादन सुरु हुनेछ। तर, कोलकाताबाट ल्याउनुपर्ने सामान ल्याउन नसकिएको तथा भारतीय र चिनियाँ कामदारहरु पनि ल्याउन नसकिएकाले आयोजना अबको ६ महिनामा पनि पूरा नहुने हो की भन्ने चिन्ता थपिएको छ।