सेयर बजारमा ९.३७ अंकको सुधार, नाफा बुकपछि पुनः जलविद्युतका सेयरमा फर्किए लगानीकर्ता

बिजमाण्डू
२०७७ असोज ७ गते १५:४८ | Sep 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । साताको पहिलो दिन आइताबार १६ सय विन्दुसम्म पुगेको सेयर बजार सोमबार र मंगलबार दुई दिनमा झन्डै ३० अंकले घटे पनि बुधबार भने पुनः उकालो लागेको छ । 

प्रि-ओपन सेसनमा अघिल्लै दिनको लय समात्दै घटेको सेयर बजार नियमित कारोबारको दोस्रो घन्टाबाट भने बढ्ने क्रममा लागेको थियो । त्यससँगै बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।

प्राविधिक विश्लेषले अहिले सेयर बजारमा १६ सय विन्दुमा बलियो प्रतिरोध रहेको देखिएकाले सूचकले उक्त विन्दु पार गर्न नसकि तल आएको हो । यस्तै, १५२५ देखि १५३० विन्दुमा बलियो टेवा रहेकाले सूचक धेरै तल नजाने विश्लेषकहरुको भनाइ छ । बजारलाई तलमाथि गर्ने कुनै सूचना नआए र विहिबार सूचक १५५० विन्दुभन्दा माथि नै रहे बजार छिटै १६ सय विन्दुमा पुग्ने विश्लेषण गरिएको छ ।  

बुधबार कारोबार भएका १२ उपसमूहका सूचकमध्ये होटलबाहेक सबै समूह सकारात्मक रहँदा सेयर बजार बढ्न पुगेको हो ।

जलविद्युतको सेयर मूल्यमा एक पटकको नाफा बुक गरी लगानीकर्ता पुनः सोही कम्पनीहरुको सेयर खरीदतर्फ लागेका छन् । उपसमूहगत रुपमा बुधबार सबैभन्दा बढी (२.८ प्रतिशत) ले यही समूहकै सूचक बढेको छ भने सेयर  मूल्य बढ्नेको अग्रपंक्तिमा पनि जलविद्युत कम्पनीहरु नै रहेका छन् । 

एक महिनाअघिसम्म ५० देखि ६० रुपैयाँसम्म रहेका केही जलविद्युत कम्पनीहरुको मूल्य अहिले एक सय रुपैयाँमाथि आएपछि लगानीकर्ताहरु नाफा बुक गर्नतर्फ लागेका थिए । बुधवार पाँच जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने बाँकीको सोभन्दा कमले बृद्धि भएको हो । 

बुधवार बजार सूचक बढे पनि कारोबार रकम भने मंगलबारको भन्दा घटेको छ । १९४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेचमा बुधबार एक अर्ब ७२ करोड ७८ लाखबराबरको सेयर कारोबार भयो । म‌ंगलबार यो रकम करिब दुई अर्ब ८१ करोड २८ लाख रुपैयाँ थियो ।

लाभांश नदिने सूचना आएपछि मंगलवार घटेको शिखर इन्स्योरेन्सको सेयर मूल्य पनि बुधवार बढेको छ भने सर्वाधिक रकमको कारोबार हुनेमा पनि शिखर नै रहेको छ । कम्पनीको करिब १० करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको हो । दोस्रोमा केही दिनयता लगायत नेपाल बैंक नै रहेको छ, जसको ९ करोड ५९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।