धादिङमा व्यवसायिक घरानाले किन्न थाले जग्गा, सुरज वैद्य र कुशकुमार जोशीले व्यवसायिक खेती गर्दै

बिजमाण्डू
२०७७ कात्तिक ७ गते १०:३२ | Oct 23, 2020
धादिङमा व्यवसायिक घरानाले किन्न थाले जग्गा, सुरज वैद्य र कुशकुमार जोशीले व्यवसायिक खेती गर्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। धादिङमा ठूला व्यावसायिक घरानाले धमाधम जग्गा खरिद गर्न थालेका छन्। राजधानीसँग जोडिएको जिल्ला भएकाले ठूला व्यवसायिक घरानाले उद्योगदेखि व्यवसायिक तरकारी खेतीका लागि ती घरानाले जग्मा किनेका हुन्।

व्यवसायिक घरानाहरु चौधरी ग्रुप, भ्याली कोल्ड स्टोर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी लगायतले धादिङमा सयौं रोपनी जग्गा किनेका छन्। महासंघकै पूर्व अध्यक्ष एवं हुवासिन सिमेन्टका नेपाल साझेदार सुरज वैद्यले समेत व्यवसायिक कृषि खेतीका लागि जग्मा भाडामा लिँदैछन्।

उनले जग्गा महँगो बन्दै गएकोले भाडमा लिएर कृषि खेती गर्न लागेको बताए। उनले भने ‘मैले धादिङमा कृषिको प्रचुर सम्भावना देखेको छु त्यसैले स्थानीय कृषकहरुसँग जग्गा लिजमा लिएर व्यवसायिक कृषि गर्दैछु।‘ उनको कम्पनीले जग्गा भाडामा लिन तयारी सुरु गरिसकेका छन्। धादिङ मलेखु खोला आसपासमा काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरुले खेत किनेर राखेका छन्। ती व्यक्तिहरुले अहिले सो जग्गा परम्परागत खेती गर्ने किसानलाई दिइरहेका छन्।

वैद्यले यही खेतहरु भाडामा लिने तयारी गरेका हुन्। वैद्यले धादिङमा विभिन्न प्रकारका अर्गानिक तरकारी खेती गरी काठमाडौं, पोखरा चितवनको बजारमा बेच्ने बताए। देशका ठूला शहरहरु नजिक रहेकाले बजारको समस्या नहुने उद्योगी वैद्यको भनाई छ। उद्योगी जोशीले धादिङको सिद्धलेक गाउँपालिका वडा-७ मा १ सय ६० रोपनी जग्गा खरिद गरिसकेका छन्। उनले त्यो जग्गामा व्यवसायिक खेतीसँगै रिर्सोट बनाउने बताए। ‘हामीले अहिले मास्टर प्लान बनाइरहेका छौं। त्यो पूरा भएपछि हामीले काम थाल्नेछौं,’ उनले बिजमाण्डूसँग भने। उनका अनुसार तीन महिनामा व्यवसायिक खेती सुरु हुनेछ।

 ‘हामीले सम्पूर्ण स्थानीयलाई आधुनिक कृषिमा ध्यान दिन भनेका छौं। यसका लागि प्राविधिक सहयोग र बजार व्यवस्थापन हामी गर्नेछौं,’ जोशीले भने। यसै गरी धादिङमा चौधरी समूहले चाउचाउ लगायतको एफएमसिजी प्रडक्टको जग्गा किनिसकेको छ।

समूहले नौबिसेमा ५ कित्तामा ६७ हजार ३ सय ५७ वर्ग मिटर जमिन खरिद गरिसकेको छ। कम्पनीको सिजी प्रिन्ट एण्ड प्याकेजिङको नाममा पहिलो कित्तामा ४ हजार ६९, दोस्रोमा १७ हजार ८ सय ५, तेस्रोमा ४ हजार ६९, चौथोमा ४५ सय ६८ र सीजी फुड्स् इन्ड्रष्ट्रिज प्रालिको नाममा ३६ हजार ८ सय ४६ वर्ग मिटर जग्गा खरिद गरिसकेको छ।

कुखुराको मासु उत्पादन र वितरणमा अधिक लगानी गरिरहेको भ्याली कोल्ड स्टोरले धादिङको सिद्धलेक-६ मा स्लटर हाउस खोल्ने तयारी छ। काठमाडौं उपत्यका बाहिर स्लटर हाउस बनाउने कम्पनीले तयारी गरेको हो। १६० रोपनी क्षेत्रफलमा एक घण्टामै चार हजार कुखुरा काट्न सकिनेगरी प्लान्ट स्थापना गर्ने तयारी छ।

प्लान्टलाई क्षमता विस्तार गरी प्रतिघण्टा ६ हजार कुखुरा स्लटर गर्न सक्ने बनाउन लागेका कम्पनीले जनाएको छ। स्लटर हाउस स्थापनाको तयारी गरिएको क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ। उक्त स्लटर सञ्चालनमा आएपछि कुखुराको मासु बिक्री गर्ने व्यवसायीलाई सहज हुने कम्पनीले जनाएको छ।

यस्तो छ धादिङमा जग्गाको सरकारी मूल्यांकन

जिल्ला मालपोत कार्यालय धादिङले चालु आर्थिक वर्षमा जारी गरेको जग्गाको न्यूनतम मूल्यांकनमा नौबिसे १(क) १(ख) १(ग) १(घ) २(ग) ६(क) ७(ग) ७(घ) ८(ङ) ९(क) मा पर्ने पृथ्वी राजमार्गको केन्द्रबिन्दुबाट ५० मिटरभित्र पर्ने घडेरी प्रयोजनमा आउने दायाँबायाँका जग्गाहरु प्रतिरोपनी ६८ लाख तोकिएको छ।

त्रिभुवन राजपथ नौबिसे/पुल्चोक हेटौंडा सडकमा पर्ने ५० मिटर दाँयाबायाँका जग्गाहरु प्रतिरोपनी ३० लाख तोकिएको छ। यस्तै अन्य जग्गाहरु अब्बलको १ लाख २० हजार, दोयम ८८ हजार, सीम ७६ हजार र चाहार जग्गा ४५ हजार प्रतिरोपनी तोकिएको छ। यसैगरी थाक्रे गाँउपालिकाको राजमार्ग केन्द्रबिन्दूबाट ५० मिटर दायाँ बायाँको घडेरी प्रयोजनका जग्गालाई ३५ लाख प्रतिरोपनी तोकिएको छ।

भूमेस्थानमा राजमार्ग वरिपरीको घडेरी योग्य जग्गालाई ३३ लाख तोकिएको छ। यस्तै अन्य जग्गा अब्बल १ लाख ६० हजार, दोयम १ लाख ३० हजार, सीम १ लाख र चाहारलाई ७० हजार तोकिएको छ।

गल्छी गाँउपालिका क्षेत्रमा पर्ने ५० मिटर दायाँबायाँको घडेरी प्रयोजनको जग्गा प्रतिरोपनी २४ लाख रुपैयाँ तोकिएको छ। अन्य जग्गाहरु अब्बल ७५ हजार, दोयम ६० हजार, सीम ४५ हजार र चाहार ४० हजार प्रतिरोपनी तोकिएको छ।यस्तै बैरेनी राजमार्ग क्षेत्रको घडेरी प्रयोजनका जग्गा ४९ लाख रुपैयाँ तोकिएको छ। अन्य जग्गाहरु अब्बल १ लाख १० हजार, दोयम १ लाख, सीम ८० हजार, चाहार ५० हजार प्रतिरोपनी तोकिएको छ।