प्रदेश राजधानीमा कहाँ कति छ जग्गाको मूल्य? कट्ठाकै १० करोडसम्ममा हुँदैछ किनबेच

बिजमाण्डू
२०७७ कात्तिक १० गते १०:०३ | Oct 26, 2020
प्रदेश राजधानीमा कहाँ कति छ जग्गाको मूल्य? कट्ठाकै १० करोडसम्ममा हुँदैछ किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। सहरी क्षेत्रको जग्गाको मूल्य दिनहुँजसो बढ्दै जाँदा अब देशको राजधानी काठमाडौंमा मात्रै घरजग्गा महँगो रहेन। देशका अन्य शहर तथा तिनको बजार क्षेत्रका जग्गाको भाउ पनि अचाक्ली महँगिएको छ। 

संघीयता कार्यान्वयनपछि काठमाडौं उपत्यकाबाहिरका शहर तथा शहरोन्मुख क्षेत्रहरुमा बसोबास  र घरजग्गा कारोबारको चहलपहल बढेकाले त्यस्ता स्थानमा घडेरी जग्गाको भाउ तीव्र रूपमा  उकालो लागेको छ। 

राजमार्ग आसपास तथा बजार क्षेत्रका साथै अस्पताल, शैक्षिक संस्था लगायतका सामाजिक पूर्वाधार सुविधा सुलभ रहेका ठाउँहरुमा भाउ लगातार बढिरहेको छ । अधिकांश त्यस्ता स्थानमा राजस्व संकलन प्रयोजनका लागि तय सरकारी मूल्यांकनका तुलनामा चल्तीको (किनबेच) मूल्य कम्तिमा दोब्बरभन्दा बढी हुने गरेको पाइएको छ।

संघीयता कार्यान्वयन भएसँगै अहिले देशमा सातवटा प्रदेशसहित कुल आठ (संघीयसमेत गरी) ८ वटा राजधानी छन्। संघीय राजधानी काठमाडौं सधैं नै जग्गाको मूल्यका दृष्टिले सर्वाधिक महँगो ठाउँ हो। 

विश्वका कतिपय विकसित मुलुकका प्रसिद्ध शहरहरुमा भन्दा काठमाडौंका केही ठाउँमा जग्गाको मोल चर्को छ । यहाँ आनाकै १२ करोड रुपैयाँसम्ममा जग्गा किनबेच भइसकेको रेकर्ड छ। सरकारी मूल्यांकन भने काठमाडौंका महँगा एरियामा प्रतिआना ६० लाख रुपैयाँसम्म छ। 

काठमाडौं पछ्याउँदै प्रदेश राजधानीमा जग्गा 
संघीय राजधानीबाहेक सातवटा प्रदेशका राजधानीहरुमा पनि पछिल्लो समय घरजग्गाको मूल्य दिनानुदिन उकालो लागिरहेको छ। 
गण्डकी प्रदेशको राजधानी पोखरा काठमाडौंपछि नेपालकै दोस्रो महँगो शहर हो। यहाँ सरकारले नै प्रतिकट्ठा २ करोड ९० लाख रुपैयाँसम्म मूल्यांकन कायम गरेको छ। 

चलन चल्तीको दरअनुसार भने पोखरामा पनि एक कट्ठाकै ८ देखि १० करोड रुपैयाँसम्ममा किनबेच हुने गरेको स्थानीय घरजग्गा व्यवसायीहरु बताउँछन्।

सरकारले कट्ठाका हिसाबले मूल्यांकन तय गरेको भए पनि पोखरामा हातका हिसाबले नापेर किनबेच हुने गरेको छ । देशको दोस्रो प्रमुख शहर समेत भनिने पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरू भएपछि जग्गाको भाउ झन् चुलिएको छ। 

शहरको मुख्य भागमा हिजोआज घडेरीका लागि जग्गा नै छैनन्। कारोबारीहरू खेती हुने विरौटा लगायतका क्षेत्रमा घडेरीका लागि जग्गा प्लटिङपछि अहिले लेखनाथतर्फ लागेका छन्। लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामै गाभिएपछि उक्त क्षेत्रमा पनि जग्गाको भाउ आकाशिँदै गएको छ।

पोखरापछि धनगढी दोस्रो महँगो प्रदेश राजधानी 
सुदूरपश्चिमको राजधानी धनगढीमा प्रतिकट्ठा सरकारी मूल्य एक करोड ४० लाख रुपैयाँसम्म छ। यहाँ चलनचल्तीमा पनि प्रतिकट्ठा ४ देखि ५ करोड रुपैयाँ सम्मममा किनबेच हुने गरेको व्यावसायीहरुको भनाइ छ। 

धनगढी (गेटा) विमानस्थल नियमित सञ्चालनमा आएसँगै बढ्न थालेको जग्गाको भाउ प्रदेशसभा र मन्त्रिपरिषदको कार्यालयहरू राखिएपछि झन् चुलिएको हो।

त्यस्तै, प्रदेश राजधानीहरुमध्ये तेस्रो महँगो वाग्मतीको राजधानी हेटौंडा रहेको छ । हेटौंडामा प्रतिकट्ठा एक करोड १५ लाख रुपैयाँसम्म सरकारी मूल्यांकन छ। तर चलनचल्तीमा भने हेटौंडाका महँगा जग्गा पनि प्रतिकट्ठा ४ देखि ५ करोड रुपैयाँमै किनबेच हुने गरेको छ । 

दुई २ नम्बर प्रदेशको राजधानी जनकपुर चौथो महँगो प्रदेश राजधानी रहेको देखिएको छ। जनकपुरमा प्रतिकट्ठा सरकारी मूल्य एक करोड १० लाख रुपैयाँसम्म छ भने चलनचल्तीको दर भने कट्ठाको २ देखि ३ करोड रुपैयाँसम्म रहेको छ।

पाँचौं महँगो प्रदेश १ को राजधानी विराटनगर देखिएको छ। विराटनगरमा सरकारी मूल्य प्रतिकट्ठा १ करोड रुपैयाँसम्म छ। तर चलनचल्तीमा भने यहाँ पनि ३ देखि ४ करोड रुपैयाँसम्ममै किनबेच हुने गरेको व्यावसायीहरु बताउँछन्।

छैटौ नम्बरमा भने कर्णाली प्रदेशको राजधानी सुर्खेत रहेको छ। सुर्खेतमा प्रति कट्ठा ८३ लाख रुपैयाँ सरकारी मूल्यांकन छ। तर चलनचल्तीको मूल्यमा भने यहाँ पनि कमि छैन। सुर्खेतका महँगा जग्गा प्रति कठ्ठा २ देखि ३ करोड रुपैयाँ सम्ममै किनबेच हुने गरेको व्यवसायीहरु बताउँछन्।

सातौ नम्बरमा भने भरखरै घोषणा भएको लुम्बिनी प्रदेशको राजधानी दाङ (देउखुरी) रहेको छ। अस्थाई राजधानी बुटवल हुँदा विराटनगर जत्तीकै महँगो भएपनि प्रदेश सभाले दाङको देउखुरीलाई लुम्बीनी प्रदेशको राजधानी घोषणा गरेपछि उक्त प्रदेशको राजधानी सबै भन्दा सस्तो राजधानी बनेको हो।

राप्ती गाउँपालिकामा पर्ने लुम्बीनी प्रदेशको राजधानीमा जग्गाको मूल्य प्रति कठ्ठा साढे सात लाख रुपैयाँ मात्रै छ। गाउँपालिका भएका कारण चलन चल्तीमा पनि यहाँको जग्गाको मूल्य १० देखि १५ लाख रुपैयाँ भन्दा बढी छैन। जग्गाको भाउ महँगो भएको गाउँपालिकाको केन्द्र भालुबाङ बजार भने ऐलानी जग्गामा बनेको छ। त्यसकारण बुटवलबाट राजधानी सारेसँगै लुम्बिनी प्रदेशहरुमा सबैभन्दा सस्तो लुम्बिनी प्रदेशको राजधानी बनेको हो।

यहाँ प्रस्तुत गरिएको घरजग्गाको मूल्य उक्त प्रदेशमा भएको सबैभन्दा महँगो हो। यस्ता महँगा जग्गा वर्षभरिमा २/४ वटा भन्दा बढी किनबेच भने नहुने मालपोत कार्यालयले जनाएका छन्।

सबैभन्दा बढी किनबेच हुने जग्गाहरु भनेका चलनचल्तीमै ३० देखि ६० लाख रुपैयाँ सम्म मूल्य भएका घरजग्गा हुन्। सहायक बाटोमा भएका ३० देखि ६० लाख रुपैयाँका घरघडेरीहरु सबै प्रदेश राजधानीमा धेरै किनबेच हुनेमा पर्छन्। 

बाटोको चौडाई, मुख्य बजारसँगको दुरी, मानिसहरुको आकर्षण र किन्ने बेच्नेको आवश्यक्ता र बाध्यताले घरजग्गाको चलनचल्तीको मूल्य तय हुने गरेको घरजग्गा व्यावसायीहरु बताउँछन्।