काठमाडौं। कोभिड संकटमै भिजिट नेपाल ट्राभल एण्ड टुरले काठमाडौं-पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बस सेवा संचालन गर्ने भएको छ।
सरकारले भ्रमण वर्ष घोषणा गरेपछि कम्पनीले अत्याधुनिक पर्यटकीय बस संचालन गर्ने योजना बनाएको थियो। तर कोभिड-१९ का कारण योजना केही पछाडि सार्दै तिहारपछि संचालनमा ल्याउने तय भएको कम्पनीका संचालक पदम आचार्य बताउँछन्। 'एक वर्ष अगाडि नयाँ तरीकाले ट्राभल बिजनेस सुरु गर्ने उद्देश्यले बस संचालनमा ल्याउने तयारीमा थियौं। कोभिडका कारण सात महिनापछि बस संचालन गर्न लागेका हौं,' उनले भने।
अशोक लेल्याण्डको भाकिङ्स २२२ सिरिजको यो गाडीमा थप विशेषता राखिएका छन्। सिंगल इन्जिन युक्त यो गाडीमा सोफामै बसेर यात्रा गर्न सक्नेछन्। बसमा एयर कन्डिसन, सस्पेन्सन क्षमतासँगै यो गाडीमा रुफ टप सिस्टम पनि छ।
'बसको आन्तरिक बनोट हाइली लक्जरियस छ। यात्रुले रुफटपमा जडान गरिएको ग्लासमार्फत आकाशको पनि दृश्यालोकन गर्न सक्नेछन्,' उनले भने। २८ सीट क्षमताको गाडीको भाडादर १२ सय रुपैयाँ हुने उनले जानकारी दिए।