चाडबाड लक्षित अफरले अटोमोबाइल कारोबारीलाई राहत, गाडीको बिक्री ७०% कायम

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ मंसिर ८ गते ०८:४६ | Nov 23, 2020
चाडबाड लक्षित अफरले अटोमोबाइल कारोबारीलाई राहत, गाडीको बिक्री ७०% कायम


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाले आर्थिक गतिविधि शिथिल भए पनि चाडबाड लक्षित आकर्षक अफरले चारपाङ्ग्रे सवारीसाधन बिक्रीमा रौनक छ। गत वर्षको तुलनामा ३५ प्रतिशतले व्यापारमा प्रभावित भए पनि व्यवसायीले करिब अढाइ महिनाको अन्तरालमा गाडीको बिक्री उल्लेख्य भएको आधिकारिक बिक्रेता कम्पनीले जनाएका छन्। 

यहीबेला बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएर ऋणको ब्याज निक्कै सस्तो भएको छ। निष्चित आम्दानी हुनेका लागि राष्ट्र बैंकले ब्याज थपघट नगर्न (स्थिर) निर्देशन दिएको छ। यस कारण पनि कार खरीद गर्न प्रोत्साहन मिलेको छ।

लकडाउन खुकुलो भएसँगै व्यवसाय बुस्ट गर्नका लागि हुण्डाई, टाटा, महिन्द्रा, सुजुकी, फोर्ड, किया र टोयोटा लगायत विभिन्न कम्पनीका आधिकारिक विक्रेता कम्पनीले ल्याएको आकर्षक अफरले गाडी बिक्रीले गति लिएको जनाएका छन्। एउटा मोडलका गाडी चलाइरहेकाहरूले सुविधा थपिएर आएका नयाँ मोडल खरिदमा रूचि राख्दा अझै धेरै ग्राहक बजारमा प्रि-बुकिङ गरेर गाडी पर्खिरहेका छन्। चाडबाड लक्षित अफरको मौका छोप्दै धेरैले नयाँ गाडी खरिद गरेका छन्।

हुण्डाई मोटर्सका गाडी बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले अढाई महिनाको अन्तरालमा बिभिन्न मोडलका ११ सय वटा हाराहारी गाडी बिक्री गरेको जनाएको छ। गत वर्ष यही समयमा कम्पनी १६ सय युनिट गाडी बिक्री गर्न सफल भएको थियो। यो वर्ष ३५ प्रतिशतले बिक्री घटेको सञ्चालक निराकार श्रेष्ठले बताए। 

'गत वर्षको तुलनामा बिक्री ६५ प्रतिशत कायम भएको छ। विभिन्न कम्पनीले व्यवसाय बुस्ट गर्नका लागि आकर्षक योजना ल्याएका थियौं। वित्तीय क्षेत्रको सहयोगमार्फत यो अवस्थामा यसरी नयाँ गाडी बिक्री हुनुलाई हामीले सकारात्मक रूपमा लिएका छौं,' उनले भने, 'यो अवस्थामा केही राहत पाएका छौं। अब आउने दिनमा व्यवसायले यही रुपमा निरन्तरता पाउँछ कि पाउँदैन भन्ने विषयमा सोचिरहेका छौं।'

उनका अनुसार यो अवधिमा हुण्डाईको ग्राण्ड आइ-१०, क्रेटा, भेनु लगायत गाडीको माग बढी रहेको छ। वित्तीय प्रक्रियाका कारण बिक्री भइसकेका सबै गाडी डेलिभर हुन भने बाँकी नै रहेको उनले बताए।

फोर्डका गाडी बिक्रेता कम्पनी जिओ फोर्ड अटोमोबाइल्सले कोभिड-१९ को समयमा पनि अपेक्षाभन्दा उल्लेख्य संख्यामा गाडी बिक्री भएको जनाएको छ। गाडी बिक्री दर वार्षिक रूपमा प्रभावित हुने भए पनि गत वर्षको तुलनामा बिक्रीदर ७० प्रतिशतले कायम भएको संचालक आकाश गोल्छाले बताए। 

'यो पटक हामीले पहिले पहिले जसरी धमाधम गाडी अर्डर गरेनौं। गत वर्षको तुलनामा अर्डर पनि ६० प्रतिशत मात्र गरेका थियौं,' उनले भने, 'कमै अर्डर गरे पनि ल्याएजति गाडी  बिक्री गर्न सफल भयौं। बिक्री वितरण हामीले सोचेभन्दा राम्रो रह्यो।'  

उनका अनुसार यो अवधिमा फोर्डको इकोस्पोर्ट, फ्री स्टाइल लगायत गाडीको माग राम्रो रहेको छ। 'कोभिड-१९का कारण सबै क्षेत्रको क्रय शक्तिमा प्रभाव परेको छ। त्यसकारण पनि बिक्री दर केही हदसम्म घटेको देखिन्छ,' उनले भने,'कोरोनाको डर भए पनि मान्छेहरू काम गरिरहेका छन्। आकर्षक अफरसँगै आवश्यकताका कारण गाडी खरिद गर्ने ग्राहक आउनुभएको छ। निजी तथा दैनिक प्रयोजनका लागि गाडी खरिद गर्ने ग्राहकहरु आइरहनु भएको छ।' 

बन्दाबन्दी खुकुलो भएयता गाडी बिक्रीमा ५० देखि ७० प्रतिशत कायम हुँदै आएको मारुती-सुजुकीको बिक्रेता सिजी मोटोकर्पले जनाएको छ। व्यापार सोचेजस्तो नभए पनि यो समयमा निजी प्रयोजनका लागि गाडी खरिद गर्ने ग्राहकको चासो बढेको कम्पनीका वरिष्ठ बजार प्रबन्धक करुण शाक्यले बताए।

'स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निजी प्रयोजनका लागि गाडीको आवश्यकताप्रति ग्राहकको चासो बढेको छ। क्रयशक्ति कमै रहेको अवस्थामा पनि बैंक तथा वित्तीय सहयोगमार्फत गाडी खरिद गर्नका लागि ग्राहकले चासो देखाउँदै आएका छन्। तर व्यापार सोचे जस्तो भएको छैन,' शाक्यले भने। 

उनका अनुसार यतिखेर सुजुकीको ब्रिजा पेट्रोल, स्विफ्ट, सेलेरियो लगायत सिरीजका गाडीको माग बढिरहेको छ। 'बजारले विस्तारै गति लिइरहेको छ। आउँदा दिनहरूमा बजारमा सुधार आउनेमा  आशावादी छौं,' उनले भने। 

किया मोटर्सका गाडीहरूको बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गत वर्षको तुलनामा यो वर्ष दुई सय प्रतिशतले आफ्नो बिक्रीदर बढेको जनाएको छ। कम्पनीले तीन महीनाको अवधिमा करिब चार सय युनिट गाडी बिक्री गर्न सफल भएको कम्पनीका उपमहाप्रबन्धक अनिश लामिछानेले बताए।

गत वर्ष निरो र स्पोर्टेजले बजार हिस्सा कायम गर्दै आएको कम्पनीले पछिल्लो समय सेल्टोसको माग बढ्दै गएपछि आफ्नो बिक्रीदर दोब्बर हुँदै गएको लामिछानेको भनाइ छ। 'आकर्षक अफरसँगै सेल्टोसको मार्केटले थप गति लिएको छ। विद्युतीय गाडी निरोको मार्केट त बन्द नै भएको छ। तर पछिल्लो समय सेल्टोस र सोनेटले राम्रो मार्केट लिँदै आएको छ,' उनले भने। 

कम्पनीले गत शुक्रबार बजारमा ल्याएको सोनेट एकैदिनमा ४० वटा बिक्री भइसकेको उनले बताए। 'ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले शनिबार मात्र थप ३० वटा सोनेट भित्र्याएको छ। सेल्टोस र सोनेटको माग बढेको छ। ल्याएका गाडी सबै बिक्री भइसकेका छन्,' उनले भने, 'अर्डरहरु आइरहेका छन्। धमाधम प्रि-बुकिङ जारी छ।' 

गत वर्षको तुलनामा ७० प्रतिशतले बिक्री बजार कायम राख्न सफल भएको टाटाका गाडीको बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ। कोभिड-१९ का कारण यो वर्ष नाडा अटो शो, टाटा कार्निभल, दसैंतिहार आकर्षक योजना प्रभावकारी रूपमा कार्यन्वयन हुन नपाउँदा समग्र बिक्री बजार भने प्रभावित भएको कम्पनीले जनाएको छ।

'नयाँ सेग्मेन्टका गाडी सार्वजनिक गर्ने कम्पनीको बिक्री बजार राम्रै देखिएको छ। हामीले पुरानै प्रोडक्ट बेचेर पनि गत वर्षको तुलनामा ७० प्रतिशत बिक्री दर कायम गर्न सकेको कुरालाई सकारात्मक रुपमा लिएका छौं,' कम्पनीको बजार व्यवस्थापनका एक कर्मचारीले भने, 'चाडबाडमा मार्केट बुस्ट हुनु स्वभाविक हो। अहिले बैंकको तरलता बढेको कारण पनि फाइनान्सिङ गर्न सजिलो भएकाले मार्केट बुस्ट भएको छ।'  यो अवधिमा टाटाको नेक्सन र टियागोको माग राम्रो रहेको कम्पनीले जनाएको छ।   

कोभिड-१९ का कारण गत चैतदेखि असारसम्म अटोमोबाइल बजारमा बिक्री शून्यजस्तै स्थिति थियो। सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै विभिन्न कम्पनीले बजार प्रवर्द्धन गर्नका लागि बिभिन्न आकर्षक योजना ल्याएका थिए। बन्दाबन्दी खुकुलो भएको सुरुवाती अवस्थामा ५० प्रतिशतभन्दा कम क्षमतामा भइरहेको बिक्री पछिल्लो समय ७० प्रतिशतमा पुगेको व्यवसायीले बताएका छन्।