नदीको जलस्तर सुक्दै जाँदा पराग्वेमा अर्थतन्त्रको पुर्जा नै अवरुद्ध, पिउने पानीको पनि अभाव शुरु

बिजमाण्डू
२०७७ मंसिर ८ गते १८:३० | Nov 23, 2020
नदीको जलस्तर सुक्दै जाँदा पराग्वेमा अर्थतन्त्रको पुर्जा नै अवरुद्ध, पिउने पानीको पनि अभाव शुरु

Tata
GBIME
Nepal Life

क्याप्टेन रोबर्टो गोन्जालेज बितेको २५ वर्षदेखि पानीजहाज चलाइरहेका छन् । तर उनले आफ्नो जीवनमा यस्तो दृष्य आजसम्म कहिल्यै देखेका थिएनन् – राती उनले पराग्वे नदीनजिक 'टिलपिलाइरहेका राता बत्तीहरु' देखे ।

उनले जहाजका आफ्ना सबै साथीहरुलाई सतर्क गराए, किनकि उनी ल्याङ्गर (जहाज बिसाउँदा अड्काइने फलामको आङ्कुसे) हाल्ने तयारी गरिरहेका थिए र नदीनजिक टिलपिलाइरहेका उक्त बत्तीहरु ती गोहीका आँखा थिए जो राती प्रकाश पर्दा रातो रंगको देखिएका हुन् ।

गोन्जालेजले बीबीसीसँग भने, 'यसअघि मैले यस्तो कहिल्यै देखेको थिइँन । तर अब उनीहरुको बस्ने ठाउँ सुकेको छ र यी जनावरहरु पानी बाहिर आएका छन् ।'

आठ महिनाको सुक्खापछि यस नदीको जलस्तरमा ऐतिहासिक गिरावट देखिएको छ । अक्टोबरको अन्त्यसम्म नदीको जलस्तर यति कम भइसकेको छ कि जुन यस नदीको इतिहासमा यसअघि कहिल्यै पनि भएको थिएन ।

तीन वर्ष अघिको तुलनामा पराग्वेको राजधानी असुनशियोनको नजिकैबाट बग्ने पराग्वे नदीको छेउछाउका क्षेत्रहरु कति धेरै सुक्खा भइसकेको छ भन्ने अमेरिकी स्पेस एजेन्सी नासाले जारी गरेको स्याटेलाइट तस्वीरहरुले देखाएको छ ।

पराग्वेका लागि यो चिन्तित बनाउने खबर थियो । यो नदी यस देशका लागि कति महत्त्वपूर्ण छ भन्ने कुराको अनुमान यसबाट पनि लगाउन सकिन्छ कि देशको नाम नै यही नदीको नामबाट राखिएको छ । पराग्वे नदीलाई यस देशको लाइफलाइन अर्थात् जीवनरेखा मानिन्छ ।

पराग्वेको नेशनल एड्मिनिष्ट्रेशन अफ नेभिगेशन एन्ड पोर्टस् (एनएनपीपी) का अनुसार २५ अक्टोबरमा असुनशियोनमा नदीको जलस्तर सामान्यभन्दा ५४ सेन्टिमिटरसम्म कम थियो ।

केही वर्षा भएपछि नोभेम्बरमा नदीको जलस्तरमा थोरै सुधार आयो र यो सामान्यभन्दा मात्र १४ सेन्टिमिटरले तल रहेको अवस्थामा पुग्यो ।
तर एएनपीपीका निर्देशक लुइस हारा यो अवस्थालाई चिन्ताजनक बताउँछन् । उनी भन्छन् कि हाल अहिले नदीको जलस्तरमा जुन सुधार देखिएको छ, त्यो स्थायी होइन । 

स्थानीय टेलिभिजन च्यानल एबीसीसँगको कुराकानीमा उनले भनेका थिए, 'जति वर्षा भएको थियो र त्यसपछि वर्षको अन्तिम महिनामा नदीमा कति पानी बाँकी रहेको छ भन्नेतर्फ ध्यान पुर्‍याउँदा हामी केही नमीठो आँकडा देखिरहेका छौं ।'

उक्त कुराकानीका दौरान उनले नदीमा जलस्तर चाँडै बढ्ने सम्भावना नरहेको र अर्को वर्ष पनि जनवरी-फेब्रुअरीमा मात्र सामान्य स्तरमा पुग्ने र जहाज चलाउनका लागि तयार हुन सक्ने पनि चेतावनी दिए ।

हारा भन्छन्, 'तर यसको अर्थ यो होइन कि नदीमा पानी फेरि कम हुने छैन । यसकारण हामीलाई वर्षाको टड्कारो खाँचो छ ।'
पराग्वेको मौसम विभागका निर्देशक राउल रोडोसले बीबीसीलाई बताए कि वर्षको यस अवधिमा नदीको जलस्तर कम्तिमा पनि २.५ मिटरसम्म हुनुपर्छ ।

पराग्वेको लाइफलाइन – पराग्वे नदी
पराग्वे चारैतर्फबाट जमिनले घेरिएको देश हो । यसको एकातर्फ बोलिभिया र अर्जेन्टिना छ भने अर्कोतर्फ ब्राजिल र तलतर्फ उरुग्वे छ ।

पानीका लागि यो दक्षिण अमेरिकी देश पूर्णरूपमा पराग्वे नदीमा निर्भर छ । यसैले यो नदीलाई देशको लाइफलाइन भनिन्छ ।

पराग्वेका डेपुटी वाणिज्य मन्त्री पेड्रो मानसुलोले बीबीसीसँग भने, 'हाम्रो लागि पराग्वे त्यो एकमात्र सडक हो जसले हामीलाई समुद्रसम्म लैजान्छ र सुक्खाको कारण यो सडक अब अप्ठयारोमा छ ।'

उनी भन्छन्, केही स्थानमा यो नदी यस्तरी सुकेको छ कि ठूला कमर्शियल पानीजहाज अब चलाउन सकिने छैन ।

पराग्वेको 'मिनिस्ट्री अफ सिभिल वर्क्स एन्ड कम्युनिकेशन' का निर्देशक जर्ज बेर्गारा भन्छन्, 'यदि यो कठिन परिस्थितिको कुनै समाधान खोजिएन भने नदीमा जहाज चल्न असम्भव हुनेछ । हाम्रो आकलन छ कि अबको करिब एक महिनामै हामीले विकट परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।'

नदीको पानी सुक्नुको सीधा असर देशको अर्थव्यवस्थामा हुन थालेको उनले बताए ।

पराग्वेको वाणिज्य मन्त्रालयले जारी गरेको आँकडा अनुसार सन् २०१९ मा देशमा आयातित कुल सामानको ५२ प्रतिशत हिस्सा तथा निर्यात गरिएको सामानको ७३ प्रतिशत पराग्वे नदीको बाटो भएर नै ल्याउने-लैजाने गरिएको थियो ।

पराग्वे संसारको सबैभन्दा ठूलो कृषि उपज निर्यातकर्तामध्येको देश हो । यसले ठूलो परिमाणमा सोयाबिन निर्यात गर्छ र यससँग नदीमा चलाइने जहाज सबैभन्दा ठूलो संख्यामा छ ।

सिमसार नै भयो सुक्खा 
पराग्वेमा जलसंकटको समस्याको सोझो सम्बन्ध पछिल्लो समय पेन्टानलमा भएको न्यून वर्षासँग जोडिएको छ । पेन्टालन संसारको सबैभन्दा ठूलो उष्णप्रदेशीय (ट्रोपिकल) सिमसार हो जुन बोलिभिया, ब्राजिल र पराग्वे तीनवटै मुलुकमा पर्नेगरी विशाल क्षेत्रमा फैलिएको छ ।

वर्षाको दौरान पेन्टालनमा जम्मा भएको पानी नै पराग्वे नदीमा आउने हो । पछिल्ला केही महिनामा पेन्टालनमा वर्षा कम भयो र यो क्षेत्र जंगली आगलागीको चपेटामा आयो ।  सिमसार भएको क्षेत्र पनि कहिलेकाहीँ सुक्नु नौलो कुरा होइन । तर यस कुरामा डर मानिराखिएको छ किन आगामी दिनमा जलवायु परिवर्तन र मानिसको व्यवहारका कारण सिमसार क्षेत्र सुक्खा हुँदै जाने क्रममा तीव्रता आउन सक्छ ।

चिन्ताको अर्को एक महत्त्वपूर्ण विषय अमेजन जंगलको रुख कटानको पनि छ, जसको असर अमेजन बेसिनबाट हुने पानीको वाष्पिकरण (जलवाष्प) मा पर्न सक्छ । किनकि यहाँबाट हुने जलवाष्प दक्षिण अमेरिकी देशसम्म पुग्छ जसले ती मुलुकका विभिन्न क्षेत्रमा हुने वर्षामा भूमिका खेल्दै आएको छ । 

यस क्षेत्रमा विशेषज्ञता हासिल गरिसकेका ब्राजिकका भूगोलविद् मार्कोस रोजाले बीबीसीलाई भने, 'डर यस कुराको छ कि यो अब 'न्यू नर्मल' जस्तै हो, अर्थात् नयाँ कुरा हो जुन चाँडै परिवर्तन हुनेवाला छैन । वर्षौंदेखि हामी मानवले गर्दै आएको कामको यो नतिजाका कारण वर्षातको चक्र नै फेरिएको छ, सुक्खा बढ्‍दै गएको छ र पेन्टालनमा प्राकृतिक बाढी आउँदै छ ।'

साथै, दक्षिण अमेरिकाको जलवायुमा एउटा अलग किसिमको मौसमी परिवर्तन पनि देखिइरहेको छ जसलाई 'ला नीना' भनिन्छ । यसले गर्दा परिस्थितिलाई झन् गम्भीर बनाइदिएको जानकारहरु मान्छन् ।

ला नीना एउटा प्रक्रिया हो जसमा भूमध्यरेखाको आसपास प्रशान्त महासागरको पानी समय-समयमा चिसो हुन्छ । यसले गर्दा मौसम चिसो र सुक्खा हुन थाल्छ ।

जब ल्याङ्गर बिनै रोकियो जहाज
पराग्वे नदीमा पानी कम भएकाले कैयौं जहाजले काम सुरु गर्ने योजना परिवर्तन गरेर ल्याङगर लगाइदिएर राखेका छन् । असुनशियोनमा रहेको पराग्वेको मुख्य बन्दरगाहबाट कयौं जहाज अचेल पहिलेभन्दा कम सामान लिएर निस्किन थालेका छन् ।

आयात-निर्यात जारी राख्नका लागि सरकारले नदीको बाटो अपनाउनुको सट्टा सडक मार्गबाट समुद्रसम्म पुग्ने समाधान खोजेका छन्, भलै नदीको तुलनामा सडक मार्गबाट सामान ओसार-पसार गर्ने खर्च कयौं गुणा बढी छ ।

बीचमा यस्तो समय पनि आयो जब जहाजहरुलाई अगाडि बढ्ने कुनै पनि बाटो बाँकी रहेन । एक शिपिङ कम्पनीका निर्देशक गुलेरमो एरिक भन्छन् कि अक्टोबरको अन्तिम हप्ता उनीहरुका एक एक चौथाई जहाजहरुलाई ल्याङ्गर लगाएर रोकेर राख्नुपरेको थियो । उक्त कम्पनीसँग ८० जहाज (फ्लिट) छन् ।

उनी भन्छन्, 'हाम्रा आठ जहाज बोलिभियामा फँसेका थिए, तीन पराग्वेका स्यान एन्टोनियोमा र १२  अर्जेन्टिनाको स्यान लोरेन्जोमा रोकिनु परेको थियो । प्राविधिक कारणले ती जहाज त्यहाँ फसेका थिएनन्, तर पानी कम भएको कारणले तिनीहरुलाई चलाउन असम्भव थियो ।'

गुलेरमो भन्छन् – नदीमा पानी कम हुनुको असर उनको कम्पनीको आम्दानीमा परेको छ र मासिक ४० लाख अमेरिकी डलरको घाटा भइरहेको छ ।

सेन्टर फर रिभर एन्ड मेरिटाइम शिप ओनर्सद्वारा जारी आँकडाका आधारमा पराग्वेको निजी क्षेत्रलाई नदीको जलस्तरमा आएको कमीका कारणले २५ करोड डलरको नोक्सानी पुगिसकेको छ । 

यस स्थितिसँग जुध्नका लागि नदीलाई थुप्रै महत्त्वपूर्ण स्थानहरुमा थप गहिरो बनाउन आवश्यक छ । तर यस दिशामा अहिलेसम्म काम सुरु हुन सकेको छैन ।

जर्ज वेर्गारा भन्छन् – 'यस कामका लागि पहिले बजेट विनियोजन भइसकेको थियो तर कोराना महामारीका कारण सरकारलाई यसको रकम डाइभर्ट गरेर महामारीसँग लड्नका लागि खर्च गर्नुपर्‍यो ।'

नदीको सतहलाई अझ गहिरो बनाउने काम यस वर्षको डिसेम्बरबार सुरु हुने उनको अनुमान छ । तथापि, त्यतिबेलासम्मको अवस्था नै 'ज्यादै जटिल मुश्किलहरुले भरिएको' उनी मान्छन् ।

पिउने पानीको समेत अभाव
कुरा केबल जहाज चल्ने र त्यसले अर्थतन्त्रको पुर्जा चलाउने मात्र होइन, पानीको कमीका कारण पराग्वेका नागरिकको घरमा पनि पिउने पानीको आपूर्तिमा बाधा उत्पन्न भएको छ ।

यस वर्षको सुरुआतमा सरकारले नदीको पानी जलसंकटबाट जुझिरहेको चाको क्षेत्रमा लैजनाने आयोजनाको उद्घाटन गरेको थियो । यस योजनाअनुसार पराग्वे नदीको पानी असुनशियोनबाट ६५० किलोमीटर टाढा प्युर्टे कसाडोका बासिन्दाको घरसम्म पुर्‍याउने भनिएको थियो । 

तर नदीको क्याचमेन्ट एरिया (जलग्रहण वा ताल क्षेत्र) मा पानी नभएको कारणले अक्टोबरमा पानी उक्त प्रस्तावित क्षेत्रमा मात्र नभएर राजधानी असुनशियोनमा पनि आपूर्ति गर्नमा समस्या उत्पन्न भइरहेको छ ।

पराग्वे नदीको किनारमा पर्ने विभिन्न क्षेत्रमा बस्ने समुदायका लागि यस नदीको विशेष महत्त्व छ । ती समुदायका मानिस आफ्नो दैनिक आवश्यकता र आपूर्तिका लागि नदीमा निर्भर छन् ।

बीबीसीसँग भएको बातचितमा डेपुटी वाणिज्य मन्त्री मानसुलोले पटकपटक जलवायु, प्रकृति र अर्थव्यवस्थाबीचको सम्बन्धमा जोड दिएका छन् । उनले भने, 'हामीलाई पर्यावरण र विकासबीच आवश्यक सामञ्जस्य बनाएर राख्न जरुरी छ । प्रकृतीले हामीलाई बारम्बार संकेत दिइरहेको छ ।'

पराग्वे मौसम विभागका निर्देशक राउल रोडोस सुक्खाको नदीमा परेको असरलाई बुझ्नका लागि जलवायु परिवर्तनको सम्भावित असरबारे थप शोध गर्नु अपरिहार्य रहेको बताउँछन् । 

उनी भन्छन्, 'हामीले यो थाहा पाएका छौं कि अब बाढी बारम्बार आउन थालेको छ । यसैले हामीले यसको विश्लेषण गर्नुपर्छ कि पानीको अभावले यस्तो सुक्खा बारम्बार भइरहेको छ? र, यस्तो हो भने के यो तीव्र गतिमा भइरहेको छ ?'