सूचना महामार्गको काम सुस्त, ब्रोडब्यान्ड इन्टरनेट जडानको भौतिक प्रगति ६९.३७ प्रतिशत

बिजमाण्डू
२०७७ मंसिर ९ गते १२:२८ | Nov 24, 2020
सूचना महामार्गको काम सुस्त, ब्रोडब्यान्ड इन्टरनेट जडानको भौतिक प्रगति ६९.३७ प्रतिशत



काठमाडौं। ब्रोडब्यान्ड इन्टरनेट जडानको भौतिक प्रगति ६९.३७ प्रतिशत पुगेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तसम्म परियोजना निर्माणवापत् सेवा प्रदायकहरुलाई दुई अर्ब ७१ करोड ८१ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कात्तिकसम्म परियोजनाको वित्तिय प्रगति जम्मा ४७.७९ प्रतिशत पुगेको छ। यस परियोजनाको जम्मा सम्झौता रकम पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँ रहेको छ। ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा विस्तार गरिरहेको प्राधिकरणले ११ हजार ८६ साइटमा इन्टरनेट जडानको काम सकेको छ।

कात्तिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले अब ४८ सय ९६ साइटमा इन्टरनेट जडान गर्न बाँकी रहेको जनाएको छ। प्राधिकरणले स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्था गरी कुल १५ हजार नौ सय ८२ साइटमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने काम निकै सुस्त भएको भन्दै आलोचना हुँदै आएको छ। 

यस्तै, प्राधिकरणको अर्को महत्वाकांक्षी परियोजनाको रुपमा रहेको सूचना महामार्गको काम प्याकेज १ र ३ मा मात्रै अघि बढिरहेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले प्याकेज १ अन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेश साथै प्याकेज ३ अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा काम गरिरहेको छ। प्याकेज २ मा रहेको गण्डकी र लुम्बिनी प्रदेशको काममा विवाद देखिएर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। 

प्याकेज १ मा कात्तिक मसान्तसम्म तीन सय ४० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ। टेलिकमले एक महिनाको अवधिमा ३२ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ। डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ प्रणाली (डीडब्लूडीएम) र यसको कमिसनिङको काममा भने खासै प्रगति भएको छैन। सम्झौताबमोजिम अप्टिकल फाइबरको दूरी प्याकेज १ मा दुई हजार ८३, प्याकेज २ मा २१ सय ६० र प्याकेज ३ मा १९ सय ९२ किलोमिटर रहेको छ। जसमध्ये प्याकेज १ मा मात्रै फाइबर बिच्छ्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ। प्याकेज १ मा फाइबर बिच्छ्याउने कामको प्रगति १५.६० प्रतिशत पुगेको छ। 

त्यसैगरी, कात्तिक मसान्तसम्म प्याकेज १ मा मात्रै डीडब्लूडीएम प्रणाली र कोर राउटर उपकरणको काम भइरहेको छ भने अन्य प्याकेजमा जडानको काम सुरु नै भएको छैन। अहिलेसम्म सम्झौता बमोजिम डीडब्लूडीएम प्रणाली प्याकेज १ मा २६, २ मा २१ र ३ मा २८ उपकरण जडान गर्नुपर्नेमा अहिलेसम्म प्याकेज १ मा २५ वटाबाहेक अन्यमा जडान हुन सकेको छैन। यस्तै, कोर राउटर उपकरण प्याकेज १ मा ४८, २ मा ७३ र ३ मा ५६ वटा जडान गर्नुपर्नेमा प्याकेज १ मा मात्रै ४५ वटा जडान गर्नेबाहेक अन्यमा हुन सकेको छैन।   

सूचना महामार्गको सम्झौता रकम नौ अर्ब ८९ करोड १७ लाख रुपैयाँ रहेको छ। सूचना महामार्ग परियोजनाका लागि कात्तिक मसान्तसम्म प्याकेज १ का लागि अग्रिम भूक्तानी वापत ६१ करोड ५५ लाख रुपैयाँ र भन्सार महशुलवापत १२ करोड ८० लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले प्याकेज २ मा ४० करोड २० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको जनाएको छ।