१० वर्षमा पाँच आउटलेटमा विस्तार हुँदै त्रिशारा, बानेश्वर र ठमेलमा थप दुई सञ्चालनमा ल्याइँदै

बिजमाण्डू
२०७७ मंसिर ११ गते १०:०० | Nov 26, 2020


काठमाडौं। त्रिशारा रेष्टुरेण्टले १० वर्षको अन्तरालमा आउटलेट संख्या पाँचवटा पुर्‍याउने भएको छ। तीनवटा आउटलेटमार्फत सेवा दिँदै आएको रेष्टुरेण्टले कोभिडकै बीचमा दुई आउटलेट विस्तार गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

अबको दुई महिनामा बानेश्वर र ठमेलमा दुईवटा आउटलेट सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा रहेको सञ्चालक शोभनवीर मालाकारले बताए। लकडाउनअघि नै क्षमता विस्तारका लागि योजना बनाएको भए पनि कोभिड-१९ का कारण थप आउटलेट सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उनी बताउँछन्। 'अब व्यवसायिक वातावरणलाई न्यु नर्मलमा लैजान हामी सबैले आआफ्नो ठाउँबाट प्रयास गरेमात्रै बजार पुरानो अवस्थामा फर्कन्छ,' उनले भने, 'त्यसैले हामी नयाँ आउटलेटको योजनामा ढिलाइ नगर्ने पक्षमा छौं।'  

त्रिशाराका दुई नयाँ आउटलेटबाट पनि आउँदो माघदेखि ग्राहकले सेवा पाउने उनले बताए। 'लकडाउन अगाडि नयाँ बानेश्वरस्थित तेस्रो आउटलेटका लागि गृहकार्य गरिकेका थियौं। तर कोभिड-१९ का कारण हामीले नयाँ आउटलेट तयार गर्नै असमर्थ रह्यौं। अहिले कामहरु धमाधम भइरहेको छ। अबको दुई महिनामा यी आउटलेट सञ्चालनमा ल्याउनेछौं,' मालाकारले भने।

उनका अनुसार बानेश्वरको आउटलेट एक सय ५० जना क्षमताको छ। 'अवस्था विस्तारै नर्मल हुने क्रममा छ। स्वास्थ्य सुरक्षा अवलम्बनबारे प्राय सबै सचेत भइसक्नु भएको छ। कोरोना बिर्सेर विस्तारै नर्मल अवस्थातिर फर्कनुैपर्छ भनेर हामीले आउटलेट विस्तार गर्न लागेका हौं,' उनले भने, 'सधैं डराएर व्यवहार चल्दैन। सबैले आआफ्नो व्यवसायलाई पुरानो अवस्थामा फर्काउन हिम्मत गर्नुपर्छ। सरकारले पनि अवस्था सहज बनाउन मद्दत गर्नुपर्छ।'    

कोभिड-१९ को संक्रमण बढेर जनजीवन प्रभावित भएका कारण ठमेलस्थित हर्टब्रेड्स बन्द भएको थियो। त्यसलाई त्रिशाराले खरिद गरेर आफ्नै अवधारणमा डिजाइन गरेको छ। तयारी करिब अन्तिम चरणमा रहेको उनले जानकारी दिए। यो आउटलेट ८० जना ग्राहक क्षमताको छ। 

फरक किसिमको सेवासहितका नयाँ दुई आउटलेट 
पुराना तीन आउटलेटको तुलनामा दुई महिनापछि सञ्चालनमा आउन लागेका दुई आउटलेटमा सेवासुविधा नै ग्राहकले फरक अनुभव गर्ने मालाकार बताउँछन्। दुवैमा लाइभ म्युजिक सेवा हुने छैनन्। केही समय अगाडि आफ्नै अवधारणमा सुरु गरेको पेरोस पिजा र बेकिङ फ्याक्ट्रीसहितको रेष्टुरेण्ट सुविधा दिइने उनले बताए।

'हामीले तीनवटा आउटलेटमार्फत लाइभ म्युजिक सहितको सेवा दिँदै आएका थियौं। अब दुई नयाँ आउटलेटमा ग्राहकले नौलो किसिमको सेवा लिन सक्नुहुनेछ। विशेष गरी पेरोस पिज्जा र बेकरी प्रोडक्टलाई मुख्य प्राथमिकता दिएका छौं,' उनले भने, 'यी सँगै ग्राहकले रेष्टुरेण्ट सेवा पनि लिन सक्नुहुनेछ।'

आफैंले उत्पादन गर्ने पेरोस पिज्जा अन्यको तुलनामा फरक र सुपथ मूल्यमा उपलब्ध गराउने उनले बताए। 'पिज्जा पारखीलाई लक्षित गर्दै हामीले पेरोस पिज्जा बनाउँदै आएका छौं। यसको आकार १२ इन्च हुन्छ। यो पिज्जाको मूल्य पाँच सय रुपैयाँ पर्छ,' उनले भने। 

त्रिशारा सन् २०१० नोभेम्बरमा साढे एक रोपनीमा पहिलोपटक लाजिम्पाटमा खुलेको थियो। काठमाडौंमा खुलेको तीन वर्षपछि आफ्नो आउटलेट पोखरामा विस्तार गरेको हो। ६ सय जना क्षमताको दुई रोपनीमा रहेको पोखराको त्रिशाराले ब्राण्ड भ्यालु बढाउने काम गरेको थियो। दरबारमार्गस्थित त्रिशाराको आउटलेटमा तीन सय जनालाई सेवा दिने क्षमता छ।