सुनको भाउ बढ्ने क्रममा ब्रेक, एक सातामै घट्यो ३ हजार ६ सय रुपैयाँ, चाँदीमा थोरै गिरावट

बिजमाण्डू
२०७७ मंसिर १० गते १०:५८ | Nov 25, 2020
सुनको भाउ बढ्ने क्रममा ब्रेक, एक सातामै घट्यो ३ हजार ६ सय रुपैयाँ, चाँदीमा थोरै गिरावट


Tata
GBIME
Nepal Life

काठमाडौं। मंसिर महिना लागेयता क्रमिक रूपमा घट्न थालेको सुनको मूल्य एक सातामै ३ हजार ६ सय रूपैयाँले घटेको छ। बुधबार मात्रै अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेको छ।

आज सुनको कारोबार मूल्य ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार तोलामा एक हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।  गत बुधबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। एक सातामा सुनको मूल्य  प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ।

चाँदी पनि थोरैले घटेको छ । बुधबार  चाँदी ५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ भएको छ। मंगलबार ३० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको थियो। चाँदी एक सातामा तोलाको ५५ रुपैयाँले घटेको छ। 

अन्तर्राष्ट्रिय बजारमा कोभिड-१९ विरुद्ध विकसित खोप परीक्षण सुरू भएयता बजारमा प्रभाव देखिन थालेको हो। लगानीका अन्य क्षेत्र चलायमान हुन थाल्दा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताका लागि विकल्प सहज भएका छन्। लगानीका अन्य विकल्प नहुँदा धेरैले सुनचाँदीमा लगानी सुरक्षित गर्छन्। सेयर बजार चलायमान हुन थालेपछि लगानीकर्ता त्यतै आकर्षित छन्।

यसले गर्दा पनि सुनचाँदीको भाउ घट्न थालेको व्यवसायी बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८०५.१० डलर र चाँदी प्रतिऔंस २३.२६ डलरमा कारोबार भएको छ।