प्रतिबन्धपछि भारतमै कम्पनी खोलेर पुन: भित्रिँदै पब्जी, सयभन्दा बढीलाई रोजगारी दिने

बिजमाण्डू
२०७७ मंसिर १० गते १४:२१ | Nov 25, 2020
प्रतिबन्धपछि भारतमै कम्पनी खोलेर पुन: भित्रिँदै पब्जी, सयभन्दा बढीलाई रोजगारी दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतमा प्रतिबन्ध लगाइएको लोकप्रिय मोबाइल गेम पब्जी पुन: भित्रिने भएको छ। पब्जी कर्पोरेसन नामक कम्पनी नै स्थापना गरी प्रतिबन्धित मोबाइल गेम फेरि भित्रिने भएको हो। 

भारतको गेमिङ क्षेत्रमा १० करोड अमेरिकी डलर (११ अर्ब ८१ करोड रुपैयाँबराबर) लगानी गर्ने योजना साथ कम्पनी खडा गरिएको कर्पोरेसनले जनाएको छ। दुई साताअघि मात्रै पब्जी कर्पोरेसनले 'पब्जी मोबाइल इन्डिया' नाम दिएर गेम भित्र्याउने घोषणा गरेको थियो।

गत अगस्टमा भारत सरकारले प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी देशबाहिर डेटा लाने गरेको आरोप लगाउँदै पब्जीसहित अन्य एक सय १७ चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि भारतमा कम्पनी नै दर्ता गरी डेटा सुरक्षामा आवश्यक सुधार गर्दै पब्जी पुन: भित्रिन लागेको हो।   

पब्जी कर्प २१ नोभेम्बरमा भारतमा आफ्नो सब्सिडायरी रहने गरी आठ लाख रुपैयाँको पुँजीसहित बेङ्लुरुबाट कोर्पोरेट मामिला मन्त्रालयमा दर्ता भएको थियो। 

पब्जी मोबाइल इन्डियाले सुरुमा एन्ड्रोइड र दोस्रो चरणमा आईओएसमा एप निकाल्ने गरी तयारी थालेको जनाएको छ। पब्जी कर्पोरेसनले यसपटक आउने एप्सले प्रयोगकर्ताहरुको गोपनियता र डेटा सुरक्षा थप सुदृढ गर्ने जनाएको छ।

भारतीय प्रयोगकर्ताहरुको विवरण राखिने स्टोरेज सिस्टमको नियमित अडिट र प्रमाणीकरणसँगै अन्य आवश्यक सुरक्षा प्रणाली कार्यान्वयन गरी डेटालाई सुरक्षित ढंगले व्यवस्थित गर्ने पब्जी कर्पले जिकिर गरेको छ।

साथै, नयाँ पब्जी मोबाइल इन्डिया गेम थप परिस्कृत भएको आउने छ। स्थानीय आवश्यकतालाई ध्यान दिँदै एपलाई कस्टुमाइज गरिएको बताइएको छ। हेल्दी गेम प्ले ह्याबिटलाई प्रोत्साहन गर्ने भन्दै कर्पले गेम खेल्ने समयमा नियन्त्रण गर्ने गरी नयाँ उपाय लागु हुने जनाएको छ। अब प्रयोगकर्ताले मनलागी र अनिश्चित ढंगले गेम खेल्न पाउने छैनन् ।        

कर्पले भारतमा कम्पनी सञ्चालन गर्न एक सयभन्दा बढी कर्मचारी नियुक्त गर्ने जनाएको छ। बिजनेस, इ-स्पोर्ट्स र गेम डेभलपमेन्ट विधामा कर्मचारीहरु नियुक्त गर्ने तयारी कर्पको छ। कर्पले पब्जी मात्रै नभइ अन्य गेमहरुलाई पनि महत्वका साथ अघि बढाउने जनाएको छ।