लगानीकर्तालाई झुक्याएको एलआइसीले घोषणा गर्‍यो फेरि लाभांश, योपल्ट पनि गोलमटोल हिसाब

बिजमाण्डू
२०७७ मंसिर ११ गते ०९:०० | Nov 26, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। पोहोर हिसाबकिताब नमिलाइ लाभांश घोषणा गरेपछि बीमा समितिको कारबाहीमा परेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले यसपाली फेरि लाभांश प्रस्ताव गरेको छ।

पोहोर १२ प्रतिशतभन्दा बढी दिन नमिल्ने अवस्थामा पनि कम्पनीले ३६ प्रतिशत लाभांश घोषणा गरेको थियो। यसले सेयर लगानीकर्ता 'मिस लिड' भएका थिए। बीमा समितिले पनि कम्पनीलाई कारबाही गरेको थियो।

यसपाली कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोडको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गर्न बाँकी छ।

कम्पनीले गत आर्थिक वर्ष ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ५ करोड ७९ लाख रुपैयाँ छ। 

अघिल्लो वर्षको साउन २५ गते ३६ प्रतिशत बोनस सेयर घोषणा गरेको कम्पनीले एक्चुरी मूल्यांकनसहितको वित्तीय विवरणमा गल्ती गरेपछि बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो। समितिले आर्थिक वर्ष २०७३/७४ को पुनः लेखापरीक्षण गरेर आउन निर्देशन दिएपछि कम्पनीले सुरुमा घोषणा गरेको लाभांश रद्द गर्दै १२ प्रतिशतमा झारेको थियो। 

कम्पनीले सुरुमा एक्चुरीसहितको लेखापरीक्षण गर्ने क्रममा वैदेशिक रोजगार बीमा अन्तर्गतको दायित्वलाई सिधै नाफामा गणना गरेर लाभांश वितरण गर्न खोजेपछि समितिले रोक लगाएको थियो। वैदेशिक रोजगार बीमावापत आर्जन भएको बीमा शुल्कलाई सिधै नाफामा गणना गर्न नपाइने बोर्डले जनाएको छ। यस्तो बीमाले थप दायित्व सिर्जना गर्ने हुँदा प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। बीमा समितिले तोकेको पुँजी जुटाउने नाममा नियम विपरीत लेखापरीक्षण गरेर लाभांश वितरण गर्न खोज्दा यसको असर दोस्रो बजारमा पनि परेको थियो।

कम्पनीले यसपाली पनि लाभांश घोषणामा गडबडी (मिस लिड) गर्न खोजेको छ। कम्पनीले वासलात मितिमा कायम चुक्ता पुँजीको १४.१५ प्रतिशत लाभांश दिने र यसमध्ये १३.४४ प्रतिशत बोनस सेयर हुने भनेर गोलमटोल हिसाब देखाएको छ।