अनलाइन कारोबार बढ्दा पनि दुई महिनामा ५४ अर्ब ४२ करोड रुपैयाँ बढि नोट हातहातमा पुगे

बिजमाण्डू
२०७७ मंसिर १२ गते ११:३० | Nov 27, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने- पछिल्लो दुई महिना अनलाइन माध्यमबाट ठूलो कारोबार भएको छ। तर सँगसँगै यही बेला वित्तीय प्रणालीमा आधा खर्ब रुपैयाँ हाराहारीका नोट बजारमा गएको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार, एक महिना (कात्तिकमा मात्र) मा २५ अर्ब ७८ करोड रुपैयाँको नोट बजारमा गएको छ। त्यसअघि असोजमा मात्र २८ अर्ब ६४ करोड रुपैयाँ अधिक नोट बजारमा पुगेको छ। 

जबकी यसपाली राष्ट्र बैंकले नयाँ नोट सटही गरेको थिएन। बैंकहरुमा पनि नोट माग भएको थिएन। यहीबेला राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन भुक्तानीलाई प्रवर्द्धन गरेका थिए। तैपनि यति धेरै नोट बजारमा किन गयो ? यसबारेमा राष्ट्र बैंकका अधिकारीहरु पनि अलमलमा देखिन्छन्।

यसपालीको चाडबाडमा राष्ट्र बैंकले साना दरका नयाँ नोट सटही गरेन। तर बैंक तथा वित्तीय संस्थालाई ठूला दरको (५०० र १००० रुपैयाँ दरका) नोट वितरण गरेको थियो। ती नोटहरु चाडबाड सकिएपछि बिस्तारै प्रणालीमा फर्किन्थे अर्थात बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंक पुग्थ्यो। तर यसपाली त्यस्तो देखिएको छैन। अनलाइन कारोबार पनि मौलाएको छ र सँगसँगै ठूला दरका नोटहरु पनि प्रशस्त बजारमा गएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पैसा पठाउँछ। त्यो पैसा सर्वसाधारणको हातमा पुग्छ। कारोबारका क्रममा ती पैसा पुराना हुन्छन् र बैंक वित्तीय संस्थामार्फत राष्ट्र बैंकमा फर्किन्छ। राष्ट्र बैंकले त्यसको बदलामा फेरि नयाँ नोट दिन्छ। तर एक महिनायता भने त्यसरी बैंकहरुबाट पुरानो नोट आएको छैन। बैंकहरुलाई उल्टै नयाँ नोट उपलब्ध गराउनु परिरहेको छ।
 
यही कारण राष्ट्र बैंकसँग १००० दरका नोटको 'स्टक' घट्दै गएको छ। स्टक घट्न थालेपछि राष्ट्र बैंकले १००० को ठाउँमा ५०० दरका नोट बजारमा पठाउन थालिसकेको छ। 
 
'निकै शंकास्पद अवस्था छ। तर यो अल्पकालीन हो वा कुनै कारणले भएको हो भन्न सकिने अवस्था छैन। हामी चाँडै पत्ता लगाउँछौं,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'ब्यवसायीहरुले होल्ड गरेका छन् कि भन्ने हाम्रो अनुमान हो। तर पुष्टि गर्न सकिएको छैन।'

राष्ट्र बैंकको अनुमानमा, अहिले ब्याज दर निकै घटेको छ। त्यसको साइड इफेक्टका रूपमा नेपाली पैसा गायब भएको हुन सक्छ। किनभने अहिले तराइका जिल्लामा भारुको माग केही बढ्न थालेको छ। 

अहिले बजारमा कुल ६ खर्ब ४७ अर्ब १५ करोड ८१ लाख २० हजार रुपैयाँ बराबरको नोटहरु चलनचल्तीमा छ। 

राष्ट्र बैंकले प्रकाशित गरेको असोजसम्मको तथ्यांक अनुसार, असोजमा इन्टरनेट बैंकिङबाट ६ अर्ब ३१ करोड, मोबाइल बैंकिङबाट २८ अर्ब ८० करोड, वालेटबाट ९ अर्ब ८८ करोड र क्युआरबाट ९६ करोड ९० लाख, पीओएसबाट २ अर्ब ३४ करोड र इ-कमर्सबट ७९ करोड रुपैयाँको कारोबार भएको छ।