विद्युत आयात पाँच दिनमै दोब्बरले वृद्धि, सुक्खायाम सुरु भएसँगै दैनिक आयात ४० लाख युनिट पुग्यो

बिजमाण्डू
२०७७ मंसिर १२ गते १७:४७ | Nov 27, 2020
विद्युत आयात पाँच दिनमै दोब्बरले वृद्धि, सुक्खायाम सुरु भएसँगै दैनिक आयात ४० लाख युनिट पुग्यो

काठमाडौं। नेपालमा सुक्खायाम सुरु भएसँगै भारतबाट आयात गरिने विद्युतको परिमाण पनि ह्वात्तै उकालो लागेको छ।

Tata
GBIME
Nepal Life

नेपालका नदीनालामा पानीको बहाव घट्न सुरु भएसँगै निजी क्षेत्रबाट उत्पादन हुने विद्युत एक तिहाइसम्ममा सीमित हुने गरेको छ। विद्युत प्राधिकरणसँग पनि जलाशययुक्त आयोजना न्यून हुँदा हिउँदमा भारतकै भर पर्नुपर्ने बाध्यता नेपाललाई छ।

पछिल्लो एक हप्तामा विद्युत खपत बढ्न सुरु भएसँगै भारतबाट आयात हुने ऊर्जाको ग्राफ पनि दिनदिनै उकालो लाग्न थालेको हो।

गत शनिबार एक करोड ७९ लाख ७६ हजार युनिट विद्युत ऊर्जा खपत हुँदा नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ७९ लाख युनिट र निजी क्षेत्रका आयोजनाबाट ९४ लाख युनिट विद्युत आपूर्ति भएको थियो। यस्तै भारतबाट ६ लाख ५३ हजार युनिट मात्रै विद्युत आयात गरिएको थियो। उक्त दिन अधिकतम विद्युत माग एक हजार ८३ मेगावाट रहेको थियो।

गत आइतबार करिब एक करोड ९५ लाख युनिट विद्युत खपत हुँदा विद्युत प्राधिकरणबाट ८० लाख ५४ हजार युनिट विद्युत खपत भएको थियो। निजी क्षेत्रबाट ९३ लाख ८६ हजार युनिट विद्युत आपूर्ति हुँदा भारतबाट २० लाख ५६ हजार युनिट विद्युत आयात गरिएको थियो। उक्त दिन विद्युतको उच्चतम माग १२ सय पाँच मेगावाट थियो।

गत शनिबारको तुलनामा आइतबार प्राधिकरण र निजी क्षेत्रको विद्युतको आपूर्ति समान रहेपनि भारतबाट आउने विद्युतको हिस्सा भने ३ गुणाले बढेको थियो। अर्थात बढेको विद्युत माग व्यवस्थापन गर्न नेपाल पूर्णतया भारतमै निर्भर थियो।

सोमबार विद्युत खपत २ करोड २ लाख ५० हजार युनिट पुग्दा प्राधिकरणबाट ८७ लाख ४३ हजार युनिट र निजी क्षेत्रबाट ९२ लाख ८१ हजार युनिट विद्युत आपूर्ति गरिएको थियो। अपुग २२ लाख १४ हजार युनिट विद्युत भारतबाट आयात गरिएको थियो। सोमबारको उच्चतम विद्युत माग १२ सय २८ मेगावाट रहेको थियो।

आइतबारको तुलनामा सोमबार विद्युत प्राधिकरणका आयोजनाबाट ७ लाख युनिट बढी उत्पादन भएपनि निजी क्षेत्रबाट एक लाख युनिट कम उत्पादन हुँदा भारतबाट आयात गरिएको विद्युतको हिस्सा भने २२ लाख युनिट बढी पुगेको थियो। जुन अघिल्लो दिनको तुलनामा २ लाख युनिटभन्दा बढी आयात गरिएको थियो।

मंगलबार विद्युत खपत २ करोड १३ लाख युनिट पुग्दा प्राधिकरणबाट ८९ लाख ५१ हजार युनिट विद्युत आपूर्ति गरिएको छ। निजी क्षेत्रबाट ९३ लाख ७३ हजार युनिट आपूर्ति हुँदा भारतबाट भने २९ लाख ९७ हजार युनिट आपूर्ति गरिएको थियो। विद्युतको उच्चतम माग १२ सय ६२ मेगावाट रहेको थियो।

बुधबार विद्युत खपत २ करोड १६ लाख युनिट पुग्दा प्राधिकरणबाट ८६ लाख १५ हजार युनिट र निजी क्षेत्रबाट ९४ लाख ८ हजार युनिट आपूर्ति गरिएको थियो। भारतबाट भने ३६ लाख २५ हजार युनिट विद्युत आयात गरिएको थियो। उक्त दिन विद्युतको उच्चतम माग १२ सय ७४ मेगावाट पुगेको थियो।

बिहिबार विद्युत खपत २ करोड १९ लाख युनिट पुग्दा प्राधिकरणका आयोजनाबाट ८८ लाख ५० हजार युनिट र निजी क्षेत्रबाट ९२ लाख ३५ हजार युनिट विद्युत आपूर्ति हुँदा भारतबाट ३८ लाख २८ हजार युनिट विद्युत आयात गरिएको थियो। विद्युतको उच्चतम माग १२ सय ७५ मेगावाट रहेको थियो।

बुधबारको तुलनमा बिहिबार भारतबाट आयात हुने विद्युतको परिमाण थप २ लाख युनिटले वृद्धि भएको थियो। विद्युत खपत भने ३ लाख युनिटले बढेको थियो।

आगामी दिनमा चिसो बढ्दै जाँदा खोलामा पानीको बहाब थप घट्दै जाने छ। चिसोका कारण विद्युत खपत भने बढ्दै जाने छ। नेपालको उत्पादन थप घट्ने निश्चित भएकाले भारतबाट आयात गरिने विद्युतको हिस्सा पनि थप बढ्ने निश्चित छ।