एफएनसीसीआई चुनाव: सात महिनापछि आज नयाँ नेतृत्व पाउने, भोट तान्न रातभरि के भयो?

बिजमाण्डू
२०७७ मंसिर १३ गते ०७:०४ | Nov 28, 2020
एफएनसीसीआई चुनाव: सात महिनापछि आज नयाँ नेतृत्व पाउने, भोट तान्न रातभरि के भयो?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज(शनिबार) निर्वाचन हुँदैछ। कोभिड-१९का कारण सात महिनापछि हुने निर्वाचनसँगै महासंघले नयाँ नेतृत्व पाउनेछ।

कोभिडका कारण तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला/नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फ कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुनेछ।

कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचन अहिले विहान ८ बजेदेखि सुरु हुँदैछ। चार बजेसम्म मतदान गर्न पाउने समयावधि तोकिएको छ। कुनै विवाद र समस्या नआएमा शनिबार राति नै मत परिणाम आउनेछ। निर्वाचनसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष हुनेछन्।

निर्वाचन आफ्नो पक्षमा पार्न रातभर चलखेल

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।

महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। सबैभन्दा बढी मतभार रहेको जिल्ला/नगर आफ्नो पक्षमा पार्न दुवै पक्षले कडा कसरत गरेका छन्। जिल्ला/नगरको ५० प्रतिशत मतभार छ।

जिल्ला/नगरका मतदातालाई तान्न दुवै पक्षले आफ्नो सबै शक्ति प्रयोग गरेका छन्। जिल्ला-नगरका अध्यक्षहरु विभिन्न होटलमा राखिएका छन्। ‘जिल्ला-नगरका फ्लोटिङ भोटर तान्न रातभरि दुवै पक्षले कडा मेहनत गरेका छन्,’ महासंघका एक केन्द्रीय सदस्यले भने, ‘दुवै पक्षबाट रातभर साम दाम दुवै प्रयोग भएको छ।’

शुक्रबार दिनभर मतदाता एउटा पक्षले अर्को पक्षमा पुगेको भन्दै रुमर पनि फैलिएको थियो।

को छन् सारथि?

ढकालको सारथिमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् भने प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ सारथिका रूपमा छन्। 

वस्तुगतमा पनि अञ्जन र उमेशको चर्को प्रतिस्पर्धा छ। दुवै पक्षले आफ्नो पक्षमा केही सदस्य पार्न दौडधुप गरिरहेका छन्। दुवैमध्ये वस्तुगतमा केही मतको मात्रै फरकले जित्ने आकलन गरिएको छ। अञ्जनले निर्वाचित भएपछि गर्ने कामको दस्तावेज नै तयार पारेर सार्वजनिक गरिसकेका छन्। उनी इर्मजिङ समूह लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन्। उमेश पनि महासंघका वस्तुगत नै उपाध्यक्ष हुन्। उनको औषधि उद्योग छ।

महासंघको राजनीतिबाट बाहिरिएका ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान एशोसिएट चुनावको किङमेकर हुन्। उनीसँग ६२ भोट छ। प्रधानको भोट नै एशोसिएटमा निर्णायक हुने निश्चित छ।