पुरातत्वद्वारा १८ ठेक्काको ९ करोड ८८ लाखका लागि कम्पनी छनोट, सर्वाधिक बजेट दुगुनागढीलाई 

बिजमाण्डू
२०७७ मंसिर १३ गते १५:३३ | Nov 28, 2020
पुरातत्वद्वारा १८ ठेक्काको ९ करोड ८८ लाखका लागि कम्पनी छनोट, सर्वाधिक बजेट दुगुनागढीलाई 

Tata
GBIME
Nepal Life

काठमाडौं। प्राचीन सम्पदा, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, जीर्णोद्धार र पुनःनिर्माण गर्नुपर्ने १८ स्थानका पुरातत्व विभागले निर्माण कम्पनी छनोट गरेको छ। 

कुल ९ करोड ८८ लाख रूपैयाँ बराबरको ठेक्काका लागि आह्वान गरिएको बोलपत्र भरेकाहरू मध्येबाट निर्माण कम्पनी छनोट गरिएको विभागले जनाएको छ। १८ योजनामध्ये सर्वाधिक रकम सिन्धुपाल्चोकको दुगुनागढीमा खर्च हुने भएको छ। उक्त क्षेत्र संरक्षणका लागि प्राप्त बोलपत्रअनुसार १ करोड १९ लाख ६६ हजारको लागत रहने विभागको सूचनामा उल्लेख छ। 

काठमाडौंका रविभवनको नाथम परिसरमा रहेको राणाकालीन भवन, फुल्चोकीको माइ मन्दिर, मनमैजु गा सत्तल, गोदावरीको वालकुमारी मन्दिर, चाँगुनारायण झौखेलको गणेश महादेव मन्दिर र सत्तल, पाटन दरबार क्षेत्रको देगुतलेजु मन्दिर, साँखुको सर्वदेश्वर महादेव मन्दिर र सुन्दरीजलको वीपी संग्रहालयको बाँकी काम पूरा गर्न ठेकेदार छनोट गरिएको छ।

यस्तै मुक्तिनाथको ज्वालामाइ मन्दिर, काभ्रे नमोः बुद्धको श्यामपाटी र शिवालय, कास्की रुपाकोटको जटेश्वर बुढा महादेव मन्दिर, लमजुङको लमजुङ दरबार परिसर, काभ्रेको बेटापाटी, तनहुँसुरको खड्गकालिका, मकवानपुरगढी र पर्वत बिहादीको शिवालय गुठी संरक्षण तथा मर्मतका योजना पुरातत्व विभागको छ। 

इलाम जोगमाइको सोयांग शिव मन्दिरबाहेकका १७ वटा कामको ठेक्कामा निर्माण कम्पनीहरू काठमाडौं उपत्यका भित्रका मात्रै परेका छन्। ६० लाख बजेट रहेको मुस्ताङको ज्वालामाई मन्दिर संरक्षणको ठेक्का भक्तपुरको एनपीएस-ग्रास-आरजीसी जेभीले पाएको छ। उक्त मन्दिर मुक्तिनाथ नजिकै पर्छ। 

१८ मध्ये १० वटा ठेक्कामा जिम्मेवारी पाउने कम्पनीहरू ज्वाइन्ट भेञ्चर छन्। पुरातत्वले निकालेका १ करोड १९ लाख, ६८ लाख, ४६ लाख र ४४ लाखका बजेटका चार ठेक्का एउटै ज्वाइन्ट भेञ्चर कम्पनी छनोट भएको छ। सिन्धुपाल्चोकको दुगुनागढी, मकवानपुरको मकवानपुरगढी, कास्की रुपाकोटको जटेश्वर बुढा महादेव मन्दिर र ललितपुर ठैबको फुल्चोकी माइ मन्दिर संरखष्णको ठेक्कामा भक्तपुरको आरआर-हारती माता-आरपीएस जेभीलाई विभागले छनोट गरेको हो। 

यस्तै केही अन्य ज्वाइन्ट भेञ्चर कम्पनीलाई पनि दोहोरो ठेक्का परेको छ। १८ योजनाका लागि कम्पनीहरूको बोलपत्र स्वीकृत भएको विभागले शनिवार सूचना जारी गर्दै जनाएको हो।