एफएनसीसीआई वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित, किशोरकुमार प्रधान समूहबाट लडेका थिए

बिजमाण्डू
२०७७ मंसिर १३ गते २२:२४ | Nov 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। उनी किशोरकुमार प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा चुनाव लडेका थिए।  उनले ६२ मत पाएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ थिए। उनले ३७ मत पाएका छन्। उमेश चन्द्रप्रसाद ढकाल समूहबाट चुनाव लडेका थिए। अञ्जन करिब डेढ दशकदेखि महासंघमा सक्रिय छन्। उनले १६ वर्ष महासंघको कार्यसमितिदेखि विभिन्न समितिमा रहेर काम गरिसकेका छन्।

उद्योग समितिको सभापति, दुई कार्यकाल राजस्व समितिको सह-सभापति भएर र करिब नौ वर्ष रोजगारदाता परिषद्को सदस्य भएर श्रेष्ठले काम गरेका छन्। उनी लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्।

पोखरामा लक्ष्मी मिठाई पसलबाट व्यवसायिक यात्रा सुरु गरेको लक्ष्मी समूह अहिले देशकै ठूलो व्यवसायिक घरानामा स्थापित छ। २०३० सालमा सुरु भएको मिठाई पसलसँगै दोस्रो पुस्ताका अञ्जनले पोलिथिन उद्योग स्थापना गरे। प्रजातन्त्र स्थापनासँगै आएको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेपछि यो समूहले २०६० सालमा सुजल डेरीमार्फत औद्योगिक क्षेत्रमा प्रवेश गर्‍यो।

दुग्ध विकास संस्थान (डीडीसी) को पोखरा शाखा किनेर डेरी उद्योगमा हात हालेर पाउडर मिल्कदेखि कन्फेक्सनरी उत्पादन थाल्यो। २०६६ सालमा हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि यो समूहको व्यवसायिक विस्तार फराकिलो बन्यो। पछिल्लो समयमा समृद्धि स्टील स्थापना गरिसकेको यो समूहले हस्पिटालिटी र खाद्यान्न लगायतका उद्योगमा समेत हात हाल्दैछ।